free website hit counter

भान्साबाटै गर्नुपर्छ कोरोनाको प्रतिराेध

beemaadmin
२०८० बैशाख ८, शुक्रबार

कोरोना संक्रमणको दर विस्तारै उकालो लाग्दैछ । तर खानपान र जीवनशैलीमा परिवर्तन गर्न सकियो भने कोरोनालाई भान्साबाटै परास्त गर्न सकिन्छ । मसला भन्नाले वनस्पति स्रोत बाट प्राप्त हुन्छन् ।साना साना क्षुप देखि ठूला रुखहरू मसलाका स्रोत हुन् । विभिन्न वनस्पतिहरूको सुकेको बीउ, फल, बोक्रा, पात, गानो, निर्यास वा पुष्प वा कोपिला बाट प्राप्त हुने भाग हो, जसको प्रयोग ताजा खाना वा अन्य खाद्यपदार्थमा रंग, वास्ना, स्वाद वा प्रिजरभेटिभको उदेश्यले मिसाइन्छ । नेपाली भान्साको एक अभिन्न अंग हो मसला । नेपाली खानाको विशिष्टता र स्वादमा  यीनै मसलाहरूको ठूलो भूमिका छ । नेपाली भान्सामा मसलाहरूको प्रयोग परापूर्वकालदेखि हुदैँ आएको छ । नेपालमा मात्र नभएर दक्षिण एसिया कै  भान्साको विशेषताको रुपमा प्रयोग हुने प्रमुख मसलाहरू मध्ये धनियाँ, लसून, अदुवा, बेसार, जीरा, मरिच, पिप्ला, ल्वाँङ्ग, तेजपात, सुकमेल, अलैची, दालचिनी, टिमूर, मेथी, ज्वानो, मंगरैलो, सौफ आदि हुन् । यी मसलाहरू खाद्यपदार्थमा स्वाद बढाउने मात्र होइन यिनीहरूको औषधिय महत्व पनि ठूलो छ ।

यिनीहरूमध्ये कतिपय मसलाहरू विभिन्न अनुसन्धानहरूमा जीवाणुप्रतिरोधि, विषाणुप्रतिरोधि, परजीवीनाशक सिद्ध भएकाछन् । यिनीहरूले शरीरमा रोगप्रतिरोधात्मक क्षमता बढाउनुको साथै कतिपय रोगहरूमा प्रभावकारी चिकित्साको रुपमा पनि प्रयोग हुदैँ आएको छ । मसला जन्य यस्ता वनस्पतिहरू आयुर्वेद लगायत अन्य वैकल्पिक तथा परम्परागत चिकित्सामा पनि औषधिको रुपमा प्रयोग हुन्छन् । साथै यी मसलाहरू बाट सारतत्व वा एक्सट्रयाक्ट निकालेर आधुनिक चिकित्सा पद्घतिमा प्रयोग हुनुका साथै यिनीहरूबाट सुगन्धित तेल निकालेर सौन्दर्य प्रसाधनमा पनि प्रयोग गरिन्छ । कतिपय मसलाजन्य पदार्थहरूको बढि मात्रामा प्रयोगले दुष्प्रभाव पनि निम्त्याउन सक्दछ् तसर्थ मसलाहरूको औषधिय प्रयोगमा विचार पुरयाउनु पर्दछ । यिनीहरूको मात्रा, वातादि दोषको अवस्था, प्रयोग गर्न नहुने अवस्था, तथा केहि एलोप्याथिक औषधिहरूसंग यिनीहरूको प्रतिक्रिया भइ त्यस्ता औषधिहरूको प्रभावलाई घटाउने वा बढाउने वा कहिलेकाही हुने दुष्प्रभावलाई पनि विचार गरी प्रयोग गर्नुपर्दछ । हामी यहाँ केहि मसला र यिनीहरूको औषधिय महत्व, प्रयोग गर्न नहुने अवस्था, शरीरमा रोग संग लड्ने क्षमता बढाउने अर्थात मसलाहरूको रोगप्रतिरोधात्मक क्षमता अभिवृद्धि क्रिया बारे वर्णन गर्न खोजिएको छ ।

 

१. बेसार : बेसार वा हलेदो नेपाली भान्साको एउटा अभिन्न अंग हो । यसले खानेकुरालाई रङ्ग प्रदान गर्दछ । यसको वैज्ञानिक नाम करक्यूमा लौंगा हो । यसमा रहेको मुख्य तत्व करक्यूमिन हो । आयुर्वेदमा यसको प्रयोग वण्र्य (शरीरको वा मुहारको रंग सुन्दर बनाउने) त्वचा रोगमा लाभकारी, मधुमेहनाशक, व्रणहर (घाउ, खटिरा निको पार्ने) विषघ्न, कृमिनाशक, रुचिकारक, शितपित्तहर (antiurticaria)  आदिको रुपमा हुन्छ ।

