कुनै पनि व्यवसायमा कार्यरत दक्ष, अर्ध दक्ष र अदक्ष्य कर्मचारीको पहिलो रोजाई भनेको आफुले पाउने पारिश्रमिक र सेवा सुविधाहरू हुन् । जहाँ बढी सुविधा र सहजता हुन्छ कर्मचारीहरू त्यही रमाउँछन् र आफ्नो पेशामा कटिबद्ध हुन्छन् । बीमा क्षेत्रमा श्रमको उचित मूल्यांकन गरेको पाइँदैन । कम्पनीको व्यापार २००–३०० प्रतिशतले बढ्दा पनि कर्मचारीको तलब १०–२० प्रशित पनि बढ्दैन । कर्मचारीको न्यूनतम आवश्यकता पनि पुरा हुँदैन जसको कारण विकृति पनि देखा पर्दछ । न्यूनतम आवश्यकता पूरा गर्नकै लागि कर्मचारीमा विचलन आउनु अस्वाभाविक होइन ।
यस क्षेत्रमा मानव संशाधन, भरण पोषणको आवस्था सन्तोषजनक छैन वा न्यूनतम सीमा रेखानै कायम छैन । जबकि बीमा क्षेत्रको पहुँच, दायरालाई फराकिलो पार्ने काम कर्मचारीको हो र कर्मचारीकै कारण आज बीमाको बजार विस्तार पनि भएको छ । त्यस अर्थमा पनि कर्मचारीलाई सेवा सुविधा सन्तोषजनक रुपमा प्रदान गर्नु बीमकको दायित्व हो । यस क्षेत्रको विस्तार अझ बढाउन कर्मचारीलाई सन्तुष्ट पार्नु पर्दछ । कर्मचारी सन्तुष्ट भएको अवस्थामा मात्रै कुनै पनि व्यवसाय अघि बढ्न सक्छ ।
कर्मचारीका सेवा सुविधा जस्ता न्यूनतम आवश्यकताको अवस्था के कस्तो छ भन्ने कुरा नियमनकारी निकाय बीमा समितिले सकारात्मक पहल गर्ने हो भने यो व्यवसाय अझ राम्रोसँग विस्तार हुँदै सबै नेपाली बीमाको पहुँचभित्र पर्न सक्थे । यदि स्वदेशमा नै आकर्षक सेवासुविधासहितको रोजगारी पाउने हो भने कुन चाहिँ नेपाली युवाले खाडीको तातो घाममा काम गर्ने इच्छा गथ्र्यो होला ।
बीमा व्यवसायमा समयअनुकुल सेवा सुविधा पाएमा यस क्षेत्रका विज्ञहरू, जोशिला युवा–युवतीहरूको आकर्षण बढ्न गई बजार विस्तारमा कोशे ढुंगा सावित हुन्थ्यो । यो व्यवसाय फस्टाउँदा एक त बेरोजगार युवाले रोजगारी पाउँछन् भने राज्यको आर्थिक उन्नतिमा पनि सहयोग पुग्ने नै थियो । दक्ष जनशक्तिलाई आफ्नै देशभित्र परिचालन गर्नु राज्यको मात्रै दायित्व होइन । त्यसमा कम्पनीहरूले पनि आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्छ । यति गर्न सकियो भने हरेक क्षेत्रको दायरा फराकिलो हुँदै जानेछ भने विकासको ढोका पनि खुल्दै जानेछ ।
बीमा क्षेत्रमा वैज्ञानिक ढंगले उत्प्रेरित, आकर्षित र परिचालित गर्न सकेमा बीमाको सीमा, दायरा बढ्न गई सबैका लागि बीमा सम्भव हुन्छ वा बीमालाई सबै वर्गका व्यक्तिले अत्यावश्यक ठान्छन् । समग्रमा यस क्षेत्रमा मानव संशाधनको योग्यता, क्षमता, व्यवसायिकताको उचित कदर जबसम्म हुँदैन तबसम्म व्यवसायिक रुपमा विस्तार र विकास हुँदैन । यस सन्दर्भमा बीमक संघहरू, बीमा समिति, अभिकर्ताका संघ–संगठनहरूले सकारात्मक पहल गरेमा बीमा क्षेत्रले गुणात्मक फड्को मार्न पक्कै सहयोग पुग्नेछ ।
यसको सार भनेको व्यक्तित्व पहिचान गर्नु, क्षमता, सीप, गुण, व्यवहारको मूल्यांकन गरी कर्मचारीलाई उत्प्रेरणा प्रदान गरी कार्यक्षमतामा रोजगारदाता कम्पनी वा विशेष गरी बीमकहरूले बजार विस्तार गर्नु हो । यो सबै क्षेत्रमा लागू भए पनि निर्जीवन बीमामा केही समस्याहरू छन् । जसमा अभिकर्तालाई उचित कमिशन र स्थान नदिनु, कर्मचारीले लिएको जिम्मेवारी अनुसार सुविधा नपाउनु, बीमकका उत्पादनहरू प्रविधिमैत्री नहुनु, यदि भए पनि आम नागरिकको पहुँचमा नपुग्नु, बीमकहरू भिडिया मैत्री हुनलाई कन्जुस्याई गर्नु लगायत रहेका छन् ।
(लेखक नेपाल इन्स्योरेन्स कम्पनीका नायव महाप्रबन्धक हुनुहुन्छ)