नियामक निकायले सुझबुझका साथ निर्णय र निर्देशन जारी गर्नु पर्दछ । यहाँ प्रसंग बीमालेख समर्पणको हो । हाल आएर बढी भन्दा बढी बीमालेख सरेण्डर गराउने बीमक र अभिकर्तामाथि चियोचर्चा थालिएको छ । जबकि बीमकहरुलाई कन्ट्रोलमा राख्ने, अभिकर्ता, सर्भेयरहरुलाई तालिम दिई इजाजत दिने निकाय बीमा समिति हो । हाल हाएर अभिकर्ता उत्पादन गर्न बीमकलाई जिम्मा दिई आफू पानीमाथिको ओभानो बन्दैछ ।
बीमालेख समर्पणका विविध कारण हुन सक्छन् जहाँ नियोतिज पनि हुन सक्दछ तर त्यसका नक्कली कागजात पेश गरिएको हुँदैन । बिमितको सही औंठा छाप र समर्पणको कारण खुलाएर समर्पण प्रस्ताव पेश गरिन्छ र नियमसंगत रुपमा बीमितलाई रकम भुक्तानी गरिन्छ ।
अभिकर्तालाई समस्यामा पार्ने ?
जीवन बीमाका मेरुदण्ड अभिकर्ता हुन् भन्ने कुरा जान्दा जान्दै पनि कुन अभिकर्ताले कति बीमालेख सरेण्डर गरायो भनेर चियो चर्चा गर्नुभन्दा त्यस बीमालेख जारी हुनुभन्दा पहिलेको आँकडा, अण्डराइटिङ के हो ? त्यतातिर ध्यान जान जरुरी छ । यदि बीमितको स्रोत छैन भने बीमा कसरी भयो ? आम्दानीको स्रोत कहिले बढ्छ कहिले सुक्छ यस्तो अवस्थामा समर्पण वा बीमलोख धितोमा ऋण लिनु पर्ने बीमितको बाध्यता हुन्छ । ऋण लिँदा नियमित ब्याज र बीमा शुल्क भुक्तानीको भारले तोक्सानमानै बीमालेख सरेण्डर गर्ने बीमित धेरै छन् । यो बीमितको नैसर्गिक अधिकार हो । आफ्नो लगानी नाफा घाटा व्यहोर्ने बीमितको इच्छा हो र अधिकार पनि हो ।
अभिकर्ताको कमिशन, इन्सेन्टिभ र बोनसमा आँखा
जीवन बीमामा अभिकर्ता हुन्थेनन् भने बीमा कम्पनीनै कोल्याप्स हुन्थे र हुन्छन् पनि । एउटा अभिकर्ताले एउटा बीमा प्रस्ताव पेश गर्न महिनौ लाग्छ । दशौं पटकसम्म ग्राहकलाई भेटेर बीमासम्बन्धी प्रस्ताव गरीरहनु पर्दछ । त्यस समयमा उसले पाउने सेवा सुविधाको आधार भन्दा बढी रकम खर्च भैसकेको हुन्छ भने समय पनि त्यत्तिकै खर्च हुन्छ । यस्तोमा अभिकर्ताको मर्म नबुझी समर्पणको दर बढ्यो भन्दैमा अभिकर्तालाई दोष किन ?
दक्ष अभिकर्ता किन उत्पादन नगर्ने ?
निर्णायक स्थानमा बस्नेले निर्देशन दिन सजिलो छ तर आफ्नो जिम्मेवारी पूरा गर्नु पर्दछ । प्रत्येक बीमा शुल्कको एक प्रतिशत रकम बीमकहरुले बीमा समितिलाई बुझाउनु पर्दछ तर त्यसको फाइदा बीमकलाई के छ ? निरन्तर दबाव, अन्टसन्ट निर्देशन र सबैलाई हतोत्साहित बनाउने काम मात्रै भएको छ । सबै निर्णय सुझबुझ गरी सबैको फाइदा र जित हुने निर्णय लिन जरुरी छ ।
प्रति बीमकको अभिकर्ताको दक्षता के भनेर बीमा समितिले रचनात्मक कार्यक्रम सञ्चालन गर्न पर्दैन ? त्यसमा हाजिर जवाफ, लेखन प्रतियोगिता, परीक्षा प्रत्येक बीमकसँग छुट्टाछुट्टै गर्नु पर्दछ । फेरि बीमकका कर्मचारी अभिकर्ताहरु मिसाएर (२–४ बीमक) परीक्षा लिनु पर्दछ । अनि मात्र व्यवसायिक स्तरोन्नति हुन्छ ।
सबैभन्दा पहिले नियामक निकाय बीमा समिति सक्षम हुनुपर्दछ, त्यसपछि बीमा व्यवसाय आफैं सक्षम हुन्छ ।