free website hit counter

बैंकमा पैसा थुप्रिएपछि घट्यो ब्याजदर

beemaadmin
२०७७ श्रावण २, शुक्रबार

काठमाडौं । तरलताका कारण अब बैंकमा पैसा राखेर ब्याजले घर खर्च चलाउँला भन्ने अवस्था रहेन । बैंकहरुले बचत खाताको ब्याजदर घटाएर ३ देखि ५ प्रतिशत मात्र दिने भएका छन् । बैंकहरूले लगानीयोग्य रकम (तरलता) अधिक भएको भन्दै धमाधम निक्षेपको ब्याज घटाउन थालेपछि सर्वसाधारण नागरिकले सबैभन्दा धेरै राख्ने गरेको बचत खाताको ब्याज घटेर ३ देखि ५ प्रतिशत मात्र दिने भएका हुन् । मूल्य बृद्धि ६ प्रतिशतभन्दा बढी छ । तर बैंकले दिने निक्षेपको ब्याजदर भने त्यसको आधामा आइपुगेको छ । यसले गर्दा बैंकमा राखेको पैसाको ब्याजले घर व्यवहार चलाउन मुस्किल पर्ने देखिएको छ । साउनदेखि सर्वसाधारण नागरिकले बैंकमा राखेको पैसाको कम ब्याज पाउने भएका हुन् । वाणिज्य बैंकहरूले सर्वसाधारण नागरिकले जम्मा गर्ने मुद्दती र बचत खाताकोे ब्याजदर घटाउने निर्णय गरेका छन् । ग्लोबल आइएमइ बैंकले बचतमा ३ देखि ५ प्रतिशत ब्याज दिने भएको छ । सर्वसाधारणको मुद्दतीको ब्याज दर ८।२५ बाट ७।७५ प्रतिशतमा झारेको छ । यसैगरी, एनसीसी बैंकको मुद्दतीतर्फको ब्याज व्यक्तिगततर्फ ७।२५ प्रतिशत र संस्थागतरुपमा ६।५० प्रतिशत छ । त्यस्तै बचतमा न्यूनतम ३ देखि अधिकतम ५ प्रतिशतसम्म ब्याज छ । हिमालयन बैंकले पनि मुद्दति निक्षेपमा व्यक्तिगततर्फ ७.७५ प्रतिशतदेखि २ वर्षे मुद्दति निक्षेपमा ८.२५ प्रतिशतसम्म र संस्थागतमा ७ प्रतिशत बनाएको छ । यस्तै बचतमा न्यूनतम ३.५ प्रतिशतदेखि अधिकतम ५ प्रतिशतसम्म ब्याज बनाएको छ । प्रभु बैंकले पनि मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ७।२५ प्रतिशत र संस्थागततर्फ ६.५० प्रतिशत बनाएको छ । यस्तै बचतमा न्यूनतम १ र अधिकतम ५ प्रतिशत ब्याज रहेको छ । नेपाल एसबीआई बैंकले मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ७.२५ र संस्थागततर्फ ६.५० प्रतिशत ब्याज बनाएको छ । निक्षेपको ब्याजदरसँगै ऋणको ब्याज पनि स्वतह घटने बैंकहरूले बताएका छन् । कोरोना भाइरसका कारण उद्योगी व्यवसायीलाई मर्का परेको गुनासो आएपछि ऋणको ब्याजदर घटाउन दबाब दिइँदै आएको थिए ।

सम्बन्धित समाचार