मकवानपुर । मकवानपुरको भीमफेदीमा बिहीबार बिहान भएको विद्युतीय माइक्रोबस दुर्घटनामा घाइते भएका ६ जनाको पहिचान खुलेको छ। उनीहरू सबैको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ।
भीमफेदी–कुलेखानी–काठमाडौं सडकखण्डअन्तर्गत भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा बिहान करिब ५ः४५ बजे मधेस प्रदेश ०३–००१ ज ०८८० नम्बरको हाइस गाडी दुर्घटनामा परेको थियो। काठमाडौंका लागि सर्लाहीबाट आउँदै गरेको उक्त गाडी सडकबाट करिब ५०० मिटर तल भिरमा खसेको हो।
दुर्घटनामा ५ जनाको मृत्यु भएको र मृतकमध्ये हालसम्म चालकको मात्र पहिचान खुलेको मकवानपुरका डीएसपी माधव काफ्लेले जानकारी दिए। उनका अनुसार चालक सर्लाहीको कविलास गाउँपालिकाका रवि शंकर कुमार मण्डल हुन्। अन्य मृतकको सनाखत हुन बाँकी छ।
दुर्घटनामा घाइते भएका ६ जनाको भने पहिचान खुलेको छ। उपचाररत घाइतेमा ३३ वर्षीय मुकेश यादव, १६ महिनाका सुदीप यादव, २६ वर्षीय देवेन्द्र यादव, १२ वर्षीय सक्षम यादव, आठ वर्षीय सुदीप यादव र ‘बच्चु’ भन्ने देवेन्द्र राय रहेका छन्।
मृतकमध्ये चारजनाको शव हेटौँडा अस्पताल ल्याइएको छ भने अन्य शव ल्याउने क्रम जारी रहेको प्रहरीले जनाएको छ।