free website hit counter

भारतीय सेनामा नेपालीलाई रोक लगायो

beemaadmin
२०७८ असार ८, मंगलवार

एजेन्सी । सुविधाका हिसावले सुरक्षित मानिएको भारतीय र बेलायती सेनामा युवाको आकर्षण बढिरहेका बेला भारतीय सेनाले आफ्नो गोर्खा रेजिमेन्टमा नेपालीलाई रोक लगाउने र भारतीय गोर्खालीहरुलाई प्राथमिकता दिने नीति अन्तर्गत महिला मिलिट्री पुलिसमा नेपालीलाई भर्ना हुन रोक लगाएको छ । गएको मे महिनाको २८ तारिखमा भारतीय सेनाले १०० जना महिला मिलिट्री पुलिस भर्ना गर्नेगरी सूचना निकालेको थियो । सूचनामा नेपाली र भारतीय गोर्खालीहरु सहभागी हुन पाउने भनिएको थियो । तर, भारतीय सेनाले यसमा भर्ती हुन नेपालीलाई रोक लगाएको इन्टरनेशनल बिजनेस टाइम्सले जनाएको छ । गएको महिनाको अन्तिममा भारतीय सेनाले महिला सैनिकलाई जनरल ड्युटीको अनुमति दिइएको आफ्नो एकमात्र शाखाका लागि १०० महिला मिलिट्री पुलिस भर्ती गर्ने सूचना निकालेको थियो जसमा नेपाली र भारतीय गोर्खालीले आवेदन दिन सक्ने भनिएको थियो । तर, इन्टरनेशनल बिजनेस टाइम्सका अनुसार भारतीय सेनाले त्यसपछि एक संशोधन जारी गरेको छ जसमा भारतीय गोर्खालीहरु मात्रै भर्ती हुन पाउने उल्लेख गरिएको छ ।
भारतीय सेनाले भारतीय गोर्खालीलाई मात्रै प्राथमिकता दिने गरी संशोधन जारी गर्नु आश्चर्यको विषय भने होइन । गत वर्ष मात्रै भारतीय सेनाले उत्तराखण्डका गैर गोर्खा समुदायका युवालाई गोर्खा रेजिमेन्टमा भर्ती गर्न अनुमति दिएको थियो । त्यतिबेलासम्म गोर्खा रेजिमेन्टमा नेपाली गोर्खालीहरु र भारतीय गोर्खाली समुदायका युवाहरु मात्रै भर्ती गरिन्थ्यो । हरेक गोर्खा रेजिमेन्टमा नेपाली र भारतीय गोर्खालीको अनुपात ६०–४० हुन्थ्यो । यद्यपि केही वर्षअघि सबै भारतीय गोर्खाली मात्रै भएको एउटा गोर्खा रेजिमेन्ट पनि स्थापना गरिएको थियो । भारत स्वतन्त्र भएयता भारतका हरेक युद्धमा गोर्खालीहरु सहभागी भएका छन् । भारतीयहरु गोर्खालीहरुको बहादुरीबाट निकै प्रभावित रहने गरेका छन् । भारतीय सेनाको गोर्खा रेजिमेन्टमा नेपालीहरुको भर्ती नेपाल, भारत र बेलायतबीचको त्रिदेशीय सम्झौतामा आधारित छ र यो सम्झौता तीन देशबीच १९४७ मा भएको थियो । सम्झौताअनुसार भारतसँग गोर्खा रेजिमेन्टका १, ३, ४, ५, ८ र ९ गोर्खा राइफल्स छन् । २, ६, ७ र १० गोर्खा राइफल्स रेजिमेन्ट बेलायती सेनामा छन् । भारतले पछि ११ गोर्खा राइफल्स आफैं स्थापना गरेको छ ।

सम्बन्धित समाचार