free website hit counter

बैंकमा सुन राखेर ब्याज

beemaadmin
२०७६ फाल्गुन २३, शुक्रबार

काठमाडौं । बैंकमा सुन निक्षेपको रुपमा राख्न पाइने भएको छ । नेपाली नागरिकसँग रहेको सुन बैंकमा निक्षेपको रुपमा राख्न सकिने गरी नेपाल राष्ट्र बैंकले बाटो खुल्ला गरेको छ । राष्ट्र बैंकले बैंकहरुलाई निर्देशन जारी गर्दै सुन पनि पैसा जसरी नै व्याज दिएर निक्षेपको रुपमा राख्न मिल्ने व्यवस्था गर्न भनेको छ । यसरी सुन निक्षेप लिँदा कम्तिमा ९९५ फिटनेसको सुन मात्रै लिन राष्ट्र बैंकले भनेको छ । ९९५ फिटनेससम्मको सुन भनेको छापावाल वा २४ क्यारेटको सुन मात्रै हो । वाणिज्य बैंकहरुले सुन निक्षेप लिने सम्बन्धमा नीति तथा विस्तृत कार्यविधि बनाइ संचालक समितिबाट पारित गराई लागू गर्नुपर्ने राष्ट्र बैंकले भनेको छ ।

यसरी सुन निक्षेप लिने बैंकले सो निर्णय भएको ७ दिनभित्रमा राष्ट्र बैंकलाई जानकारी गराउनु पर्नेछ । बैंकले निक्षेपको रुपमा प्राप्त भएको सुनलाई आफ्नो ढुकुटीमा दाखिला गरी शुद्धता तथा तौलको आधारमा अलग गरी सुरक्षित तबरले ढुकुटीभित्र राख्ने व्यवस्था मिलाउनु पर्ने राष्ट्र बैंकले भनेको छ । ढुकुटी सुरक्षाको लागि सीसीटिभी क्यामरा, स्ट्रङ रुम, दोहोरो चाबीलगायतका आवश्यक प्रबन्ध मिलाउन पनि राष्ट्र बैंकको निर्देशन छ । यस्तै, बैंकहरुले निश्चित शाखाबाट मात्रै सुन निक्षेप लिने व्यवस्था गर्न सक्नेछन् । तर, यसरी कुन शाखाबाट सुन निक्षेप लिने हो, त्यसको जानकारी सार्वजनिक रुपमा गराउनु पर्ने राष्ट्र बैंकको भनाइ छ । बैंकमा निक्षेपको रुपमा राखिने सुनको परिमाण कम्तिमा २५ ग्राम हुनुपर्ने भनिएको छ । २५ ग्राम सुन भनेको २ तोलाभन्दा बढी हो । सुन निक्षेप राख्न आउने ग्राहकले ल्याएको सुनको शुद्धता परीक्षण गरी प्रमाणपत्र दिने व्यवस्था मिलाउन बैंकहरुलाई भनिएको छ ।

सम्बन्धित समाचार