काठमाडौं । बीमा समितिले स्थानीय निकायसँग बीमासम्बन्धी जनचेतना तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ । समितिले बीमा समितिका निर्देशक दिनेश कुमार लालको संयोजकत्वमा जलेश्वर नगरपालिकाबाट बीमा सचेतना कार्यक्रम सुरु गरेको हो । कार्यक्रमको प्रमुख अतिथि जलेश्वर नगरपालिकाका प्रमुख राम शंकर मिश्रले जवसम्म बीमा समितिले स्थानिय निकायसँग समन्वय गर्दैन तवसम्म बीमाको विस्तार हुन नसक्ने धारणा राखेका थिए । नगरपालिकाको नीति तथा कार्यक्रममा बीमाको सुविधा प्रवाह गर्ने कुरा समावेश गर्न आफुहरु तयार भएको भन्दै मिश्रले आगामी दिनमा बीमालाई जोड दिने बताए ।
कार्यक्रमको सभापतित्व समितिका निर्देशक दिनेश कुमार लालले गरेका थिए भने नगरपालिकाका सम्पुर्ण वडा अध्यक्ष तथा सदश्य सहित ५० जना भन्दा धेरै पदाधिकारीको उपस्थिति थियो । अन्तर्क्रिया कार्यक्रममा स्थानिय निकायमा रहेका बीमा कम्पनी तथा बैंकका शाखा कार्यालयका प्रमुखहरु, विभिन्न पेशा व्यवसायमा संलग्न व्यक्तिहरु सहित सर्वसाधारणको सहभागिता थियो । कार्यक्रमको स्वागत मन्तव्य बीमा समितिका सहायक निर्देशक पुर्ण बहादुर थापाले दिएका थिए ।
बीमा समितिले स्थानीय निकायलाई कृषि बीमा, पशुपन्छि बीमा, सम्पत्ती बीमा, जीवन बीमालाई स्थानीय निकायले आफ्नो सेवा सँग जोडेर अगाडि बढ्न अनुरोध गरेको छ । पछडिएका, न्युन आय भएका वर्ग, किसान, महिला, विभिन्न पेसा व्यवसायमा लागेका व्यक्तिहरु, उद्योगी व्यापारी लगात सबैलाई फाइदा हुने भन्दै समितिले बीमा गर्न सबैलाई अनुरोध पनि गर्यो । कार्यक्रम संयोजक निर्देशक लालले सहभागिलाई बीमा भनेको के हो, बीमाको प्रकार, बीमा सम्बन्धी सरकारले गरेका व्यवस्थाका विषयमा प्रकाश पारेका थिए । त्यस्तै सम्पत्तीको बीमा गर्दा आयमा ५ हजार र जीवन बीमा गर्दा २५ हजार रुपैयाँसम्म छुट हुने र बीमा गर्दा हुने फाइदाका विषयमा जानकारिमुलक प्रस्तुतिकरण दिएका थिए ।