free website hit counter

बीमा क्षेत्रलाई बलियो र विश्वसनीय बनाउने थापाको योजना

beemaadmin
२०८३ कार्तिक २१, शुक्रबार

काठमाडौं । नेपाल बीमा प्राधिकरणका नवनियुक्त अध्यक्ष राजन विक्रम थापाले बीमा क्षेत्रका विद्यमान समस्या, चुनौती र विकृति समाधान गर्दै क्षेत्रलाई थप बलियो, व्यवस्थित तथा विश्वसनीय बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

पदभार ग्रहण गर्दै अध्यक्ष थापाले बीमा क्षेत्रका अप्ठ्यारा फुकाउने र विद्यमान चुनौती समाधान गर्ने आफ्नो प्रमुख जिम्मेवारी रहेको बताए । उनले सबै सरोकारवालाको साथ र सहयोग प्राप्त भए बीमा क्षेत्रलाई थप सुदृढ बनाउन सकिने विश्वास व्यक्त गरे ।

Advertisement
Advertisement

“म कार्यकारी भूमिकामा रहे पनि यहाँहरू सबैको साथ र सहयोग पाएमा बीमा क्षेत्रलाई थप बलियो बनाउन सकिन्छ भन्ने विश्वास छ,” उनले भने ।

Advertisement
Advertisement

अध्यक्ष थापाले नेपाली सर्वसाधारणमा अझै पनि बीमासम्बन्धी पर्याप्त जनचेतना अभाव रहेको औँल्याए । बीमाका विभिन्न योजना, मोडल र सुविधाबारे आम नागरिकसम्म आवश्यक जानकारी पुग्न नसकेको भन्दै उनले यस क्षेत्रमा जनचेतना अभिवृद्धि गर्नुपर्ने आवश्यकता रहेको बताए ।

उनका अनुसार बीमा क्षेत्रलाई प्रभावकारी र विश्वसनीय बनाउन सर्वसाधारणलाई बीमाको महत्व, आवश्यकता तथा उपलब्ध योजनाबारे स्पष्ट जानकारी दिन आवश्यक छ ।

अध्यक्ष थापाले तत्काल ठूला प्रतिबद्धता सार्वजनिक गर्नुभन्दा काममार्फत परिणाम देखाउने आफ्नो योजना रहेको पनि स्पष्ट पारे । उनले आगामी तीन महिना काम गरेर त्यसपछि प्रगति विवरण र भावी योजनाबारे जानकारी गराउने बताए ।

“अहिले हामी कुनै प्रतिबद्धता गर्दैनौँ । तीन महिना काम गर्छौं र त्यसपछि हामीले गरेको कामको प्रगति विवरण तथा आगामी योजनाबारे जानकारी गराउँछौँ,” उनले भने ।

त्यस्तै, उनले बीमा बजारमा देखिएका विकृति, विसङ्गति तथा गलत अभ्यास नियन्त्रणका लागि सरोकारवालासँग सहयोग मागेका छन् । बीमा क्षेत्रमा कुनै अनियमितता वा गलत कार्य भइरहेको भए प्राधिकरणलाई जानकारी गराउन उनले आग्रह गरे ।

“बीमा बजारमा भइसकेका विकृति, विसङ्गति वा कुनै गलत कार्य छन् भने हामीलाई जानकारी गराउनुहोला,” अध्यक्ष थापाले भने ।

सम्बन्धित समाचार