आधुनिक अध्ययन अनुसन्धान अनुसार यसको प्रयोग  Antiallergic, immunostimulant, anticancer, antihyperlipidemic, antioxidant, antimicrobial आदिको रुपमा गर्न सकिने देखाएको छ ।  यसले रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्न इम्यूनोस्टिमूलेटरको रुपमा कार्य गर्दछ । एक अध्ययन अनुसार हलेदोको गानोको  उष्ण जलीय सार तत्वमा पाइएको यूकोनान ए.डी. भन्ने पोलिसेकेराइड तत्वले रेटिकुलोइन्डोथेलियल प्रणालीलाई उत्तेजित गरि लिम्फोसाईटहरूको वृद्धि गर्दछ र यसले इम्यूनोग्लोबुलिन जी लाई समेत बढाइएको पाइयो ।

 

बेसारको प्रयोग र मात्रा

अहिले कोरोनाको महामारीको अवस्थामा यसको प्रयोग रोगप्रतिरोधात्मक क्षमता बढाउन तथा एलर्जिक अवस्थाको लागि गर्न सकिन्छ । बेसारको  अहिले अवस्थामा नियमित प्रयोग गोल्डेन मिल्कको रुपमा एक ग्लास मनतातो दूधमा २ देखि ४ ग्राम बेसार हालेर बिहान बेलुका प्रयोग गर्न सकिन्छ ।

 

एलोपैथिक औषधिहरूसंग बेसारको अन्तर्कि्रया

एक अध्ययन अनुसार बेसारको प्रयोग Warrafin प्रयोग गरिरहेको विरामीमा लामो समयसम्म  गर्दा INR (international normalized ratio) १० भन्दा बढि पाइयो , जसले गर्दा रक्तस्राव हुने सम्भावना बढि हुनेहन्छ । तसर्थ यस्ता किसिमका औषधि खाने व्यक्तिमा बेसारको लामो समयसम्म औषधिय प्रयोग गर्दा विचार पुरयाउनु पर्दछ ।

 

बेसारको शुद्धता

बेसारको प्रयोग गर्दा यसको शुद्धतामा पनि विचार पुरयाउनु पर्दछ । हलेदोको गानो लाई शुद्ध गरि सुकाई यसको धूलो प्रयोग गर्न सके राम्रो, होइन भने शुद्ध बेसारको पाउडर किनेर प्रयोग गर्दा यसको शुद्धता जाँच गर्नुपर्दछ । बेसारमा प्राय पिठो, चकको धुलो जस्ता पदार्थ मिसाइएको हुनसक्छ ।  शुद्ध बेसारलाई  मनतातो पानीमा घोल्दा राम्ररी घुल्दछ तर यसमा पिठो वा चकको धुलो  मिसाइएको छ भने पानीमा घोलेर केहिबेर स्थिर गरी राख्दा भाँडोको पिधँमा थिग्रिन्छ । त्यसै गरि रसायनिक पहेलो रंग मिसाइएको छ भने हाइड्रोक्लोरिक एसिड संग घोल्दा बढी Effervescent देखिन्छ ।

 

२. अदुवा : अदुवाको वैज्ञानिक नाम जिन्जिवर ओफिसिनाली  हो ।  यो ताजा र सुकेको गरी दुवै अवस्थामा प्रयोग हुन्छ । सुकेको अदुवालाई शूँठो भनिन्छ । अदुवा विभिन्न किसिमको परिकारमा राख्ने गरिन्छ साथै चियामा पनि विशिष्ट स्वादकोलागि राखिन्छ । शूँठो लघु, स्न्ग्धि, मधुरपाकी हुन्छ र यसको प्रयोग श्वास, शोथ, ह्रदयरोग, श्लीपद, उदर रोग, शूल, आमवातनाशक, रुचिकारक र अर्श रोगमा लाभकारी हुन्छ भने अदुवा  मलभेदक, गुरुपाकी, तीक्ष्ण, उष्ण वीर्य हुन्छ तर रक्तज अर्शमा प्रयोग गर्नु हुदैन । भोजन अधि सिधेँ नूनसंग अदुवाको प्रयोगले भोजनमा रुचि बढाउने, अग्निदीपक, जिह्वा र कण्ठ शुद्धि गर्ने हुन्छ । औषधिय प्रयोगमा अदुवा भन्दा शूँठो  राम्रो र सौम्य मानिन्छ ।

