साताको अन्तिम दिन बिहिबार नेप्से सूचक १२ अंकले बढेर दुई हजार ६३१.९० बिन्दुमा पुगेको छ । चैतको तेस्रो हप्तासम्म आइपुग्दा नेप्सेमा झण्डै १८० अङ्कको उछाल आइसकेको छ । नेप्से यस अधिको उचाइ नजिक पुगेको अवस्था हो अहिले । चैतमा शेयरबजार घट्छ भन्ने परम्परागत सोचलाई यस बर्ष सेयर बजारले चिर्दै बजार लयमा फर्किएको देखिएको छ ।
चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा सेयर बजारमा सूचीकृत कम्पनीहरूको प्रगति अपेक्षा गरिएको भन्दा राम्रो आउनुले तेस्रो त्रैमासको रिपोर्ट पनि राम्रो आउने अपेक्षाले गर्दा बजारमा रौनक देखिएको छ । तर बजारमा कारोबार भएका कतिपय कम्पनीहरूको सेयर मूल्य भने सो कम्पनीले दिनसक्ने प्रतिफलको तुलनामा अस्वभाविक रुपमा बढेको देखिन्छ । यस्तो अवस्थामा लगानीकर्ता निकम्मा कम्पनीको सेयरमा उच्च मूल्य तिरेर फस्ने खतरा भने बढेको छ । यस्तो अवस्थामा लगानीकर्ताल बजारमा छिर्दा थप सजगता चाहिने अवस्था आएको छ ।
हरेक बर्ष बोनस, र लाभांस विवतर पश्चात् फागुन चैतमा बजार केही घटने परिपाठी यस बर्ष भने तोडिएको झै देखिएको छ । चैत्रमा व्याजको प्रेसर अनि तरलताको अभावका कारण व्याजदर बढने र त्यसको नकारात्मक प्रभाव बजारमा देखिने अनुमान खासै कारगर हुन सकेको देखिदैन । बजार बढोत्तरी देखिए तापनि नेपाली सेयर बजारमा वर्चस्व बनाएर बसेको बैंक तथा वित्तीय सस्थाहरूको सेयरमा भने खासै उछाल आउन सकेको नदेखिनुले भने हालको बढोत्तरी दिगो होला भन्ने अनुमान गरिहाल्नु छिटो हुने देखिन्छ ।
बैंक तथा वित्तीय सस्थाहरूको निक्षेपको तुलनामा कर्जा लगानी विस्तार हुनु, सेयर कर्जा अझै सहज हुनु, बीमा कम्पनीहरूका बीमा लेख विक्रीमा उल्लेख्य सुधार आएको तथ्याङ्कहरूले पनि बजारलाई केही सकारात्मक बनाउन सहयोग पुर्याएको देखिन्छ । तर बजार तत्काल निकै माथि गइहाल्ने अवस्था भने देखिदैन । सेयर बजारलाई अब माथि लाने कारक तत्वको रुपमा हाल जलविद्युत क्षेत्रका सेयरहरू देखिएका छन भने अबका दिनहरूमा बीमा क्षेत्रका सेयरहरूले बजारलाई राहत पुर्याउने अनुमान गर्न सकिन्छ । बैंक तथा वित्तीय सस्थाहरूको चालु आर्थिक बर्षको नौ महिनाको रिपोर्ट आउन अझै केही समय कुर्नुपर्ने हुन्छ तर बीमा कम्पनीहरूले चालु आर्थिक बर्षको आठ महिना (फागुन ०७७) सम्म गरेको प्रगति निकै आकर्षक देखिन्छ ।
चालु आर्थिक बर्षको पहिलो आठ महिनामा नेपालमा सञ्चालित बीमा कम्पनीहरूको बीमा शुल्क आर्जनमा उल्लेख्य प्रगति देखिनुले आगामी दिनहरूमा बीमा क्षेत्रमा उछाल आउने अनुमान भने गर्न सकिन्छ । पहिलो आठ महिनामा एक खर्ब २ अर्ब ४० करोड बीमा शुल्क आजर्न भएको तथ्याङ्क सार्वजनिक भएको छ । सञ्चालित सबै बीमा कम्पनीले बीमा शुल्कमा बृध्दि गर्न सफल भएको पाइन्छ । जीवन बीमा कम्पनीहरूको हकमा ८२ अर्ब बीमा शुल्क आर्जन भएको छ जुन गत बर्षको सोही अवधिको ६० अर्ब २२ करोडको तुलनामा ३६ दशमलब ५० प्रतिशतको बृध्दि देखिएको छ ।
त्यसैगरी निर्जिबन बीमा कम्पनीहरूको हकमा बीमा शुल्क आर्जन १२ दशमलब ९८ प्रतिशतले बढेर २० अर्ब २० करोड पुगेको छ । पुन अधिल्लो बर्षको सोही अवधिमा १७.८८ अर्ब मात्र रहेको थियो । बीमा शुल्क आर्जनमा उल्लेख्य प्रगति भए तापनि बीमा कम्पनीहरूले आफ्नो कोषको सही र उचित उपयोग गर्दै आर्जन गर्ने रकममा भने केही सिथिलता आउने निश्चित छ ।
बीमा कम्पनीहरूले हाल बैंकको मुद्दती निक्षेपमा गर्ने लगानीको व्याजदरमा कमी आउने । निर्जिबन बीमा कम्पनीहरूले कोभिड लगायतका क्षेत्रमा उच्च भुक्तानी गर्नु परेको अवस्थाले आगामी दिनमा नाफामा उच्च सुधार हुने आशा भने गर्न गा¥हो छ । तर जीबन तथा निर्जिबन बीमा कम्पनीहरूको चुक्ता पुँजी बृध्दिको चर्चा पुनः चुलिएकोले सो समूहको सेयरमा लगानीकर्ताको आकर्षण भने कायमै रहने देखिएको छ ।
सेयर बजारमा भनिन्छ बजार सघै सही नै हुन्छ । त्यसलाई बुझ्न र सही तरिकाले लगानी गर्न नसक्नु लगानीकर्ताकै गल्ती हो । त्यसैले बजारमा हाल खरिद योग्य सेयरहरू प्रसस्तै देखिन्छन् भने कतिपय सेयरहरू प्रतिफल दिने हिसाबले चर्को मूल्यमा कारोबार हुन थालिसकेको अवस्था हो अहिले यस्तो अवस्थामा लगानीकर्ताले थप चनाखो हुँदै लगानीको निर्णय गर्नुपर्ने हुन्छ ।