काठमाडौं । नेपालका बीमा कम्पनीहरूले गत आर्थिक वर्ष २०८२/८३ मा १ खर्ब १ अर्ब ३६ करोड १३ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी गरेका छन्। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको ‘बीमा प्रतिविम्ब’ अनुसार यो रकम अघिल्लो आर्थिक वर्षको तुलनामा ११.३० प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा बीमा कम्पनीहरूले ९१ अर्ब ६ करोड ८५ लाख रुपैयाँ दाबी भुक्तानी गरेका थिए।
जीवन बीमा कम्पनीहरूले समीक्षा अवधिमा ४ लाख १९ हजार १३६ वटा दाबी बापत ६९ अर्ब ६४ करोड २३ लाख रुपैयाँ भुक्तानी गरेका छन्। अघिल्लो आर्थिक वर्षको तुलनामा जीवन बीमातर्फ दाबी संख्या ७.१६ प्रतिशत र भुक्तानी रकम ५.८३ प्रतिशत ले वृद्धि भएको छ।
यस्तै, निर्जीवन बीमा कम्पनीहरूले १ लाख ६४ हजार १०१ वटा दाबी बापत ३१ अर्ब ७१ करोड ९० लाख रुपैयाँ भुक्तानी गरेका छन्। अघिल्लो वर्षको तुलनामा निर्जीवन बीमातर्फ दाबी संख्या ८.९४ प्रतिशत र भुक्तानी रकम २५.५७ प्रतिशत ले बढेको छ।
निर्जीवन बीमातर्फ दाबी रकम उल्लेख्य बढ्नुमा गत भदौको जेनजी आन्दोलन र असोज महिनाको बाढी–पहिरोबाट भएको ठूलो भौतिक क्षति मुख्य कारण रहेको प्राधिकरणको विश्लेषण छ। ती घटनाले बीमित सम्पत्तिमा व्यापक क्षति पुर्याउँदा दाबी रकम पनि उल्लेख्य रूपमा बढेको हो।
यद्यपि, दाबी भुक्तानीसँगै अझै ठूलो परिमाणमा दाबी फर्छ्योट हुन बाँकी छ। प्राधिकरणका अनुसार गत आर्थिक वर्षको अन्त्यसम्म ५२ अर्ब ८ करोड १ लाख रुपैयाँ बराबरका दाबी भुक्तानी हुन बाँकी रहेका छन्।
यसमा जीवन बीमा कम्पनीहरूको १ लाख ४४ हजार १४४ वटा दाबी बापत ११ अर्ब ४ करोड ७५ लाख रुपैयाँ तथा निर्जीवन बीमा कम्पनीहरूको १ लाख ६ हजार २३७ वटा दाबी बापत ४१ अर्ब ३ करोड २५ लाख रुपैयाँ भुक्तानी हुन बाँकी छ।
बीमा क्षेत्रका जानकारहरूका अनुसार दाबी भुक्तानीमा भएको वृद्धि बीमाप्रतिको विश्वास र पहुँच विस्तारको संकेत भए पनि ठूलो रकम बराबरका दाबी समयमै फर्छ्योट गर्न नसक्नु उद्योगका लागि चुनौती बनेको छ। दाबी व्यवस्थापनलाई थप छिटो, पारदर्शी र प्रविधिमैत्री बनाउन सके बीमितको विश्वास अझ मजबुत हुने र बीमा क्षेत्रको दीर्घकालीन विकासमा सकारात्मक टेवा पुग्ने अपेक्षा गरिएको छ।