अदुवा वा शूँठो  विभिन्न किसिमका आयुर्वेद औषधिहरूको मुख्य घटकको रुपमा पनि प्रयोग गरिन्छ । प्रसिद्ध त्रिकटु चूर्णमा पिप्ला, मरिच संगै शूँठो पनि हुन्छ । त्रिकटु चूर्ण रुघा, खोकी, दम आदिको साथै आमपाचनको प्रमुख औषधि हो । अदुवाको प्रयोग एण्टिइन्फ्लामेटी्र, एण्टिमाइक्रोबियल (जीवाणुप्रतिरोधि), एण्टिकगुलेन्ट(रगत जम्न नदिने) आदिको रुपमा प्रयोग हुन्छ, साथै एण्टिट्यूमर अर्थात अर्बुदनाशक औषधको रुपमा पनि सिद्ध भएको छ । अदुवा एण्टिअक्सिडेण्ट र इम्यूनोमोडुलेटर र इम्यूनो इन्ह्यान्सरको रुपमा कार्य गर्दछ । मूसामा गरिएको एक अध्ययन अनुसार यसको अल्कोहोलिक एक्सट्रेक्टले म्याक्रोफेजको क्रियालाई बढाउँछ साथै ह्यूमोरल इम्यूनिटि पनि बढाइएको पाइयो । एक अर्को अध्ययन अनुसार चियामा अश्वगन्धा, जेठीमधु, तुलसी र सुकमेल संगै अदुवा मिसाएर प्रयोग गर्दा यसले नेचुरल किलर सेलहरू बढाइएको पाइयो । तसर्थ कोरोना कालमा यसको चियाको सेवन राम्रो हुन्छ तर कुनै पनि औषधिय प्रयोग गर्दा यसको उचित मात्रामा प्रयोग गर्नु पर्दछ ।

 

ताजा अदुवा प्रयोग गर्न नहुने अवस्थाहरू

आयुर्वेद मतानुसार ताजा अदुवा कुष्ठ (त्वचा रोगहरू), पाण्डु (रक्त अल्पता), मूत्रकृच्छ (पिसाब पोल्ने वा पिसाब फेर्दा दुख्ने जस्ता पिसाब सम्बन्धि रोगहरू), रक्तपित्त (Bleeding Disorders), व्रण (घाउ वा अल्सर), ज्वर, दाह (Burning Sensation)  रोगमा  ताजा अदुवाको प्रयोग गर्नु हुदैन । त्यसै गरि ग्रीष्म र शरद् ऋतुमा ताजा अदुवाको प्रयोग गर्नु हुदैन । यसको तीक्ष्ण र उष्ण गुण, कटु रसको कारणले यस्तो हुनसक्छ ।

 

अदुवाको एलोपैथि औषधिहरूसंगको अन्तक्र्रिया

अदुवाको औषधिय प्रयोग गर्दा केहि एलोप्याथि औषधि जस्तै Warafin, Aspirin,   आदि औषधिहरू प्रयोग गरिेरहेको व्यक्तिमा गर्नु राम्रो हुदैन किनभने अदुवा को Anticoagulant effect हुनाले  यसले ती औषधिहरूको क्रिया लाई बढाइदिन्छ र रक्तश्राव हुने सम्भावना हुन्छ । त्यसै गरि उच्च रक्तचापको औषधिहरूको क्रियालाई बढाउन सक्दछ् ।

 

अदुवा वा शूँठोको औषधिय मात्रा

स्वरस  : ३ देखि १० मि. ली. ।

चूर्ण : ७५० मि. ग्रा. देखि १.५ ग्राम सम्म ।

 

शूण्ठी जलको प्रयोग

आमपाचनको लागि शूण्ठी जलको प्रयोग उत्तम मानिन्छ तसर्थः कोभिड १९ को नवज्वरको अवस्थामा र रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्न १ ग्राम शूँठो १ लीटर पानीमा १० देखि १५ मिनटसम्म उमालेर मनतातो अवस्थामा वा सेलाएर पिउन सकिन्छ ।

 

चियामा अदुवाको प्रयोग

दैनिक रुपमा प्रयोग गरिने चियामा अदुवाको प्रयोग गर्न सकिन्छ । एक कपमा ५०० मि.ग्रा. सम्म ।

 

