काठमाडौं । आकर्षक तलब लिएर काम गर्ने बैंक र बीमा कम्पनीका सीईओहरुको पारिश्रमिकमा ३९ प्रतिशत कर लाग्ने भएको छ । सरकारले बार्षिक ५० लाख रुपियाँभन्दा बढी आम्दानी गर्ने व्यक्तिलाई करको दर बढाइएको छ । सोमबार संसदमा प्रस्तुत बजेटमार्फत (आर्थिक ऐन) मार्फत धेरै पारिश्रमिक हुनेहरुको कर वृद्धि गरिएको हो । बार्षिक ५० लाख रुपियाँभन्दा बढी आम्दानी गर्नेहरुमा अधिकांश बैंक र बीमा कम्पनीहरु छन् । अरु केही कर्पोरेट हाउसमा कार्यकारीहरुको पनि पारिश्रमिक ५० लाख रुपियाँ नाघ्छ । वार्षिक २० लाख रुपियाँ भन्दा बढी आम्दानी गर्नेलाई अधिकतम् ३६ प्रतिशतको दरले कर लाग्दै आएकोमा अहिले ५० लाख रुपियाँभन्दा बढी आम्दानी गर्नेलाई ३९ प्रतिशत कर लगाइएको हो । पब्लिक कम्पनीको रुपमा रहेका बैंकका सीईओहरुले धेरै पारिश्रमिक लिएको भनेर कतिपयले आलोचना गर्दै आएको सन्दर्भमा अर्थमन्त्री महतले उनीहरुको आम्दानीमाथि नियन्त्रणको प्रयास गरेका हुन् ।