बीमा कम्पनीले इजाजत प्रदान गरी बीमा लेख बिक्री गर्न बजारमा पठाएको व्यक्तिलाई बीमा अभिकर्ता भनिन्छ । यसरी बीमा गराउन प्रेरित गर्ने उद्देश्ले नैतिक मूल्य–मान्यता गुमाउनुहुँदैन, जसको बुँदागत निम्नरूपमा दिइएको छ–
क) सर्वप्रथम बीमितलाई वा प्रस्तावकलाई प्रत्यक्ष भेट गरी सम्वाद गर्नुपर्दछ । कुनै ग्राहकले बीमकसँग गलत फाइदा उठाउन खोजेका हुन सक्छन्, सोको मनोवैज्ञानिक अध्ययन गर्नुपर्दछ । ग्राहकको आदत, पेसा, उमेर, स्वास्थ्य, पारिवारिक स्थितिको जानकारी लिनु जरुरी छ । केही समयको कुराकानीमा उक्त व्यक्ति बीमायोग्य छ कि छैन भन्ने पत्ता लगाउन सकिन्छ ।
(ख) आफ्नो अनुपस्थितिमा प्रस्ताव फारम भरेर ल्याएमा सहर्ष स्वीकार नगर्नुहोस् किनकि बीमालाई व्यापारिक खेती बनाउनबाट रोक्नुपर्दछ । कतिपय दीर्घरोगी, मृत्युको मुखमा पुगेकाहरू, बिरामी शय्यामा सुतेकाहरूले पनि बीमा प्रस्ताव गर्न सक्छन् । सीमित पैसाको लोभमा नपरी आफ्नो हैसियत कायम राख्नुपर्दछ । कतिपय दाबी भुक्तानीहरू यससम्बन्धी सम्बन्धित पाइएको छ । रोग र मृत्यु भनेको कुनै पनि उमेरकालाई कुनै पनि प्रकारको हुन सक्दछ । मात्र बीमकले छुट दिएको उमेरको अवस्थाले गर्दा पनि दीर्घरोगी बीमित हुन पुग्दछन् र भुक्तानीमा अभिकर्तालाई सामाजिक लाञ्छना लाग्दछ ।
(ग) नैतिक आचरण खराब, कुख्यात अपराधीहरू, ग्याङ फाइटरहरू, अनैतिक क्रियाकलापमा समावेश भएकाहरूको बीमा प्रस्ताव फारम भर्नुहुँदैन, यो बढी जोखिमपूर्ण हुन्छ । यदि प्रस्ताव फारम भर्नुपरेमा अभिकर्ताको गोप्य प्रतिनिवेदनमा आफूले जाने–बुझेका कुराहरू लेखिदिनुपर्दछ ।
(घ) जीवन बीमा अभिकर्ताले आफ्नो ग्राहकलाई सन्तुष्टि दिन सक्नुपर्दछ, जसमा उसको आर्थिक हैसियतअनुसारको बीमा लेख बिक्री गर्नु प्रमुख हुन्छ । कमिसनको लोभमा कम आम्दानीको व्यक्तिलाई बढी रकमको बीमा प्रस्ताव गर्नु हुँदैन । आर्थिकरूपमा कमजोर व्यक्तिले ठूलो रकमको बीमा गरेमा २–३ वर्ष पनि तिर्न सक्दैन अनि सर्मपण गर्ने सम्भावना हुन्छ । बुझाएको भन्दा कम रकम उसले फिर्ता पाउँछ । यस्ता कार्यले समाजमा बीमाको नकारात्मक सन्देश फिजाउँदा त्यसै समाजमा अर्को ग्राहक भेट्न गाह्रो हुन्छ । यदि व्यक्तिको हैसियतअनुसार लामो अवधिको बीमा गराएमा इष्टमित्र, नातेदार, साथी, सहकर्मीलाई आकर्षित गर्दछ । उसले पनि नियमित भुक्तानी गरी सुरक्षित रहन्छ र अभिकर्ताको पनि पूर्णकालीन ग्राहक बन्दछ ।
