free website hit counter

बीमा पोलिसी सरेन्डरको दर डरलाग्दो

beemaadmin
२०८० मंसिर ३०, शनिबार

काठमाडौं । नेपाली बीमा बजारमा दक्ष जनशक्तिको अभावस्वरुप त्यसको प्रत्यक्ष्य असर बीमा पोलिसी सरेन्डरको दरले देखाएको छ । अभिकर्ताले क्षणिक लाभका लागि गराएको बीमा नै बीमकहरुका लागि सबैभन्दा ठूलो समस्या बन्न पुगेको छ । बीमा प्राधिकरणले बीमालेख सरेन्डर रोक्न बीमालेख जारी र अभिकर्ता छनोटमा नीतिगत कडाइ गरे पनि सरेन्डर रोक्ने क्रम घटेको छैन। प्राधिकरणले जीवन बीमासम्बन्धी निर्देशिका जारी गरेर बीमितले तीन वर्षसम्म पोलिसी सरेन्डर गर्न नपाउने व्यवस्था लागू गरेको छ। यद्यपि, पोलिसी त्याग गर्नेहरूको संख्या भने बढ्दो छ। पछिल्लो समय बीमालेख सरेन्डर गर्नेको संख्या निरन्तर बढ्न थालेको तथाङ्कले देखाउँछ। यसअनुसार पछिल्लो २८ महिनामा बीमितले २३ अर्ब ३९ करोडको बीमा पोलिसी सरेन्डर गरेका छन्। प्राधिकरणको तथ्यांकअनुसार २८ महिनामा बीमितले २३ अर्ब ३९ करोड रुपैयाँबराबरको २ लाख ४२ हजार १२९ वटा पोलिसी सरेन्डर गरेका हुन्। आर्थिक वर्ष २०७७–०७८मा बीमितले ९ अर्ब ८८ करोड १४ लाख रुपैयाँको पोलिसी सरेन्डर गरेका थिए। बीमितले ९ अर्ब ८८ करोड १४ लाख रुपैयाँबराबरको ६३ हजार ३३१ वटा पोलिसी सरेन्डर गरेका थिए। आर्थिक वर्ष २०७८–०७९मा बीमितले १२ अर्ब १८ करोड ८ लाख रुपैयाँको पोलिसी सरेन्डर गरेका थिए। उक्त वर्ष १२ अर्ब १८ करोड ८ लाख रुपैयाँबराबरको ८१ हजार ८६० वटा पोलिसी सरेन्डर भएको थियो। त्यसैगरी, आर्थिक वर्ष २०८०–०८१ को चार महिना कात्तिकसम्ममा १ अर्ब ३३ करोडको बीमा पोलिसी सरेन्डर भएको छ। सोही अवधिमा बीमितले १ अर्ब ३३ करोडको ९६ हजार ९३८ वटा पोलिसी सरेन्डर गरेका छन्।
बीमा कम्पनीहरुमध्ये नेपाल लाइफ इन्स्योरेन्सको सरेन्डर सर्वाधिक देखिएको छ। पछिल्लो चार महिनामा कम्पनीको ३२ हजार १२६ पटकमा ४७ करोड ८८ लाख रुपैयाँको पोलिसी सरेन्डर भएको छ। अघिल्लो दुई वर्षमा मात्रै कम्पनीको ५ अर्बबराबरको ५६ हजार पटकको सरेन्डर भएको छ। त्यसैगरी, लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल)को बीमा पोलिसी सरेन्डर दोस्रो नम्बरमा देखिएको छ। चालू आवको कात्तिकसम्म बीमितले २० हजार १८० पटकमा ३५ करोड ११ लाख रुपैयाँको पोलिसी सरेन्डर गरेका छन्। अघिल्लो दुई वर्षमा बीमा ३२ हजार पटकको सरेन्डर हुँदा ६ अर्ब बढीको सरेन्डर भएको छ। कम्पनीको व्यवसाय नै ठूलो हुँदा सरेन्डर धेरै देखिएको नेपाल लाइफ इन्स्योरेन्सका सूचना अधिकारी बिनोदकुमार भुजेल बताउँछन्। अभिकर्ताले मिस सेलिङ गर्दा पनि पोलिसी सरेन्डर हुने गरेको उनले बताए। बीमा ऐनको छिद्र हेरेर कतिपय अभिकर्ताले कमिसन खाने गरेको उनको भनाइ छ। त्यसले पनि पोलिसी सरेन्डरमा योगदान गरेको उनले बताए। अभिकर्ताले कमिसन पाउने, विभिन्न स्किम पाउने, बोनस पाउने जस्ता कारणले बिजनेस तान्ने र त्यसपछि सरेन्डर गरिदिने परिपाटी समेत रहेको उनको भनाइ छ। अहिले प्राधिकरणले तीन वर्ष नपुगी पोलिसी सरेन्डर गर्न नपाउने व्यवस्थाले सरेन्डर निरुत्साहन हुने भुजेलको विश्वास छ। अर्थतन्त्रमा आएको संकुचनका कारण बीमितको प्रिमियम तिर्ने क्षमतामा कमी आउनु, प्रलोभनमा पारेर बीमा गराउनुलगायत कारणले पोलिसी सरेन्डर हुने क्रम बढेको हो।
पछिल्लो तीन महिनामै गत वर्षभन्दा धेरै बीमालेख सरेन्डर भएको छ। यसले पनि बीमालेख सरेन्डर घट्नुको साटो बढ्न थालेको प्रस्ट हुन्छ। प्राधिकरणले पोलिसी सरेन्डरको क्रमलाई निरुत्साहन गर्न विभिन्न नीतिगत व्यवस्थाहरू गरेको छ । तर, त्यसले पनि सरेन्डरको अनुपात भने अपेक्षित रुपमा घटाउन नसकेको प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेल बताउँछन्। पौडेल पोलिसी सरेन्डर जुनसुकै देशमा पनि हुने र अन्यको तुलनामा नेपालमा कम रहेको बताउँछन्। प्राधिकरणले गत भदौमा बीमा अभिकर्ता, सर्भेयर र दलालसम्बन्धी व्यवस्था गरेको थियो। उक्त व्यवस्थामा अभिकर्ताले लाइसेन्स लिन अनलाइन परीक्षा दिनुपर्ने प्रावधान समेत राखिएको छ। त्यसैगरी, एउटा अभिकर्ता धेरै बीमकको अभिकर्ता बन्न नपाउने व्यवस्था गरिएको छ।
आर्थिक स्रोतको आवश्यकता, अभिकर्ताको कारण र जथाभावी बीमा रकम राख्दा पोलिसी त्याग्नेको संख्या बढेको प्राधिकरण बताउँछ। कतिपय अवस्थामा अभिकर्ताले नै पोलिसी सरेन्डर गराइदिने गरेको समेत देखिएको छ। कार्यकारी निर्देशक पौडेल आर्थिक रुपमा समस्या हुँदा र अभिकर्ताको कारण पोलिसी सरेन्डर गर्ने गरेको बताउँछन्। पछिल्लो समय प्राधिकरणले तीन वर्षसम्म सरेन्डर गर्न नपाउने व्यवस्था गरेका कारण सरेन्डर रेसियो घट्ने उनले बताए।

सम्बन्धित समाचार