सोलुखुम्बुमा जन्मिएर मोरङमा हुर्किनुभएका कुमारबहादुर खत्री हाल काठमाडौं टोखाका स्थायी बासिन्दा हुनुहुन्छ । एमबीएसम्मको शिक्षा हासिल गर्नुभएका खत्री दक्षता र विषय विज्ञका हिसावले अझ उच्च हुनुहुन्छ । २०५१ सालबाट बीमा व्यवासयमा प्रवेश गर्नुभएका खत्री नेपाल इन्स्योरेन्समा विकास अधिकृत, त्यसपछि लुम्बिनी जनरलमा नायब महाप्रबन्धक हुँदै अजोड इन्स्योरेन्समा महाप्रबन्धकको जिम्मेवारीमा हुनुहुन्छ । अजोड इन्स्योरेन्सको जिम्मेवारी उहाँले सम्हालेको पहिलो वर्षमै धेरै बीमा शुल्क संकलन गर्न अजोड इन्स्योरेन्स सफल भयो । बीमा बजारको सम्भावना, चुनौतीलगायतका विषयमा उहाँसँग अर्थबीमा डटकमका सम्पादक नुरराज कँडेलले गर्नुभएको छोटो कुराकानी :
० बैंकहरू मर्फत् बीमा कम्पनीले बिमालेख (बैकोस्योरेन्स) बेच्दै आएकोमा यस वर्षको मौद्रिक नीतिमा सो कार्यलाई निरुत्साहित गरेको छ, त्यसले बीमा कम्पनीहरूमा कस्तो असर पर्ला ?
– जनरल (निर्जिवन बीमा) इन्स्योरेन्समा खास असर पर्दैन । बीमा नगरी बैंकले लगानी नगर्ने हुनाले असर पर्दैन । बैंकसँग ऋण लिँदा जग्गाबाहेक सबैको बीमा गर्दछ । भएका कमी कमजोरी सुधारेर काम गर्न दिनुपर्छ भन्ने हाम्रो मान्यता हो ।
० नेपाली बीमा बजार अझै विस्तार भएको छैन, जीवन बिमाबाहेक नीर्जिवन बिमामा सवारी साधन, घर, आगजनी, पशु, बाली, चोरी, प्राकृतिक प्रकोप, दुर्घटना आदिको विस्तार कस्तो छ ?
– मोटर र सवारी साधनको राम्रै बजार छ । जन चेतनाको कमी धेरै छ । किनकि ०७२ मा त्यति ठूलो भूकम्पीय क्षति हुँदा १४/१५ अर्ब क्षतिपूर्ति सबै बीमकले तिरे । तर हाल घर बीमा प्रतिहजार ४० पैसा वा एक करोडको ४ हजार हुँदा पनि ग्राहकमा आकर्षण देखिएन । जबकि सानो दुर्घटनाले जिन्दगीभरको कमाई स्वाहा भई सडकमा ल्याउँछ ।
० यसको विकल्प के छ त ?
– नेपाल भूकम्पीय जोखिमका दृष्टिले विश्वको ११औं स्थानमा छ । यसलाई केही समय सरकारले अग्रणी भूमिका खेलेर घरबीमा कार्यक्रमलाई कुनै पनि निकायबाट अनिवार्य गर्न जरुरी छ ।
० आम्दानी कम भएको र अर्थतन्त्र फस्टाउन नसकेको वर्तमान अवस्थामा बीमा बजार कसरी बढ्ला ?
– आम्दानी कम भएको होइन, बीमा गर्ने बानी नभएको हो । किनकि बीमा बजार पूरै खाली छ । र, बीमा कम्पनीको उर्वरभूमि नेपाल हो, भविष्य पनि निकै उज्वल छ ।
० बीमा त गर्यो तर दाबी गर्ने प्रक्रिया निकै झन्झटिलो छ भनिन्छ ? कतिपय अवस्थामा त कागजात पुर्याउनै नसकेर बीमा दाबी लिन नसकिने अवस्था छ भनिन्छ नि ?
