free website hit counter

बीमाकाे सुरक्षा कवज हाे पुनर्बीमा

beemaadmin
२०७९ फाल्गुन २६, शुक्रबार

एउटा बीमा कम्पनीमा गरिएको बीमालाई फेरि अर्को बीमा कम्पनीमा बीमा गरिने वा बीमाको पनि बीमा गरिने प्रक्रियालाई पुनर्बीमा भनिन्छ । यसरी गरिने पुनर्बीमा व्यक्ति आफूले नगरी बीमा गरिएको कम्पनीले नै गर्दछ । तर बिमितिलाई थाहा हुँदैन र हुन आवश्यक पनि छैन । यसरी गरिने पुनर्बीमा जीवन, निर्जिवन सबै प्रकारका हुन सक्दछन् ।

यसरी पुनर्बिमा गरिँदा पहिले बीमा गरिएको कम्पनीले लिएको शुल्कको केही हिस्सा पुनर्बीमा कम्पनीलाई बुझाएर पुनः बीमा गरि जोखिम हस्तान्तरण गरिन्छ । ताकी दाबी भुक्तानी परेमा पुनर्बीमा कम्पनी पनि भुक्तानीको जिम्मेवार हुन्छ र पहिलो बीमा गरिएको कम्पनी आर्थिक रुपमा सुक्षित रहन्छ । बीमा कम्पनीले बीमा गरिएको सम्पत्ति वा जीवनको थोरै हिस्सा जोखिम आफूले राखेर धेरै जोखिम पुनर्बीमा कम्पनीमा सारिदिन्छ ।

पुनर्बीमा किन आवश्यक छ ?
बीमितले आफ्नो जोखिम बीमा कम्पनीमा जिम्मा लगाउनु बीमा हो । नेपालमा जीवन बीमा कम्पनीको चुक्ता पुँजी २ अर्ब रुपैयाँ र निर्जिवन बीमा कम्पनीको १ अर्ब कायम गरिएको छ ।

जबकि पुराना जीवन बीमा कम्पनीको ६ महिनाको बीमा शुल्क आर्जन नै १० अर्ब हाराहारीमा छ भने नयाँ जीवन बीमा कम्पनीको पनि २/३ अर्ब पुगेको छ भने निर्जिवन बीमा कम्पनीको पनि शुल्क आर्जन पुँजी भन्दा बढी छ र बीमाङ्क रकम र बीमालेख बिक्री पनि कम्पनीको पुँजी भन्दा कैयौं गुणा बढी छ । जीवन बीमा कम्पनीको जीवन बीमा कोषमा पुराना बीमा कम्पनीको ७५ अर्बदेखि खरबसम्मको रकम राखेर आर्थिक सबलता कायम राख्न खोजेको हुन्छ ।

बीमा कम्पनीहरुले कम्पनीको पुँजी र क्षमता भन्दा सयौं गुणा बढीको बीमालेख बिक्री गरिरहेका हुन्छन् । एकछिनलाई मानौं कि कुनै भवितव्यले बीमा गरिएका अधिकांश व्यक्तिको एकै पटक मृत्यु भयो वा बीमा गरिएको सम्पत्ति प्राकृतिक विपत्तिले गर्दा अधिकांश क्षति भयो वा त्यसको क्षतिपूर्ति ५०औं अर्ब दिनु पर्ने भयो भने बीमा कम्पनीले कसरी क्षतिपूर्ति दिन्छन् ?

यस्तो अवस्थामा बीमा कम्पनीहरुको महाविपत्ती कोषको केही रकम चलाउन मिल्दछ । तर त्यो रकम लाख र करोडमा सीमित रहन्छ । जुन रकमले दावि भुक्तानीमा ठूलो सहयोगी भूमिका खेल्न सक्दैन । त्यस्तो स्थितिको सामना गर्नलाई नै पुनर्बीमा आवश्यक पर्दछ । बीमकले आफूले लिएको जोखिमको १०–१२ प्रतिशत हिस्सा मात्र आफूले राखेर बाँकी हिस्सा पुनर्बीमालाई सुम्पिएको हुन्छ र आफू भविष्यमा आइपर्ने ठूलो आर्थिक भारबाट पन्छिन्छ ।

उदाहरणको लागि एउटा व्यक्तिले एक करोडको सम्पत्ति/घरको वा जीवनको बीमा गरेमा १० प्रतिशत जोखिमको हिस्सा आफूले राखेर बाँकी हिस्सा पुनर्बीमालाई हन्तान्तरण गर्दछ । यसको नतिजा भनेको सम्पत्तिको क्षति भएमा, जीवन नरहेमा वा कुनै कारणले दाबी भुक्तानी परेमा बीमकले १० लाखको मात्र क्षतिपूर्दि दिई बाँकी ९० लाख पुनर्बीमकले गर्दछ ।

यदि बीमांक रकम भन्दा कम क्षतिपूर्ति दिनुपर्ने अवस्था भएमा (निर्जिबनमा) पनि प्रतिशतकै आधारमा क्षतिपूर्ति दिइन्छ । अब यहाँ कुनै बीमकले १० अर्बको बीमालेख बिक्री गरेर जोखिम बहन गरेमा त्यस कम्पनीको भुक्तानी दायित्व १ अर्ब मात्र हुन्छ । यसरी शुरुको बीमा कम्पनी आर्थिक रुपमा सुरक्षित हुनको लागि पुनर्बीमा आवश्यक मात्रै होइन अनिवार्य छ ।

बीमा कम्पनी टाट पल्टिने वा भाग्ने अवस्था आउँछ ?
नेपालको सन्दर्भमा बीमा कम्पनी टाट पल्टिने वा भाग्ने स्थिति नै छैन । किनकि बीमा समितिको नियमनमा सबै बीमक हुन्छन् र निर्देशन अनुसार नै लगानी र पुनर्बीमाको व्यवस्था गरिएको हुन्छ । बीमा शुल्कलाई सुरक्षित लगानी र बीमायोग्य हितलाई पुनर्बीमा गरी बीमकहरु सुरक्षित रहेका हुन्छन् ।

पुनर्बीमा कहाँ गरिन्छ ?
हाल नेपालको पुनर्बीमा कम्पनी (नेपाल रि) मा बीमितको २० प्रतिशत हिस्साको पुनर्बीमा गर्नै पर्दछ र बाँकी हिस्सा विदेशी पुनर्बीमा कम्पनीमा बिक्री गरिन्छ ।

पुनर्बीमा र बीमितसँगको सम्बन्ध के हुन्छ ?
जीवन बीमा वा निर्जिवन बीमा जे गरे पनि बीमित र पुनर्बीमा कम्पनीसँग कुनै सरोकार नै हुँदैन । सबै व्यवस्थापन आफूले बीमा गरेको कम्पनीले नै गरेर दाबी परेका बेला भुक्तानीको व्यवस्था गर्दछ । मात्र उक्त बीमकले पुनर्बीमा कम्पनीसँग दाबी भुक्तानी लिएर बीमितलाई हस्तन्तरण गर्दछ ।

सम्बन्धित समाचार