० खुलेको दुई वर्षको अवधिमा के कस्ता तालिमहरू सम्पन्न गर्नुभयो ?
– जीवन तथा निर्जिवन बीमाका कर्मचारीहरूलाई स्थलगत तालिम दिइयो । बाणिज्य बैंकहरूको कर्मचारीहरू, कतिपय बीकका सञ्चालकहरू, बीमा समितिका कर्मचारीहरूलाई विविध प्रकारका तालिम दिइयो । जसमा काठमाडौंभित्र र बाहिर गरेर हालसम्म ६० वटा तालिम सञ्चालन गरी १७९४ जना सहभागीलाई दक्षताको स्तरोन्नति गरियो ।
० तालिमका क्रममा के कस्ता विषयहरू समावेश हुन्छन् ?
– तालिमको केन्द्रबिन्दू नै बीमा हो, तैपनि यसैका पुरुक विषयहरू दावि भुक्तानी गर्ने प्रक्रिया, व्यक्तिको मूल्यांकन, जोखिमाङ्कन, पुनर्बीमा लगायतका विषयहरू समावेश गरिन्छ । साथमा बीमामा हुने ठगि र जोगिने उपायहरू पनि सिकाइन्छ । जुन विश्वभर चलिआएको प्रक्रिया हो ।
० यसरी तालिम दिइरहँदाको परिप्रेक्ष्यमा तालिम प्राप्त व्यक्तिहरूसहितको अनुभव कस्तो रह्यो ?
– तालिम प्राप्त व्यक्तिको क्षमतावृद्धि निश्चित रुपमा भएको पाइन्छ । यसै प्रभावले गर्दा बैंक वा बीमामा काम गर्न इच्छुक कर्मचारीलाई (आइआईएन) इन्स्योरेन्स इन्स्टिच्युट नेपालको तालिम आवश्यक हुन्छ । यस इन्स्टिच्युटमा तालिम लिएको प्रमाणपत्रले जागिरको ढोका खोल्न सहज बनाउन थालेको छ । यस कुराले पनि इन्स्टिच्युट अफ नेपालको तालिम प्रभावकारी छ भन्ने प्रमाणित हुन्छ ।
० नेपाली बीमा व्यवसायको सोचेझैं विस्तार हुन नसक्नुमा दक्ष जनशक्तिको अभावकै कारण हो ?
– बीमकहरूको तीव्र प्रतिस्पर्धाको कारण अस्वस्थ प्रतिस्पर्धा हुनसक्छ किनकि सबै बीमकलाई तुरुन्तै व्यापार चाहिन्छ । दक्ष कर्मचारीको अभावमा जसरी पनि व्यापार गर्ने हुँदा अस्वस्थ प्रतिस्पर्धा हुनु स्वाभाविक हो । त्यसै समस्या समाधानको लागि इन्स्टिच्युट अफ नेपाल स्थापना गरी कर्मचारीको क्षमता विकास गरिँदैछ र यो क्रम निरन्तर हुनेछ ।
० निर्जिबन बीमामा दाबी भुक्तानी जटिल र कठिन भएका गुनासाहरू आइरहन्छन् त्यसलाई छिटो छरितो बनाउन के गर्नुपर्ला ?
– यसमा बीमित पनि सचेत हुनुपर्दछ । बिमितले बीमा लेखको सर्तसुविधालाई अक्षरस पढ्ने बानी छैन र आफूले गरेको बीमाको जोखिम बहन के मा कसरी हुन्छ भन्ने बुझ्न जरुरी छ । बीमितहरूले बीमा सम्बन्धी जानकारी राख्नैपर्छ । एउटा क्षेत्रको बीमा गरी अर्को क्षेत्रको दाबी भुक्तानी पर्दा कठिन हुने हो । त्यसैक्रममा मुद्दा–मामिला भएमा झन् प्रक्रिया लम्बिन जान्छ ।
बीमालेखको दायराभित्र रहेको क्षतिपूर्ति तुरुन्तै हुन्छ तर यदाकदा बीमकहरू पनि दाबी भुक्तानि गर्न उदासिन देखिन्छन् । समग्रमा आवश्यक कागजात उपलब्ध भएको सही दाबी भुक्तानीमा खासै समस्या छैन ।
० नेपालको बीमा बजारको मूल्यांकन कसरी गर्नुभएको छ ?
– हेर्नुस् कँडेलजी नेपालमा बीमा बजार राम्रो छ । २०÷२५ प्रतिशतलको बृद्धिलाई नराम्रो मान्न सकिन्न । यतिसम्म बीमाको दायरा बढ्ला भन्ने मैले कल्पना पनि गरेको थिइनँ । मैले सन् १९७१ मा आइआइआई (इन्स्टिच्युट अफ इन्डिया) बाट तालिम लिएको थिएँ । बीमा बजार भनेको देशको आर्थिक गतिविधिसँगै तलमाथि भइरहन्छ, जस्तै सडक बनाउँदा, घर, शहर निर्माण गर्दा, हाइड्रोबाट विद्युत उत्पादन गर्दा त्यसभित्र संलग्न सबैको बीमा अनिवार्य हुनुपर्दछ ।
० बीमा तालिम सर्वसाधारणले लिँदा शुल्क कति तिर्नुपर्ला ?
– हाम्रो तालिमको तालिकामा सर्वसाधारण पनि पर्दछन् । कतिपय विद्यार्थीहरूलाई निःशुल्क तालिम पनि दिइराखेका छौं । अब उप्रान्त सामाजिक उत्तदारदायित्व अन्तर्गत आम जनमानसलाई ठाउँ ठाउँमा गएर तालिम दिने योजना छ । शुल्क तिरेर तालिम लिने व्यक्तिको हकमा समय, स्थानअनुसार शुल्क फरक हुनसक्छ । कार्यक्रम हाम्रो आफ्नै कार्यालयमा सञ्चालन गर्दा ५÷१० हजार प्रतिहप्ता पर्दछ भने स्थान परिवर्तन गरी होटल, मोटल, व्याङक्वेटतिर कार्यक्रम गर्न परेमा १५÷२० हजार २÷३ दिनको लाग्नसक्छ ।
० बीमकले व्यापार गर्न हम्मे हम्मे स्थितिमा तालिमप्राप्त व्यक्तिको प्रभाव कस्तो छ ?
– तालिमको कारणले ठूलो सहयोग गरेको महसुस छ । कार्यक्षमताको विकास भइरहेको छ । यस्ता व्यक्तिको सक्रियताले पक्कै व्यवसायलाई फाइदा गर्छ । गरिरहेको छ ।
० बीमामा कर्मचारीको आकर्षण कस्तो छ ? तलब भत्ता अन्य संस्थामा भन्दा के फरक छ ?
– पहिला व्यक्तिको जागिरको पहिलो रोजाई नै बैंक थियो भने हाल बैंकका कर्मचारीहरू पनि बीमकमा प्रवेश गर्दैछन् । हजुर आफैं अर्थबीमाको सम्पादक, बीमाको विश्लेषक आफैं जानकार हुनुहुन्छ । यसको मतलब बीमा क्षेत्र हाल आकर्षणको केन्द्र बनेको छ ।
भोजराज शर्मा, प्रमुख कार्यकारी अधिकृत इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपाल लि. एवं बीमा विज्ञ