काठमाडौं । नेपाल बीमा प्राधिकरणले ‘बीमा सर्भेयरसम्बन्धी निर्देशन, २०८३’ जारी गर्दै बीमा सर्भेयर क्षेत्रमा विदेशी लगानीको दायरा विस्तार गरेको छ। नयाँ व्यवस्थाअनुसार नेपालमा सर्भेयरको संगठित संस्था स्थापना गर्न चाहने विदेशी सर्भेयरले कुल चुक्तापुँजीको अधिकतम ८० प्रतिशतसम्म लगानी गर्न पाउनेछन्।
वैशाख १७ गते जारी निर्देशनको दफा १९(१) अनुसार विदेशी सर्भेयरले नेपालमा शाखा कार्यालय खोल्न वा संयुक्त लगानीमा कम्पनी स्थापना गरी सेवा सञ्चालन गर्न सक्नेछन्।
त्यसैगरी, दफा १९(२) ले प्राधिकरणबाट इजाजत प्राप्त नेपाली सर्भेयरसँग सहकार्य गर्दै स्थापना हुने संस्थामा विदेशी सर्भेयरले ८० प्रतिशतसम्म सेयर धारण गर्न सक्ने स्पष्ट व्यवस्था गरेको छ।
पूर्वस्वीकृति लिएर स्थापना भएका यस्ता संस्थाले बीमा सर्भेयरको इजाजतपत्र लिन प्राधिकरणमा आवेदन दिनुपर्नेछ। आवेदनका क्रममा दर्ता प्रमाणपत्रको प्रतिलिपि, प्रबन्धपत्र तथा नियमावली, सम्भाव्यता अध्ययन प्रतिवेदन, प्रमुख कार्यकारीको विवरण र योग्यता सम्बन्धी कागजातहरू पेश गर्नुपर्ने व्यवस्था गरिएको छ।
निर्देशनले संयुक्त सर्भे कार्यलाई पनि समेटेको छ। विदेशी पुनर्बीमकको अनुरोध वा विशेष दक्षता आवश्यक परेको अवस्थामा नेपाली र विदेशी सर्भेयरले संयुक्त रूपमा सर्भे गर्न सक्नेछन्, तर त्यसका लागि प्राधिकरणको पूर्वस्वीकृति अनिवार्य हुनेछ।
यसरी सम्पन्न गरिएको संयुक्त सर्भेको प्रतिवेदन भने प्राधिकरणको आईआरएमएस प्रणालीमा अपलोड गरी पेश गर्नुपर्ने प्रावधानसमेत राखिएको छ।