३. धनियाँ  : धनियाको प्रयोग सब्जी, तरकारी आदिमा सधै प्रयोग गरिन्छ । यसको वैज्ञानिक नाम कोरियन्ड्रम स्याटिभम् हो । यसको हरियो पात, पुष्प, तथा सुकेको फल, बीउ, प्रयोग हुन्छ । यसमा उडनशील तेल तथा फिक्स्ड आयल हुन्छ । कोरियन्ड्र्रल र कोरियन्ड्रील एसिटेट यसको मुख्य घटक हो । आयुर्वेदमा यसको प्रयोग दीपन, पाचन, मूत्रल (पिसाब बढाउने), ज्वरनाशक, ग्राही (मल बाँध्ने), तृष्णाहर (प्यास मेटाउने), दाहहर (जीउ पोल्न कमगर्ने), श्वासहर (दम कमगर्ने), छर्दिनिग्रहण (वान्ता रोक्नृ) आदि अवस्थामा गरिन्छ । त्यसै गरि यसको प्रयोग एण्टिअक्सिडेण्ट, एण्टिमाइक्रोबियल, एण्टिहेल्मीन्थिक (पेटको जुका मार्ने), डाइयूरेटिक(पिसाबको मात्रा बढाउने) आदिको रुपमा हुन्छ, साथै मधुमेह, दन्तशूल, कामला आदिमा पनि प्रयोग गरिन्छ । धनियाँको अल्कोहोलिक एक्स्ट्रेक्टले एक अध्ययनमा श्वेत रक्तकोष बढाएको, म्याक्रोफेजको फ्यागोसाइटिक क्रिया बढाएको  पाइयो । जसले यसको रोग प्रतिरोधि क्षमता उजागर गर्दछ ।

 

धनियाँको औषधिय मात्रा

५०० मि.ग्रा. देखि ४ ग्राम चूर्ण

–    जीर्ण प्रतिश्यायमा यसको फाण्ट अर्थात चिया जस्तो पकाएर खान सकिन्छ ।

–    ज्वरको अवस्थामा हुने दाहमा धनियाँ रातभरि पानीमा भिजाएर बिहान छानेर पिउन सकिन्छ ।

 

अहित प्रभाव

अत्यधिक मात्रामा प्रयोगले कामशक्तिमा ह्रास र महिलाहरू मा महिनावरी गडबडी हुनसक्छ ।

 

४. मरिच : पाइपर निग्रम भन्ने लहरा प्रजातिको सुकेको फल मरिचको रुपमा प्रयोग हुन्छ । यो पिरो स्वादको हुन्छ । मसलामा प्रयोग गरिनुको साथै यसलाई चियामा पनि राखेर प्रयोग गरिन्छ । यसको प्रयोग खाना पचाउने, दम, ज्वर, खोकी, आदि रोगहरूमा औषधिको रुपमा गरिन्छ । यसमा पाइपरिन नामक क्रियाशिल तत्व तथा उडनशील तेल पाइन्छ । त्रिकटुमा यसको प्रयोगले बायोएभिलिविलिटी बढाउँछ । एक अध्ययन अनुसार यसले स्प्लीनबाट उत्पादन हुने लिम्फोसाइटहरूलाई बढाउने, टी लिम्फोसाइटको हेल्पर सेलहरूलाई बढाउने कार्य पनि गर्दछ । यसले नेचुरल किलर सेलहरूको साइटोटक्सीक एक्टिभिटिलाई पनि बढाउँछ तसर्थ यसले इम्यूनोमोडुलेटरको रुपमा कार्य गर्दछ ।

 

मरिचको औषधिय प्रयोग मात्रा : चूर्ण : २५० मि.ग्रा देखि ५०० मि.ग्रा ।

–    खोकी लागेमा  मह र घ्यूसंग मरिचको प्रयोग ।

–    पुरानो रुघाको अवस्थामा गुड र दहीसंग मरिचको प्रयोग ।

–    ज्वरको अवस्थामा मरिचको प्रयोग मह संग ।

–    चियामा  मरिचको प्रयोग गर्नु राम्रो हुन्छ ।

 

मरिचको अतिमात्रामा प्रयोगले हुने अहितप्रभाव : उदरशूल, वमन, गुमार्ग र मूत्रमार्गमा दाह, उदर्द आदि ।

 

मरिचको एलोपैथि औषधिहरूसँगको अन्तक्र्रिया : मरिचमा पाइने Piperine को एलोपैथिक औषधिहरूसंगको अन्तक्र्रिया बारे खास अध्ययन नभएतापनि केहि सामान्य अध्ययनहरूले Carbamazepine, Diclofenac, Phenytoin, Ketoconazole जस्ता औषधिहरूको क्रियालाई बढाएको पाइएको छ ।

 

यसरी भान्सामा प्रयोग हुने अनेक मसलाहरूको विभिन्न औषधिय गुणहरू आधुनिक अनुसन्धानहरूले पनि पुष्टि गरिसकेको छ । यी मसलाहरू मध्ये केहि मसलाहरू जसले रोग प्रतिरोधि क्षमता बढाउँछ, तिनिहरूको व्यापक अनुसन्धान हुन जरुरी छ, जसले आजको समयमा फैलिएको कोभिड १९ जस्तो महामारीमा शरीरको रोग प्रतिरोधी क्षमता विकास गरि रोगलाई परास्त गर्न मदत मिल्नेछ ।

सम्बन्धित समाचार