काठमाडौं । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ८ लाख ६३ हजार २०० कित्ता शेयर सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो।
कम्पनीले कुल २० करोड ८० लाख रुपैयाँ बराबरको २० लाख ८० हजार कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो। यसमध्ये कर्मचारी, सामूहिक लगानी कोष, वैदेशिक रोजगारीमा रहेका नेपाली तथा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि छुट्टाइएको शेयर निष्कासन तथा बाँडफाँट सम्पन्न भइसकेपछि बाँकी शेयर सर्वसाधारणका लागि बिक्री खुला गरिएको हो।
सर्वसाधारणले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। आईपीओमा छिटोमा भदौ २५ गतेसम्म र ढिलोमा असोज ५ गतेसम्म आवेदन दिन सकिनेछ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखामार्फत आवेदन दिन सक्नेछन्। साथै, मेरो शेयरमार्फत पनि आवेदन दिन सकिनेछ।
कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ।
इक्रा नेपालले कम्पनीलाई ‘इक्रा आईआर डबल बी प्लस’ रेटिङ प्रदान गरेको छ। उक्त रेटिङले कम्पनीको वित्तीय दायित्व समयमै पूरा गर्ने क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्छ।