काठमाडौं । नियामक निकाय नेपाल बीमा प्राधिकरणले पोलिसी ल्याप्स र सरेन्डरको दर बढ्दै गएपछि त्यसको कारण खोज्दै छ । तर सरेन्डरको दर बढिनै रहेको छ । पोलिसी ल्याप्स र सरेन्डरको दर बढ्दै गएको भन्दै प्राधिकरणले तीन वर्ष पछि मात्रै बीमालेख धितोमा ऋण दिन तथा बीमालेख समर्पण (त्याग्न) गर्न सकिने व्यवस्था सहित जीवन बीमा सम्बन्धी निर्देशिका २०७८ जारी गरे पनि त्यो निर्देशिकाको प्रभाव देखिएको छैन । प्राधिकरणले अघिल्लो वर्षको असार १७ गते पनि एक निर्देशिका जारी गर्दै बीमालेख अन्तगर्त समर्पण मूल्य र बीमालेख धितोमा कर्जा दिँदा दुईवर्ष पुरा भएपछि मात्र दिन सकिने व्यवस्था गर्न निर्देशन दिएको थियो । तर एकल बीमालेखको हकमा भने बीमालेख जारी भएको एक वर्षपछि ऋण तथा समर्पण मूल्य प्रदान गर्न सकिने व्यवस्था प्राधिकरणले गरेको थियो । त्यस्तो व्यवस्थालाई परिवर्तन गर्दै प्राधिकरणले जीवन बीमालेख सम्बन्धी निर्देशिका २०७८ जारी गर्दै एकल बीमालेखको हकमा पनि बीमालेख जारी भएको तीन वर्षपछि ऋण तथा समर्पण मूल्य प्रदान गर्न सकिने व्यवस्था गरेको हो । यस्तो व्यवस्थाले पोलिसी ल्याप्स र पोलिसी सरेन्डरको दर घट्ने बीमा प्राधिकरणको बुझाई छ । बीमा अभिकर्ताहरुले कमिशनको लोभमा जवरजस्ती बीमा गराउँदा बीमितहरुले बीमालेख त्याग्ने गरेको बीमा प्राधिकरणको भनाई छ । बीमा गरेपछि बीमितहरुले निश्चित समय अवधि भित्र बीमालेख नविकरण शुल्क भुक्तानी गर्नु पर्नेहुन्छ । बीमा कम्पनीहरुले बीमितहरुको लागि मासिक, त्रैमासिक, अर्धवार्षिक वा वार्षिक रूपमा पनि आफ्नो बीमालेख नवीकरण गर्ने प्रावधान रहेको छ । तोकिएको अवधिभित्र नवीकरण शुल्क बुझाउन आर्थिक समस्या भएपछि बीमितहरुले पोलिसी त्याग्ने गरेका हुन् ।
चालु आर्थिक वर्षको पाँच महिनासम्ममा बीमितहरुले साढे ५ अर्ब रुपैयाँ भन्दा बढीको बीमा पोलिसी त्याग (सरेन्डर) गरेका छन् । बीमा प्राधिकरणको तथ्यांक अनुसार चालु आर्थिक वर्षको मंसिरसम्ममा १९ जीवन बीमा कम्पनीका बीमितहरुले ५ अर्ब ५७ करोड ५ लाख रुपैयाँ बराबरको ३० हजार ९३२ वटा बीमालेख सरेन्डर गरेका हुन् । जीवन बीमा कम्पनीहरुका बीमितहरुले साउनमा १ अर्ब १५ करोड २७ लाख रुपैयाँ बराबरको ८ हजार ४२२ वटा, भदौमा १ अर्ब १४ करोड ८६ लाख रुपैयाँ बराबरको ८ हजार ५२ वटा, असोजमा ७७ करोड ३२ लाख रुपैयाँ बराबरको ६ हजार ६३ वटा बीमालेखहरु त्याग गरेका हुन् । यस्तै कात्तिकमा १ अर्ब ११ करोड ९७ लाख रुपैयाँ बराबरको ६ हार ७४६ वटा र मंसिरमा १ अर्ब १ करोड ६२ लाख रुपैयाँ बराबरको ७ हजार ६५० वटा बीमालेख बीमालेखहरु बीमितले त्याग गरेका छन् ।
चालु आर्थिक वर्षको मंसिरमा मात्रै बीमितहरुले जीवन बीमा कम्पनीहरुका १ अर्ब १ करोड ६२ लाख रुपैयाँ बराबरको ७ हजार ६५० वटा बीमालेखहरु त्याग गरेका छन् । सबैभन्दा धेरै पोलिसी त्याग्नेमा नेपाल लाइफ इन्स्योरेन्सका बीमितहरु रहेको छन् । मंसिर महिनामा कुल सरेन्डर भएको बीमा पोलिसी मध्ये ३२।३१ प्रतिशत अर्थात २ हजार ४७२ वटा बीमालेख वापत ३३ करोड १ लाख ९८ हजार रुपैयाँ बराबरको पोलीसी सरेन्डर भएको हो । नेपाल लाइफपछि प्राइम लाइफ इन्स्योरेन्सको धेरै बीमालेखहरु सरेन्डर भएका छन् । प्राइमको ८ करोड २३ लाख रुपैयाँ बराबरको १ हजार ४५३ वटा बीमालेखहरु सरेण्डर भएका छन् । यो कुल सरेण्डर पोलिसीको १८.९९ प्रतिशत हो । यस्तै,बीमितहरुले राष्ट्रिय बीमा संस्थानको ७६२ वटा, नेशनल लाइफको ७१० वटा,एलआईसी नेपालको ५७२ वटा, एशियन लाइफको ४८३ वटा, मेट लाइफको २८७ वटा, गुराँस लाइफको १८६ वटा, सूर्या लाइफको १७९ वटा र रिलायवल नेपाल लाइफको १०४ वटा बीमालेख त्याग गरेका छन् । सबै भन्दा कम पोलिसी सरेन्डर हुनेमा सानिमा लाइफ इन्स्योरेन्स रहेको छ । यस अवधिमा सानिमा लाइफको २६ वटा पोलिसीहरु मात्रै सरेन्डर भएका छन् ।