free website hit counter

भारतले हिमालयन रिलाई पुनर्बीमा कारोबारको इजाजत खारेज गर्‍यो

beemaadmin
२०८३ असार २३, मंगलवार

काठमाडौं । हिमालयन रिइन्स्योरेन्स कम्पनी (हिमालयन रि) ले अर्को ठूलो झट्का बेहोरेको छ। भारतीय बीमा नियामक तथा विकास प्राधिकरण (आईआरडीएआई) ले कम्पनीको भारतमा अन्तरसीमा (क्रस बोर्डर) पुनर्बीमा कारोबार गर्ने इजाजत खारेज गरेको छ।

आईआरडीएआईले जुन ११ देखि लागू हुने गरी हिमालयन रिको क्रस बोर्डर रिइन्स्योरेन्स (सीबीआर) अनुमति रद्द गरेको हो। कम्पनीले सन् २०२४ जनवरी १६ मा भारतीय बीमा बजारबाट पुनर्बीमा जोखिम स्वीकार गर्न अनुमति प्राप्त गरेको थियो।

यसअघि नै नेपाल बीमा प्राधिकरणले पनि कम्पनीको पुनर्बीमा कारोबारमा रोक लगाइसकेको छ। प्राधिकरणले प्रवर्द्धक, सञ्चालक तथा उच्च व्यवस्थापनको मिलेमतोमा कम्पनीको कोष र सम्पत्तिको दुरुपयोग भएको प्रारम्भिक निष्कर्ष निकाल्दै २०८३ असार मसान्तसम्म नयाँ पुनर्बीमा कारोबार गर्न रोक लगाएको थियो। उक्त निर्णय वैशाख २९ गतेदेखि लागू गरिएको हो।

हिमालयन रिका पूर्वअध्यक्ष शेखर गोल्छा, पूर्व सञ्चालक साहिल अग्रवाल, प्रवर्द्धक दीपक भट्ट, शुलभ अग्रवाल तथा प्रमुख कार्यकारी अधिकृत उपासना पौडेललगायतविरुद्ध सम्पत्ति शुद्धीकरण, बीमा कसुर, बैंकिङ कसुर तथा धितोपत्रसम्बन्धी कसुरमा मुद्दा दायर भइसकेको छ। आरोपितहरूले कम्पनीको कोष तथा सम्पत्तिको दुरुपयोग गरेको अभियोगमा मुद्दा हाल अदालतमा विचाराधीन रहेको छ।

भारतमा समेत पुनर्बीमा कारोबारको अनुमति गुमेपछि हिमालयन रिको अन्तर्राष्ट्रिय व्यवसाय विस्तारमा ठूलो असर पर्ने विश्लेषण गरिएको छ। साथै, कम्पनीको वित्तीय अवस्था र व्यवस्थापनमाथिको नियामकीय निगरानी थप कडा हुने संकेत पनि देखिएको छ।

सम्बन्धित समाचार