free website hit counter

बुटवलमा मेगाको आफ्नै भवन

beemaadmin
२०७६ फाल्गुन ३०, शुक्रबार

काठमाडौं । देशभर बैकिङ पहुँच पुर्याउने अभियानमा रहेको मुलुककै ठूलो बैंक मेगा बैंक नेपाल लिमिटेडले रुपन्देही जिल्लाको बुटवलमा रहेको आफ्नै जग्गामा निर्मित भवनको उद्घाटन गरेको छ । भवन उद्घाटनको अवसरमा मिलनचोक स्थित आफ्नै अत्याधुनिक भवनबाट बुटवलकै पुष्पलाल पार्कमा हाल सञ्चालनमा रहेको बैंकको शाखा कार्यालयलाई स्थानान्तरण गरिएको हो । यसै अवसरमा बैंकको प्रदेश नम्बर ५ को प्रादेशिक कार्यालय पनि उक्त नवनिर्मित भवनबाटै सञ्चालन गरिएको छ । प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले बिहीबार एक समारोहका बीच भवनको उद्घाटन गरे ।

मेगा बैंकले आफ्नै भवनबाट सञ्चालन हुने गरी पहिलो प्रादेशिक कार्यालयका लागि प्रदेश नम्बर ५ लाई रोजेकोमा खुसी व्यक्त गर्दै मुख्यमन्त्री पोखरेलले धन्यवाद व्यक्त गरे । अन्य प्रदेशको तुलनामा प्रदेश नम्बर ५ आर्थिक र औद्योगिक हिसाबले अगाडि रहेको भन्दै मुख्यमन्त्री पोखरेलले बैंकिङ क्षेत्रसँगको सहकार्यका लागि प्रदेश सरकार तत्पर रहेको बताए । कार्यक्रममा मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले बुटवलमा मेगा बैंकले आफ्नै जमिनमा अत्याधुनिक भवन निर्माण गरी सञ्चालनमा ल्याएकोमा खुसी लागेको बताए । मेगा बैंकको पञ्चवर्षिय रणनीतिक कार्ययोजना अनुसार आफ्नै भवन निर्माण कार्यलाई अन्य प्रदेशमा पनि तीव्रता दिइने उनले बताए ।

यस क्षेत्रका जनताको बैंकिङ पहुँच वृद्धि गर्न प्रदेश सरकारसँग हातेमालो गर्न मेगा बैंक तयार रहेको भन्दै अध्यक्ष शाहले रोजगारमूलक एवं उत्पादनमूलक क्षेत्रमा गरिने लगानीको पनि बढोत्तरी गर्ने लक्ष्य रहेको बताए । ‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने सरकारी नारालाई साकार पार्न कृषि, पर्यटन, भौतिक पूर्वाधार, जलविद्युत, शिक्षा, स्वास्थ्य क्षेत्रका उद्यमी व्यावसायीसँग हातेमालो गर्न मेगा बैंक तयार रहेको भन्दै उनले सहकार्यका लागि आह्वान पनि गरे । सन्तुलित मुनाफा आर्जनलाई ध्यानमा राखेकाले मेगा बैंकको वर्तमान सुदृढ, सबल रहेको तथा भविष्य उज्जवल रहेको अध्यक्ष शाहले बताए ।

मेगा बैंककी सिइओ अनुपमा खुञ्जेलीले बैंकको आफ्नै भवन निर्माण भएपछि ग्राहकहरुलाई प्रदान गरिने सेवा, सुविधा लगायत कारोबारमा थप सहज हुने भन्दै उहाँले तत्कालिन पश्चिमाञ्चल विकास बैंकसँगको मर्जरदेखि नै प्रदेश नम्बर ५ मा मेगा बैंकको कारोबार उत्साहजनक भएकोमा अब गण्डकी विकास बैंक गाभिएपछि झन दरिलो उपस्थिति हुने बताउनुभयो । मेगा बैंक ‘बैंक अफ दि एयर २०१९’ बाट सम्मानित हुनुमा प्रदेश ५ का ग्राहकवर्ग, कर्मचारी र सरोकारवालाहरुको पनि श्रेय रहेको भन्दै उहाँले आभार व्यक्त गरिन् । ग्राहकको विश्वास जित्दै अघि बढिरहेकाले मेगा बैंकले बैंकिङ कारोबारसँगै वित्तीय साक्षरता र परोपकारी कार्यलाई पनि प्राथमिकता दिएको सिइओ खुञ्जेलीले बताइन् ।

सम्बन्धित समाचार