free website hit counter

बीमा क्षेत्रका विदेशी मुद्रा कारोबार सहज बनाउन प्राधिकरण र राष्ट्र बैंकबीच छलफल

beemaadmin
२०८३ असार ८, सोमबार

काठमाडौं । बीमा क्षेत्रसँग सम्बन्धित विदेशी मुद्रा सटही तथा अन्तर्राष्ट्रिय कारोबारलाई थप सहज, व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले नेपाल बीमा प्राधिकरण र नेपाल राष्ट्र बैंकबीच छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

Advertisement
Advertisement

नेपाल बीमा प्राधिकरणको आयोजनामा शुक्रबार कुपण्डोलस्थित केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा बीमक तथा पुनर्बीमकका लागि विदेशी मुद्रा सटही सिफारिस प्रक्रियालाई थप प्रभावकारी बनाउने विषयमा केन्द्रित छलफल गरिएको हो।

Advertisement
TEST

कार्यक्रममा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीले बीमा व्यवसायसँग सम्बन्धित विदेशी मुद्रा सटही प्रक्रियामा देखिएका प्राविधिक समस्याहरू समाधान गर्न राष्ट्र बैंकसँग घनिष्ठ समन्वय गर्दै अघि बढिने बताए। उनले केही समस्याहरू बीमा नियमावलीमार्फत सम्बोधन गर्न सकिने उल्लेख गर्दै बाँकी विषय निर्देशिकामार्फत समाधान गरिने जानकारी दिए।

नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्था विभागका कार्यकारी निर्देशक डा. डिल्लिराम पोख्रेलले बीमा क्षेत्रका विदेशी मुद्रा कारोबारलाई पारदर्शी, सुरक्षित तथा अन्तर्राष्ट्रियस्तरमा स्वीकार्य बनाउने दिशामा प्राधिकरणसँग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे।

प्राधिकरणका निर्देशक कमलप्रसाद रेग्मीले व्यवहारिक समस्या पहिचान गरी समाधान खोज्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए। त्यस्तै, राष्ट्र बैंकका निर्देशक बुद्धराज शर्माले बीमा क्षेत्रको विस्तारसँगै देखापर्ने जोखिम न्यूनीकरणका लागि दुई निकायबीचको सहकार्य महत्वपूर्ण हुने धारणा राखे।

कार्यक्रममा प्राधिकरणका उपनिर्देशक राम कोजू र राष्ट्र बैंकका उपनिर्देशक यज्ञ श्रेष्ठले विदेशी मुद्रा सटहीसम्बन्धी विद्यमान व्यवस्था र प्रक्रियाबारे प्रस्तुतीकरण दिएका थिए।

अन्तरक्रियामा सहभागीहरूले बीमा क्षेत्रको विस्तारसँगै विदेशी मुद्रा सटहीसम्बन्धी व्यवस्थालाई समयानुकूल परिमार्जन गर्नुपर्ने आवश्यकता औँल्याएका थिए। कार्यक्रममा राष्ट्र बैंक, बीमक संघ, निर्जीवन बीमक संघ, वाणिज्य बैंक, बीमा कम्पनी तथा पुनर्बीमा क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

सम्बन्धित समाचार