(ङ) बीमा प्रस्ताव भर्दा व्यवसाय परिवर्तन नगरी उल्लेख गर्नुपर्दछ । यदि जोखिमयुक्त व्यवसाय भएमा बीमकले तोकेको शुल्क अनिवार्य लगाउनुपर्दछ, जसले गर्दा बीमित, बीमक र अभिकर्ता सुरक्षित रहन्छन् ।
(च) बीमा अभिकर्ताले प्रस्तावको आर्थिक स्रोत बुझेर मात्रै प्रस्ताव फारम भराउनुपर्दछ । नियमित शुल्क बुझाउन नसक्नेहरूलाई बीमा गराउनुहुँदैन बरु सानो बीमाङ्कको लामो अवधिको बीमा गराउँदा सामान्यतया शुल्क कम भई बीमा निरन्तर हुन जान्छ । बीमा अभिकर्ताले कमिसनलाई मात्र ध्यान नदिईकन सामाजिक सेवाको भावना पनि राख्नुपर्दछ ।
(छ) बीमा अभिकर्ताले प्रस्ताव फारम भर्दा प्रायः निश्चित बीमायोग्य व्यक्तिको भर्नुपर्दछ, जसमा धेरै दुब्लो, धेरै मोटो, स्वास्थ्य खराब, पेसाविहीन, नैतिकहीन हुनुहुँदैन ।
(ज) बीमालाई व्यक्तिगत स्वार्थमा निहित हुन नदिन बीमा अभिकर्ता प्रमुख जिम्मेवार हुनुपर्दछ । धेरै बुझेका र कम बुझेका ग्राहकसँग शर्तक हुनुपर्दछ ।
(झ) प्रस्तावक–बीमितको उमेरको प्रमाणपत्रको यकिन हुनुपर्दछ । आँकलन गर्न सकिन्छ न कि कसैले यसको दुरूपयोग नगरोस् ।
(ञ) बीमा प्रस्ताव फारम बीमकले स्वीकृत गरेर बीमा लेख प्राप्त भएपछि मात्र बीमायोग्य भएको मानिन्छ । कतिपय बीमकले शुल्क पहिल्यै लिने र अन्डरराइटिङ पछि गर्ने गरेको पाइन्छ । तर शुल्क बुझाए पनि बीमकको बीमालेख नदिईकन वा बीमा लेख नं. प्राप्त नभई यसको आधिकारिक मान्यता हुँदैन ।
(ट) बीमितहरू एक पटक बीमा शुल्क बुझाई बीमा लेख लिएपछि लामो समयसम्म शुल्क नबुझाउँदा पनि जोखिम वहन भएको ठान्दछन् । शुल्क नबुझाई कुनै घटना घटे दाबी भुक्तानी परेमा बीमितले उक्त सुविधा प्राप्त गर्दैन अनि बीमितले समाजमा बीमा गरेको तर बीमा कम्पनीले भुक्तानी नदिएको भनी प्रचार गर्दछ । यो बीमितको बुझाइको कमी हो । तर बीमा अभिकर्ताले यस्तो अवस्था आउन नदिन ग्राहकलाई समयमा भेटी शुल्क बुझाउनुपर्दछ साथै शुल्क नबुझाएमा हुने नोक्सानीको बारेमा पनि जानकारी गराउनुपर्दछ ।
(ठ) बीमा अभिकर्ताले बीमितहरूको बीमा शुल्क यथाशीघ्र बीमा कम्पनीमा भूक्तानी गर्नुपर्ने छ, जसले गर्दा जोखिम वहनमा ग्यारेन्टी हुन्छ । कतिपय अवस्थामा बीमितले अभिकर्तालाई शुल्क बुझएको तर अभिकर्ताले बीमकमा नबुझाई बीमा लेख निष्क्रिय भएको देखिन्छ । यसै अवस्थामा घटना घटेमा अभिकर्ता सम्पूर्ण कुराको जिम्मेवार हुनुपर्दछ । साथै, प्रचलित कानुनबमोजिम कारबाही हुने छ ।