काठमाडौं– बैंक तथा वित्तीय संस्थामा ब्याजदर निरन्तर घट्दै गएपछि त्यसको सकारात्मक प्रभाव बीमा क्षेत्रमा देखिन थालेको छ। मुद्दती निक्षेपमा कम प्रतिफल पाइने भएपछि नागरिकहरू जीवन तथा सम्पत्ति सुरक्षासँगै उच्च प्रतिफलको अपेक्षामा बीमातर्फ आकर्षित हुन थालेका हुन्।
नेपाल बीमा प्राधिकरणका अनुसार चालु आर्थिक वर्षको वैशाखसम्म बीमा कम्पनीहरूले २ खर्ब १ अर्ब ३६ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेका छन्। यो अघिल्लो वर्षको सोही अवधिको १ खर्ब ७६ अर्ब २१ करोड रुपैयाँको तुलनामा १४.२७ प्रतिशत बढी हो।
पछिल्ला तीन वर्षदेखि बैंकिङ प्रणालीमा अधिक तरलता रहँदा निक्षेपको ब्याजदर ऐतिहासिक न्यून बिन्दुमा पुगेको छ। जीवन बीमक संघका अध्यक्ष प्रवीणरमण पराजुलीका अनुसार यही अवस्थाले बीमा कारोबार विस्तारमा सहयोग पुगेको हो।
उनका अनुसार बैंकमा पैसा राख्दा कम ब्याज प्राप्त हुने भएपछि नागरिकले बीमाबाट जीवन तथा सम्पत्तिको सुरक्षा र बैंकको ब्याजभन्दा बढी प्रतिफल प्राप्त गर्ने उद्देश्यले बीमालाई प्राथमिकता दिन थालेका छन्।
यद्यपि, बीमा कम्पनीहरूले संकलित रकमको ठूलो हिस्सा बैंकको मुद्दती निक्षेपमा लगानी गर्ने भएकाले ब्याजदर लामो समय न्यून रहिरहे कम्पनीहरूको लगानी प्रतिफलमा असर पर्ने उनले बताए। यस्तो अवस्था लामो समय कायम रहे बीमा शुल्क बढाउनुपर्ने वा बीमितलाई वितरण हुने बोनस तथा प्रतिफल घटाउनुपर्ने अवस्था आउन सक्ने उनको भनाइ छ।
राष्ट्रिय तथ्यांक कार्यालयले चालु आर्थिक वर्षमा जीवन तथा निर्जीवन बीमाको नवीकरण शुल्क वृद्धि भएका कारण वित्तीय तथा बीमा क्षेत्रको आर्थिक वृद्धिदर ९.१६ प्रतिशत रहने प्रक्षेपण गरेको छ।
बीमा प्राधिकरणकी प्रवक्ता पूजन ढुंगेल अधिकारीले पनि ब्याजदर घट्दा तत्कालका लागि बीमा कारोबार बढेको स्वीकार गरेकी छन्। उनका अनुसार नागरिकले लागत–लाभको विश्लेषण गर्दा बैंकको निक्षेपभन्दा बीमाबाट प्राप्त हुने दीर्घकालीन लाभ बढी देखेकाले बीमाप्रति आकर्षण बढेको हो।
तर उनले समग्र अर्थतन्त्र चलायमान नभएसम्म बैंक, बीमा कम्पनी र बीमित कसैले पनि दीर्घकालीन लाभ लिन नसक्ने बताइन्।
प्राधिकरणका अनुसार वैशाखसम्म नेपालको कुल जनसंख्याको करिब ५०.६६ प्रतिशतमा बीमा पहुँच पुगेको देखिएको छ। तर यो तथ्यांकमा वैदेशिक रोजगारीमा जाने श्रमिक, म्यादी तथा लघु म्यादी बीमा पनि समावेश छन्।
यी बीमा हटाएर हेर्दा वास्तविक जीवन बीमा पहुँच करिब १८.४५ प्रतिशत मात्र रहेको प्राधिकरणले जनाएको छ। म्यादी र लघु म्यादी बीमा मात्रै समावेश गर्दा बीमा पहुँच ४२.९७ प्रतिशत पुग्छ।
बीमा पहुँच गणना गर्दा एक व्यक्तिले एकभन्दा बढी जीवन बीमा गरेको अवस्थालाई समायोजन गर्न विश्वव्यापी अभ्यासअनुसार कुल जारी बीमालेखबाट ५ प्रतिशत घटाएर तथ्यांक निकालिने गरिएको छ।
वैशाखसम्म जीवन बीमा कम्पनीहरूले १ करोड ६५ लाख २५ हजार ९४९ वटा जीवन बीमालेख तथा २८ लाख ३० हजार ६५२ वटा निर्जीवन बीमालेख बिक्री गरेका छन्।
हाल नेपालमा १४ जीवन बीमा, १४ निर्जीवन बीमा, २ पुनर्बीमा तथा ७ लघुबीमा कम्पनी सञ्चालनमा छन्। ती कम्पनीहरूले देशभर २ हजार ९९४ शाखा कार्यालयमार्फत सेवा प्रदान गरिरहेका छन्।