काठमाडौं । बीमा क्षेत्रलाई थप प्रभावकारी, विश्वसनीय र दक्ष बनाउन अनुसन्धान, प्राविधिक अध्ययन तथा सम्बन्धित संस्थाबीचको सहकार्य आवश्यक रहेको सरोकारवालाले बताएका छन्।
रिसर्च इन्स्टिच्युट अफ सर्भेयर्स इन इन्स्योरेन्स (रिसी) को प्रथम वार्षिक साधारणसभाका अवसरमा आइतबार ललितपुरमा आयोजित कार्यक्रममा वक्ताहरूले बीमा सर्भेक्षण, दाबी मूल्याङ्कन, बीमालेख निर्माण तथा अन्य प्राविधिक विषयमा निरन्तर अनुसन्धान गरी त्यसका आधारमा नीतिगत सुधार गर्नुपर्नेमा जोड दिएका हुन्।
नेपालमा बीमा सर्भेक्षण, क्षति मूल्याङ्कन तथा दाबी प्रक्रियासम्बन्धी अनुसन्धान गर्ने उद्देश्यले स्थापना भएको रिसीले नेपाल बीमा प्राधिकरण तथा अन्य सम्बन्धित संघसंस्थासँग सहकार्य गर्दै बीमा क्षेत्रका नयाँ अभ्यास र चुनौतीबारे अनुसन्धानमूलक अध्ययन तथा सुझाव प्रस्तुत गर्दै आएको जनाएको छ।
रिसीका अध्यक्ष मोहन पुरुष ढकालले संस्थाको आगामी प्रमुख प्राथमिकता सदस्यता विस्तारका लागि बलियो र प्रभावकारी संयन्त्र विकास गर्नु रहेको बताए। उनले संस्थालाई यहाँसम्म ल्याउन सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्दै नेपाल बीमा प्राधिकरणको पहल तथा संस्थाले अघि सारेका रणनीतिका आधारमा आगामी कामलाई थप प्रभावकारी बनाइने बताए।
सर्भेयरहरू आ–आफ्नो क्षेत्रमा विज्ञ रहेको उल्लेख गर्दै ढकालले उनीहरूले लामो समयदेखि हासिल गरेको दक्षता र परीक्षण भइसकेको क्षमतालाई कानुनी तथा संस्थागत रूपमा समेट्नुपर्नेमा जोड दिए।
नेपाल बीमक संघका अध्यक्ष वीरेन्द्र वैदवार क्षेत्रीले नेपाली बीमा सर्भेयरहरूले अनपेक्षित विपद्का समयमा जोखिमको यथार्थ मूल्याङ्कन गर्दै समयमै दाबी फर्छ्यौट गर्न सक्ने क्षमता प्रमाणित गरिसकेको बताए।
उनले कोभिड–१९ महामारी तथा पछिल्ला ठूला प्राकृतिक विपद्का समयमा सर्भेयरहरूले निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको उल्लेख गर्दै बीमा क्षेत्रसँग आबद्ध सर्भेयर एसोसिएसन तथा बीमक संघलगायत संस्थालाई सहभागी गराएर संयुक्त रूपमा अध्ययन तथा अनुसन्धान अघि बढाउनुपर्ने बताए।
बीमालेखको डिजाइनदेखि दाबी मूल्याङ्कनसम्मका विषयमा अनुसन्धान गरी आवश्यक सुझाव तथा सिफारिस तयार गर्नुपर्ने उनको भनाइ थियो। नेपाल बीमक संघले अन्डरराइटिङ, स्ट्यान्डर्ड फाइनान्स र पुनर्बिमालगायत प्राविधिक विषयमा सुझाव दिन विभिन्न प्राविधिक समूह तथा उपसमिति गठन गरेर काम गरिरहेको उनले जानकारी दिए।
नेपाल इन्स्योरेन्स एन्ड रिस्क म्यानेजमेन्ट एसोसिएसन (निर्मा) का उपाध्यक्ष उदयराज अधिकारीले रिसीले संस्थाको सुरुवातदेखि नै वित्तीय स्रोत, कार्ययोजना र सञ्चालन मोडलबारे स्पष्ट योजना बनाउनुपर्ने बताए।
उनले अनुसन्धानसँगै जर्नल तथा प्रकाशनलाई पनि संस्थागत विकासको महत्त्वपूर्ण आधारका रूपमा लिनुपर्ने उल्लेख गर्दै रिसी र निर्माबीच जर्नल प्रकाशन तथा अनुसन्धानका क्षेत्रमा सहकार्य गर्न सकिने बताए।
नेपाल बीमा प्राधिकरणका पूर्वअध्यक्ष फत्तबहादुर केसीले नेपालको बीमा क्षेत्रलाई थप परिष्कृत र विश्वसनीय बनाउन अनुसन्धानमूलक संस्थाको आवश्यकता रहेको बताए। बीमा क्षेत्रमा देखिने नयाँ तथा आकस्मिक विषयको पहिचान र समाधानका लागि नियमित अनुसन्धान आवश्यक रहेको उनको भनाइ थियो।
नेपाल बीमा प्राधिकरणका निर्देशक शम्भराज लामिछानेले सर्भेयरहरू आफ्नो क्षेत्रमा स्थापित विज्ञ रहेको र बीमा व्यवसायमा उनीहरूको भूमिका अत्यन्त महत्त्वपूर्ण रहेको बताए।
उनले रिसीको मुख्य उद्देश्य बीमा क्षेत्रका विभिन्न विषयमा अनुसन्धान गर्नुका साथै सर्भेयरलाई आवश्यक तालिम प्रदान गर्नु रहेको उल्लेख गरे। प्राधिकरणले सर्भेयर लाइसेन्सका लागि परीक्षा तथा तालिमको व्यवस्था गरेको भन्दै उपयुक्त पाठ्यक्रम विकास गरी तालिम सञ्चालन गर्दा कानुनी आवश्यकतासमेत पूरा गर्न सहयोग पुग्ने उनले बताए।
लामिछानेका अनुसार प्राधिकरणले हाल छ वटा नयाँ पोर्टफोलियो निर्माण गरिरहेको छ। सर्भेयरको कार्यक्षेत्र निर्धारण, अनुभवका आधारमा वर्गीकरण तथा कार्यसम्पादनका मापदण्ड तय गर्न रिसीले गर्ने अनुसन्धान महत्त्वपूर्ण हुने उनले बताए।
उनले रिसीबाट प्राप्त अनुसन्धान प्रतिवेदनले सर्भेयरको कार्यक्षेत्र निर्धारण तथा वर्गीकरणका विषयमा प्राधिकरणलाई महत्त्वपूर्ण प्राविधिक सहयोग पुग्ने विश्वास व्यक्त गरे।