free website hit counter

बीमामा रोजगारीको राम्रो आकर्षण र प्रतिफल छ

beemaadmin
२०७६ कार्तिक ३, आईतवार

नेपाल राष्ट्र बैंकबाट करिअर सुरु गर्नुभएका शिवराम तिमिल्सिनाले वाणिज्य बैंक तथा बीमा क्षेत्रमा गरी करिब ३५ वर्ष बिताइसक्नु भएको छ । व्यवस्थापनमा स्नातकोत्तर तथा एलएलबी गर्नुभएका तिमिल्सिनाले पेसासँग सम्बन्धित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तालिम तथा गोष्ठीका अनुभव पनि संगालिसक्नुभएको छ । हाल उहाँ सानिमा लाइफ इन्स्योरेन्स कम्पनीमा महाप्रबन्धकका रूपमा कार्यरत हुनुहुन्छ । उहाँसँग अर्थबीमा डटकमका लागि सम्पादक नुरराज कँडेलले गर्नुभएको छोटो कुराकानी :

० बैंकहरू मार्फत् बीमा कम्पनीले बिमालेख (बैक्योसुरेन्स) बेच्दै आएकोमा यस वर्षको मौद्रिक नीतिमा सो कार्यलाई निरुत्साहित गरेको छ, त्यसले बीमा कम्पनीहरूमा कस्तो असर पार्ला ?
– कसरी व्यवस्थित गर्ने भन्ने छलफलकै विषय छ । बैंक भनेको कर्पोरेट एजेन्ट हो र हाल काम गर्न पाएको छैन । आशा छ राम्रै निकाश आउला । निरुत्साहित होइन व्यवस्थित गर्दै अगाडि बढ्नुपर्छ ।

० नेपाली बीमा बजार अझै विस्तार भएको छैन, बजार विस्तारमा के कस्ता पहल गर्नु पर्ला ?
– बजार क्रमशः विस्तार भइरहेको छ र आङ्खनो पहुँच बढाइरहेको छ । सानीमा लाइफले जहाँ बीमा सेवा पुगेको छैन त्यस ठाउँमा आङ्खनो शाखा सञ्जाल बढाइरहेको छ यो प्रक्रिया निरन्तर रहन्छ । नयाँ सोच आम नागरिकको आवश्यकताअनुसारको बीमा योजना लिएर जान सके बजार विस्तारको सम्भावना राम्रो छ ।

० आम्दानी कम भएको र अर्थतन्त्र फस्टाउन नसकेको वर्तमान अवस्थामा बीमा बजार कसरी अगाडि बढ्ला ?
– आयस्रोतको आधारमा र व्यक्तिको आवश्यकतामा भर पर्ने कुरा हो । व्यक्तिलाई बीमाको आवश्यकता महसुस हुनुपर्दछ यसमा बीमकहरूले आङ्खनो दायित्व बहन गर्नु पर्दछ । बीमा आफैंले क्रमशः आफ्नो क्षमता बढाउँदै जान्छ ।

० बीमा दाबी प्रक्रिया झन्झटिलो छ भनिन्छ ? कतिपय अवस्थामा त कागजात पु¥याउन नसकेर दाबी भुक्तानी लिन नसकिने अवस्था त छैन ?
– जीवन बीमामा दाबी प्रक्रिया झन्झटिलो हुँदैन । आवश्यक कागजात बीमा गर्दा नै पुगेको खण्डमा दाबी प्रक्रिया सजिलो हुन्छ । हाम्रो सानीमा लाइफमा हालसम्म एउटा पनि दाबी भुक्तानी बाँकी छैन ।

० जीवन र नीर्जिवन बिमाको चुक्ता पुँजी पु¥याउन हम्मेहम्मे परेको अवस्था छ यस्तो अवस्थामा मर्जरको सम्भावना कत्तिको छ ?
– यो एउटा विकल्प मात्र हो, जसलाई अवाश्यकछ ऊ सहभागी हुन सक्छ । सानीमा लाइफको पुँजी पुगेको छ छिटै ६० करोडको पब्लिक शेयर पनि जारी गर्दैछ ।

० बीमाको बजार सानो छ, नयाँ जीवन बीमा कम्पनीहरू थपिएका छन्, यस्तोमा अस्वस्थ प्रतिस्पर्धा त बढ्दैन ?
– बीमाको बजार सानो होइन ठूलो छ, जबकि १९ प्रतिशतले मात्र बीमा गरेको तथ्यांक छ । हामी स्वस्थ तरिकाले काम गरिरहेका छौं, अस्वस्थ प्रतिस्पर्धा गर्नु हुँदैन । कम्पनी थपिनु भन्दा पनि बजारमा कसरी काम गर्ने भन्ने कुराले अर्थ राख्छ । ८१ प्रतिशत जनसंख्यलार्ई अझै बिमा गराउन सकिएको छैन ।

० बीमा क्षेत्रमा दक्ष जनशक्तिको खाँचो देखिन्छ, त्यसो हुनुमा मुलुकभित्रै राम्रो तालिमको व्यवस्था नहुुनु हो वा यस क्षेत्रमा उचित प्रतिफल नभएर रोजगारीको आकर्षण नदेखिएको हो ?
– धेरै बीमा कम्पनी र ठूलो बजार भए पनि दक्ष जनशक्तिको अभाव नै छ । किनकि यो प्राविधिक क्षेत्र हो तै पनि नियामनकारी निकायले तालिम दिईरहेको छ र सानीमा लाइफले पनि त्यस्ता कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ, सबैले यस्ता कार्यक्रम सञ्चालन गरे जनशक्ति पर्याप्त हुन्छ । बीमामा रोजगारीको राम्रो आकर्षण र प्रतिफल पनि छ ।

० नेपाली बीमकले विदेशी पुनर्विमा कम्पनीसँग बीमा गर्दा अधिकांश बीमा शुल्क विदेशिने गरेको वर्तमान सन्दर्भमा बीमा गरिएको रकम मुलुकभित्रै राख्न के कस्ता व्यवस्थाहरू हुँदैछन् ?
– पुनर्बीमाको शुल्क बाहिरिने र भित्रिने क्रम उस्तै हुन्छ । किनकि पुनर्बीमा भनेकै फरक फरक देशमा फरक फरक कम्पनीमा छरेर गरिन्छ । यसो गर्दा जोखिम पनि छरिन्छ ।

० बीमा बजार सुधारका लागि तपाईंको सुझाव के छ ?
– दक्ष जनशक्ति उत्पादन, तालिम, बीमा अभिकर्ताहरूलाई सिपको ज्ञान दिई बजार बढाउन सकिन्छ । सानीमा लाइफले योग्य कर्मचारी, अभिकर्ता उत्पादन गरी नयाँ तरिकाले बजार व्यवस्थापन गरेको छ ।

० सबैलाई प्यान अनिवार्य गर्ने नियम लागू गर्न सम्भव होला ?
– सरकारको नीति नियम हो, सरकारले सुझबुझका साथ नै यस्तो नीति नियम ल्याउने गर्दछ । सबैले पालना गर्नुपर्दछ, असम्भव भन्ने नै हुँदैन ।

सम्बन्धित समाचार