– आवश्यक पर्ने न्यूनतम कागजात त चाहिन्छ नै । तर साना तिना कागज नहुँदा पनि हामी दाबी भुक्तानी गर्छौं । दुःख दिने हाम्रो कुनै नियत नै हुँदैन । प्राय कुनै पनि बीमकको दाबी प्रक्रिया झन्झटिलो हुँदैन । झन हाम्रो त छँदै छैन । किनकि गत वर्ष ३ सय ३० वटा दाबी पर्दा २ करोड ८५ लाख दाबी भुक्तानी भइसकेको छ । यस आर्थिक वर्षका दुई महिनाभित्रमा ३ सय ३३ दाबीमा ३ करोड ७६ लाख भुक्तानी भइसकेको छ । बाँकी ७१ वटा फाइल लगभग ३ करोड ८१ लाखको दाबी भुक्तानी प्रक्रियामा छ । अझ हाम्रो सवालमा २ लाखसम्मको क्लेम परेमा स्पट पेमेन्ट वा हाम्रा प्रतिनिधिले सिफारिश गरेको आधारमा तुरुन्तै भुक्तानी दिइन्छ । सर्भेयरको आवश्यकता पर्दैन । यस अर्थमा दाबी प्रक्रिया झन्झटिलो भन्न मिल्दैन ।
० जीवन र नीर्जिवन बिमाको चुक्ता पुँजी पुर्याउन हम्मेहम्मे परेको अवस्था छ यस्तो अवस्थामा मर्जरको सम्भावना कत्तिको छ ?
– अजोड इन्स्योरेन्सको पुँजी पुगेको छ । समस्या छैन । यस आर्थिक वर्षमा सबै बीमकको पुँजी पुग्छ जस्तो लाग्छ । हामी ३० करोडको आईपीओ जारी गर्दैछौं । र, पेड अफ क्यापिटल एक अर्ब पु¥याउँछौं । मर्जरको आवश्यकता हामीलाई छैन । तर, नियमक निकायको नीतिमा निर्भर रहन्छ । यदि राष्ट्र बैंकको जस्तो क्रस होल्डिङको कुरा आएमा मर्जरमा पनि जान्छन् होला । तर हामीलाई यो जरुरी नभएकाले सोचिएको पनि छैन ।
० बीमाको बजार सानो छ, नयाँ जीवन बीमा कम्पनीहरू थपिएका छन्, नीर्जिवन बीमा कम्पनी पनि थपिने प्रक्रियामा छन् यस्तोमा अस्वस्थ प्रतिस्पर्धा त बढ्दैन ?
– नयाँ कम्पनी तुरुन्तै आउने सम्भावना छैन । बीमा बजार बढाउने कर्तव्य हामीहरुकै हो । नेपाल सरकार र बीमा समिति पनि बीमा बजारमा सक्रिय नै छ । हामी पनि बीमा बजार बढाउन शहरभन्दा गाउँमुखी हुँदै गएका छौं । जसमा बागलुङको बुर्तिवाङ, गोरखाको पालुङटार पूर्वी रुकुम जस्ता ठाउँहरुमा हामीले शाखा उपशाखा खोलेर सेवा दिएका छौं । र, पनि शहरोन्मुख क्षेत्रमा शाखा विस्तार गर्ने प्रक्रियामा छौं । केही प्रतिस्पर्धा त पक्कै हुन्छ । यसलाई व्यवस्थित गर्नलाई नेपाल बीमक संघको पहलमा आचारसंहिता लागू गरिएको छ । यसले बीमा बजारलाई सकारात्मक दिशा निर्देशन गर्ला भन्ने आशा लिएका छौं ।
० बीमा क्षेत्रमा दक्ष जनशक्तिको खाँचो देखिन्छ, त्यसो हुनुमा मुलुकभित्रै राम्रो तालिमको व्यवस्था नहुुनु हो वा यस क्षेत्रमा उचित प्रतिफल नभएर रोजगारीको आकर्षण नदेखिएको हो ?
