तपाईंहामीलाई लाग्नसक्छ, बीमाले कहाँबाट पैसा ल्याएर यति धेरै मासिनको जोखिम बहन गरिरहेको छ ? बीमा कम्पनी कसरी सुरक्षित रहन्छ ? बास्तवमा यस्तो प्रश्न उठ्नु अस्वाभाविक पनि होइन । किनकि बैंकहरुले जस्तो बीमा कम्पनीहरुले लगानी गर्ने क्षेत्र हामीले देखेका छैनौं । बीमा कम्पनीले आफूखुशी लगानी गर्न पनि पाउँदैन । उसलाई हेर्ने नियमनकारी निकाय बीमा समितिको निर्देशनलाई पछ्याउँदै उसले निश्चित क्षेत्रमा लगानी गर्न पाउँछ ।
बीमा कम्पनीमा सङ्कलन गरिएको शुल्कलाई निश्चित अवधिका लागि सुरक्षित लगानी गर्न आवश्यक छ । बीमा लामो अवधिको गरिएको हुन्छ तर बीमा शुल्क नियमित बुझाइएको हुन्छ । बीमा कम्पनीले आफूखुसी लगानी गर्न पाउँदैन । निश्चित क्षेत्रभित्र रहेर बीमा समितिको निर्देशन र सहमतिमा लगानीको क्षेत्र स्पष्ट हुन्छ । वित्तीय जोखिम नभएका क्षेत्रहरू, मुनाफा आर्जित कम्पनीहरू, पब्लिक लिमिटेड कम्पनीको साधारण सेयर, विकास बैङ्कको मुद्दती निक्षेप, वाणिज्य बैङ्कको मुद्दती निक्षेप, नेपाल सरकार र नेपाल राष्ट्र बैङ्कको ऋणपत्र, नागरिक लगानी कोषभित्र कम्पनीको मुद्दती निक्षेप आदि पर्दछन् ।
बीमा कम्पनीको स्वेच्छाले सबै रकम एकत्रित गर्न पाउने छैन । यसमा हालसम्मको अवस्थामा क वर्ग वा नेपाल राष्ट्र बैङ्क र नेपाल सरकार अथवा सरकारको जमानत प्राप्त ऋणपत्र बचतपत्रमा कुल लगानीको कम्तीमा २५% प्रतिशत लगानी गरिएको हुनुपर्दछ । यसै गरी वाणिज्य बैङ्कको मुद्दती निक्षेपमा कुल लगानीको ३५ प्रतिशतभन्दा बढी राख्नुपर्दछ । विकास बैङ्कको मुद्दती निक्षेपमा १० प्रतिशतभन्दा कम लगानी गर्नुपर्दछ । नागरिक लगानी कोषमा कुल लगानीको ५% भन्दा कम वाणिज्य बैङ्कहरूको अग्राधिकार सेयर, पब्लिक लिमिटेड सुरक्षित ऋणपत्रहरूमा १० प्रतिशतभन्दा कम, वित्त कम्पनीको मुद्दती निक्षेपमा १०% भन्दा कम, पब्लिक लि.क.को साधारण सेयरमा ५% भन्दा कम लगानी गर्ने प्रावधान छ ।
यसरी अनिवार्यरूपमा क र ख वर्गमा लगानी ७५% भन्दा बढी हुनु आवश्यक छ । बीमा कम्पनीहरूले आफूले स्वेच्छिक लगानी कुल लगानीको १५% मात्र गर्न पाउँछन्, जहाँ मुद्दती निक्षेप, पब्लिक सेयर, बीमितलाई ऋण, कर्मचारी तलब भत्ता, अभिकर्ता कमिसन, ऋण आदि पर्दछन् । बीमा कम्पनीहरूको यस लगानीको क्षेत्रको कारणले बीमा कम्पनी मजबुत भई ग्राहकको विश्वास जितेको छ ।