काठमाण्डौ । केही वाणिज्य बैंकहरुको अभ्यासलाई हेर्ने हो भने निक्षेपको ब्याजदर भविष्यमा क्रमशः बढ्नसक्ने देखिएको छ ।
मंसिरको तुलनामा पुसमा निक्षेपको ब्याजदर घटाउने भन्दा बढाउने बैंकको संख्या बढी देखिएको हो । यसले ब्याजदरको बढ्दो प्रवृतितर्फ संकेत गरेको छ । मंसिरको तुलनामा पुसमा ब्याजदर बढाएर प्रकाशित गर्ने बैंकहरुमा प्राइम कमर्सियल बैंक, कृषि विकास बैंक र एनएमबि बैंक रहेका छन्। घटाउनेमा चाहिँ नेपाल बैंक र एनआईसी एशिया बैंक रहेका छन् । लक्ष्मी सनराइज बैंक, कुमारी बैंक, सिटिजन्स बैंक, ग्लोबल आईएमई बैंक, सिद्धार्थ बैंक, माछापुच्छ्रे बैंक, नेपाल एसबीआई बैंक, एभरेष्ट बैंक, प्रभू बैंक, राष्ट्रि«य वाणिज्य बैंक, स्ट्याण्डर्ड चार्टर्ड र हिमालयन बैंकले मंसिरकै ब्याजदरलाई पुसका लागि पनि निरन्तरता दिएका छन् ।
कतिले बढ्यो ब्यादजर
प्राइम कमर्सियल बैंकले पुस १ गतेदेखि लागू हुने गरी बैंकले व्यक्तिगत मुद्दति निक्षेपतर्फ ३ देखि ६ महिनाको ब्याजदर ५.५० प्रतिशत, ६ महिनादेखि १ वर्षसम्मको ब्याजदर ५.७५ प्रतिशत, १ वर्षे अवधिको ब्याजदर ६ प्रतिशत र १ वर्षभन्दा बढी अवधिको मुद्दति निक्षेपको ब्याजदर ६.२५ प्रतिशत तोकिएको छ । मंसिरमा ३ देखि ६ महिने अवधिको मुद्दति निक्षेपको ब्याजदर ४.५० प्रतिशत, ६ महिनादेखि १ वर्षे अवधिको ४.७५ प्रतिशत र १ वर्षभन्दा बढी अवधिको ब्याजदर ५.७५ प्रतिशत रहेको थियो । एनएमबि बैंकले व्यक्तिगत मुद्दति निक्षेपतर्फको अधिकतम ब्याजदर ५.५७ प्रतिशतबाट बढाएर ६.६ प्रतिशत पुर्याएको छ । यस्तै, संस्थागततर्फको ब्याजदर ४.५७ प्रतिशतबाट बढाएर ५.६ प्रतिशत पुर्याएको छ । यसरी हेर्दा एनएमबिले १८.४९ प्रतिशतले निक्षेपको ब्याजदर बढाएको देखिएको छ। कृषि विकास बैंकले व्यक्तिगततर्फको मुद्दति निक्षेपको अधिकतम ब्याजदर ५.५३६३ लाई बढाएर ५.५७ प्रतिशत पुर्याएको छ । संस्थागततर्फ यथावत राखेको छ ।
कति घट्यो ब्यादजर
एनआईसी एशिया बैंकले मंसिरको तुलनामा पुसमा निक्षेपको ब्याजदर घटाएको छ । व्यक्तिगत मुद्दति निक्षेपतर्फ मंसिरमा रहेको ६.७९ प्रतिशतको अधिकतम ब्याजदरलाई घटाएर पुसमा ६.६ प्रतिशतमा झारेको हो । यस्तै, संस्थागतको ५.७९ प्रतिशतलाई घटाएर ५.६ प्रतिशतमा झारेको छ । नेपाल बैंकले ५.९५ प्रतिशत अधिकतम रहेको व्यक्तिगत मुद्दतितर्फको ब्याजदर घटाएर ५.६ प्रतिशतमा सीमित गरेको छ भने संस्थागतर्फको ४.९५ प्रतिशतलाई घटाएर ४.७ प्रतिशतमा झारेको छ ।