free website hit counter

बीमा पोलिसी सरेन्डरको दर डरलाग्दो

beemaadmin
२०८० जेष्ठ ३, बुधबार

काठमाडौं । विश्व आर्थिक मन्दीले नेपालमा पारेको असर, अभिकर्ताको अनविज्ञताले क्षणिक लाभका लागि बाँडिने सपना, बीमाको प्रचारप्रसारको कमी, नियामक निकाय बीमा प्राधिकरणले समस्याको जरो पत्ता लगाउन नसक्नु, बीमकले अभिकर्तालाई पूर्ण ज्ञान दिन नसक्नु, बीमालेखको गलत बिक्री हुनु, गलत दाबी भुक्तानी पर्नु, बीमा दाबी भुक्तानीका लागि हुने अपराध, कोरोना बीमाको दाबी भुक्तानीमा देखिएको अनिश्चितताले समग्र बीमा क्षेत्रप्रति आम नागरिकमा बनेको धारणा, अर्धशिक्षित अभिकर्ताको हावी, बीमकको जोखिम मूल्यांकनले निम्त्याएका सामाजिक समस्याहरु, बीमा प्राधिकरणले अभिकर्ताको लाइसेन्स परीक्षा आफैं लिन नसक्नु, नियामक निकायले निर्देशन मात्रै दिने र समाधानका उपाय नदिँदा बीमा क्षेत्रमा पोलिसी सरेन्डरको दर डरालाग्दो गरी उकालो लागेको छ । बीमा व्यवसायलाई चुस्त बनाउन यी विषयमा बीमक र नियामक निकाय स्पष्ट हुन जरुरी हुन्छ । पछिल्ला समयमा जीवन बीमा पोलिसी धमाधम त्याग्नेक्रम बढेको छ । चैतसम्ममा मात्रै ९ हजार ३५८ जना बीमितले एक अर्ब १८ करोड ६ लाख रुपैयाँ बराबरको बीमा पोलिसी सरेन्डर गरेका छन् । नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार सबैभन्दा बढी पोलिसी त्याग्नेमा नेपाल लाइफ इन्स्योरेन्सका बीमितहरु रहेका छन् । गत साउनदेखि चैतसम्ममा नेपाल लाइफका २ हजार ६९८ जना बीमितले ४२ करोड २२ लाख रुपैयाँ बराबरको बीमापोलिसी सरेन्डर गरेका छन् । त्यस्तै, लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल)को १८ करोड ३७ लाख, राष्ट्रिय बीमा संस्थानको १० करोड ५६ लाख र सूर्यज्योति लाइफ इन्स्योरेन्सको १० करोड ४८ लाख रुपैयाँ बराबरको पोलिसी सरेन्डर भएको छ । यी तीन कम्पनीका क्रमशः १५५५, १४२३ र ५२१ जना बीमितले तोकिएको समयअघि नै पोलिसी रोकेका हुन् । समीक्षा अवधिमा सबैभन्दा कम बीमा पोलिसी सरेन्डर हुनेको सूचीमा सन नेपाल लाइफ रहेको छ । इन्स्योरेन्सका ३१ जना बीमितले कूल ३२ लाख रुपैयाँ बराबरको बीमालेख सरेन्डर गरेका छन् । यस्तै, नेशनल लाईफ इन्स्योरेन्सको ७ करोड ७३ लाख, मेट लाइफको ५ करोड ५८ लाख, एशियन लाइफको ४ करोड २२ लाख, गुराँस लाइफको ७ करोड ८६ लाख, प्राइम लाइफको २ करोड ८३ लाख, आइएमई लाइफको १ करोड २४ लाख, युनियन लाइफको २ करोड ३२ लाख, रिलायबल नेपाल लाइफको ७५ लाख, सिटिजन लाइफको १ करोड ३४ लाख, प्रभु लाइफको ५४ लाख र महालक्ष्मी लाइफको ७१ लाख रुपैयाँ बराबरको बीमा पोलिसी सरेन्डर भएका छन् ।

सम्बन्धित समाचार