काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा दाबी भुक्तानीका क्रममा कुनै समस्या, अनियमितता वा कानुनविपरीत गतिविधि भएको भए प्रमाणसहित उजुरी दिन सम्बन्धित सबै सरोकारवालालाई आग्रह गरेको छ।
प्राधिकरणले शुक्रबार सूचना जारी गर्दै बीमाको दायित्व निर्धारण तथा दाबी भुक्तानी प्रक्रियामा केही बीमा कम्पनी, तिनका कर्मचारी, बीमा सर्भेयर तथा अन्य सम्बन्धित पक्षबाट प्रचलित कानुन, नियामकीय व्यवस्था र व्यावसायिक आचारसंहिताविपरीत कार्य भएको भन्ने गुनासा प्राप्त भइरहेकाले उजुरी आह्वान गरिएको जनाएको हो।
प्राधिकरणका अनुसार दाबी भुक्तानीका क्रममा कुनै बीमक, कर्मचारी, बीमा सर्भेयर वा अन्य पक्षले दुःख दिएको, गलत विवरण तयार गरेको, तथ्य लुकाएको वा तोडमोड गरेको, पक्षपातपूर्ण मूल्यांकन गरेको, अनुचित लाभ लिएको वा अन्य कुनै कानुनविपरीत कार्य गरेको पाइएमा बीमा ऐन, २०७९ बमोजिम कारबाही गरिनेछ।
यस्ता घटनामा संलग्न व्यक्तिविरुद्ध कारबाहीका लागि सम्बन्धित प्रमाणसहित उजुरी पेस गर्न प्राधिकरणले अनुरोध गरेको छ।
उजुरी दिँदा उजुरीकर्ताको नाम, ठेगाना, सम्पर्क नम्बर, सम्बन्धित बीमा कम्पनीको नाम, समस्याको विवरण, बीमा दाबी नम्बर, बीमालेख नम्बर तथा घटनालाई पुष्टि गर्ने कागजात, फोटो, भिडियो वा अन्य प्रमाण संलग्न गर्नुपर्ने प्राधिकरणले जनाएको छ।
उजुरी नेपाल बीमा प्राधिकरणको दर्ता शाखामा प्रत्यक्ष बुझाउन वा हुलाकमार्फत ललितपुर महानगरपालिका–१०, कुपण्डोलस्थित केन्द्रीय कार्यालयमा पठाउन सकिनेछ।
प्राधिकरणले प्राप्त उजुरी तथा प्रमाणको गोपनीयता कायम राख्दै बीमा ऐन, २०७९ तथा अन्य प्रचलित कानुनबमोजिम अनुसन्धान गरी आवश्यक कारबाही प्रक्रिया अघि बढाइने जनाएको छ।