काठमाडौं । कोरोना संक्रमणबाट नेपालको बीमा क्षेत्रमा लामो समय बिताएका अनिल ढुंगेलको निधन भएको छ । बीमा प्रशासक ढुंगेलको गए राति साढे ११ बजे निधन भएको उनको बताइएको छ । उनका श्रीमती, एक छोरा र एक छोरी छन् । एभरेष्ट इन्स्योरेन्समा लामो समय काम गरेका ढुंगेल गत साता कोरोना संक्रमित भएका थिए । चार्टर्ड एकाउन्टेन्ट अध्ययन गरेका ढुंगेल एभरेष्ट इन्स्योरेन्समा फाईनान्स प्रमुखका रुपमा कार्यरत थिए । उनी विवादित दावी भुक्तानी काण्डमा परेर मुद्दा लडिरहेका थिए । यद्यपि सर्वोच्च अदालतले उनकै पक्षमा फैसला सुनाएको थियो । गत साता अचानक ज्वरो आएसँगै अक्सिजनको मात्रा कम देखिएपछि उनलाई ललितपुरको स्टार हस्पिटलमा भर्ना गरिएको थियो । त्यहाँ उनको कोरोना संक्रमण पुष्टि भएको थियो । उच्च रक्तचाप, मधुमेहबाट ग्रसित ढुंगेललाई शुक्रबार र शनिबार दुई पटक हृदयघात भएपछि मृत्यु भएको जनाइएको छ ।