– पक्कै पनि दक्ष जनशक्तिको खाँचो छ । तर बैंकपछिको रोजगारीको दोस्रो रोजाईको क्षेत्र बीमा नै हो । दक्ष जनशक्ति उत्पादन गर्न बीमा समितिको पहल तथा अगुवाईमा बीमा तालिम केन्द्र स्थापित भई तालिम शुरु भइसकेको छ । जसले जनशक्ति अभावको पूर्ति गर्ने छ । अबको केही समयभित्र दक्ष जनशक्तिको अभाव नहोला ।
० नेपाली बीमकले विदेशी पुनर्विमा कम्पनीसँग बीमा गर्दा अधिकांश बीमा शुल्क विदेशिने गरेको वर्तमान सन्दर्भमा बीमा गरिएको रकम मुलुकभित्रै राख्न के कस्ता व्यवस्थाहरू हुँदैछन् ?
– पुनर्बीमा सबै देशले आफ्नो देशभित्रको कुनै पनि कम्पनीमा सबै पुनर्बिमा गर्दैनन् । पुनर्बीमा भनेको जोखिमलाई सबैतिर बाँड्ने हो । वा जोखिम सबैलाई दिने हो । तर विदेशी बीमकले पनि नेपालमा पुनर्बीमा गर्ने प्राक्टिस भयो भने बीमा बजारमा आर्थिक सन्तुलन हुन्छ ।
० नेपालमा विदेशी बीमकले पुनर्बिमा गरेका छन् ?
– छ, नेपालमा बीमा शुल्कअन्तर्गत विदेशी मुद्रा भित्रिनेक्रम जारी छ । यहाँ केही कमीकमजोरीले विदेशी बीमकहरु ढुक्क चाहिँ छैनन् । उनीहरुलाई विश्वास दिलाउन सकियो भने पुनर्बीमाको बजार पनि राम्रो छ ।
० बीमा बजार सुरधाका लागि तपाईंको सुझाव के छ ?
– यदि बीमा बजार विस्तार गर्ने नै हो भने पहिला नेपाल सरकारले आफ्नो सम्पत्तिको बीमा गर्नुपर्छ । जसमा भवन, गाडीहरुको बीमा गरी घर बीमालाई अनिवार्य गर्ने पहल हुनुपर्दछ । जस्तै नक्सा पास गर्दा, सम्पत्ति, मालपोत, बहालकर तिर्दा घरबीमा शुल्कलाई छूटसहित समावेश गर्ने हो भने बीमा बजार पक्कै बढ्छ । कृषि र पशुबीमाको अनुदान सरकारले बीमा कम्पनीलाई छिटो बुझाएमा अझ सहज हुन्छ । अहिलेसम्म निकै ढिला गरी भुक्तानी हुने गरेको छ । अनुदान समयमा निकासा हुँदैन, यता दाबी भुक्तानी दिनुपर्ने हुँदा २५ प्रतिशत बीमा शुल्क लिएर पूरै बीमाङ्कको भुक्तानी दिनुपर्छ । यसले गर्दा हामी दोहोरो मारमा छौं । नेपाल बीमक संघले जारी गरेको आचारसंहिता अक्षरस पालना गरी बीमासम्बन्धी प्रचारात्मक कार्यक्रम गरिएमा सकारात्मक सन्देश जान्छ । बीमाका उत्पादनहरुलाई परम्परागत भन्दा प्रविधिमैत्री बनाउनुपर्छ ।
० स्वास्थ्यबीमा गर्दा व्यक्तिगत स्वास्थ्यबीमा सबै बीमकले गर्दैनन् किन होला ?
– जनशक्तिको अभाव, भुक्तानीको प्रक्रिया अस्पताल र बीमा कम्पनीबीच प्रविधिमैत्री भएमा सहज हुन्थ्यो । बीमा ऐन संसदमा थन्किएको छ । यदि त्यो पास भएमा सहज हुन्छ र सबैले गर्न मिल्छ । यससम्बन्धी सफ्टवेयर पनि बन्दैछ । त्यसो हुँदा कसले कति बीमा गरेको छ भन्ने अस्पतालबाटै थाहा हुन्छ ।
० नेपाल सरकार अन्तर्गतको स्वास्थ्य बीमा बोर्डले ल्याएको स्वास्थ्य बीमा र अरु बीमकले बेच्ने स्वास्थ्य बीमामा के फरक छ ?
– नेपाल सरकारले ल्याएको त्यो बीमा होइन । स्वास्थ्य कार्यक्रम हो । हामीले बेच्ने चाहिँ बीमा हो । त्यसै कारण बीमा बजारमा स्वास्थ्य बीमा बोर्डको कार्यक्रमले भ्रम पैदा गरेको छ । त्यसको नाम स्वास्थ्य बीमा होइन स्वास्थ्य कार्यक्रम राख्नु पर्दथ्यो । किनकि बीमा भनेको क्षतिहुँदा पूर्ति गर्ने हो । सरकारको बीमा कार्यक्रममा कर्णालीमा स्वास्थ्य बीमा गरेको मान्छे काठमाडौं आएर बीरामी पर्यो भने पहिला बीमा गर्दा उल्लेख गरेको स्वास्थ्य केन्द्र जहाँ हो त्यही पुग्नु पर्दछ । त्यो सम्भावनाको कुरै भएन । यो बीमाको सिद्धान्तमा पनि पर्दैन ।
० बीमक संघले जारी गरेको आचारसंहिता कत्तिको सान्दर्भिक छ ?
– समय सान्दर्भिक भएर नै जारी गरिएको हो ।
० पशु तथा बाली बीमामा कत्तिको आकर्षण देखिएको छ ?
– पशु बीमामा राम्रै आकर्षण छ । बाली बीमामा केही प्रक्रिया झन्झटिला मानिन्छन् । जसमा समय, ज्याला, क्षेत्रफल, लागत, तालिका आदिमा कृषकहरु अनविज्ञ देखिएका छन् । तर समग्रमा व्यवसाय राम्रै छ । पशु बीमाका प्राविधिक प्रशस्तै छन् । तर कृषिप्रधान देश भइकन पनि कृषि बीमामा प्राविधिक कम छन् । सबै प्रक्रिया प्रमाणित प्राविधिकले नै गर्ने हो । सबै मिल्यो भने यसको बजार राम्रो छ ।
० पछिल्लो समयमा आएको अजोड निर्जिबीन कम्पनीको प्रभाव एकै वर्षमा नेपालभर देखियो सफलताको सूत्र के हो ?
– सातै प्रदेशमा आफ्नो शाखा सञ्चालन गरेको छ । गत आ.व.मा शाखा उपशाखा गरी प्रधान कार्यालय अतिरिक्त २९ ठाउँमा विस्तार भइसकेका छन् भने १९ वटा बीमा काउन्टर र एक ग्राहक सेवा केन्द्र स्थापना भइसकेको छ । यो वर्ष भने ९ वटा उपशाखा सञ्चानलमा ल्याउने तयारी भइरहेको छ । गत आ.व. मा ४१ करोड ४५ लाख बीमा शुल्क आर्जन गरी नयाँ बीमा कम्पनीमा अग्रस्थान हासिल गरेका छौं भने यस आ.ब.मा ९० करोडको लक्ष्य लिएका छौं । अजोड इन्स्योरेन्सले छोटो समयमा नै बीमा बजारमा ब्राण्ड इमेज स्थापित गर्न सफल भएको हो । हामीले बीमा सेवालाई प्रविधिमैत्री बनाउँदै लगेको हुनाले ग्राहको आकर्षण र विश्वास बढ्यो । यसैमा हाम्रो सफलता अडेको छ ।