काठमाडौं । नेपाली कांग्रेसमा संसदीय दलको नेतामा भीष्मराज आङदेम्बे सर्वसम्मत रूपमा चयन हुने सहमति भएको छ।
उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा गठित समितिले आङदेम्बेको नाममा सहमति जुटाएको हो। पूर्व सहमहामन्त्री अर्जुननरसिंह केसीले आफ्नो दाबी फिर्ता लिएपछि आङदेम्बे सर्वसम्मत उम्मेदवार बनेका हुन्।
यसअघि केसीसहित सांसदहरू मोहन आचार्य, बास्ना थापा, निस्कल राई, फिरदोष आलम र चन्द्रमोहन यादवले पनि दलको नेताका लागि दाबी गरेका थिए।
आङदेम्बे पार्टीका पूर्व सहमहामन्त्री तथा समानुपातिक सांसद हुन्। आज बस्ने केन्द्रीय कार्यसम्पादन समिति बैठकमा सभापति गगन थापाले उनको नाम अनुमोदनका लागि प्रस्तुत गर्ने तयारी छ।
समितिबाट अनुमोदन भएपछि दिउँसो १ बजे बस्ने संसदीय दलको बैठकले औपचारिक रूपमा नेता चयन गर्नेछ। कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार नेताको विषयमा सहमति भइसकेको छ।
फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनमा शीर्ष नेताहरू पराजित भएपछि आङदेम्बेलाई दलको नेता बन्ने अवसर खुलेको हो। उनी १४औँ महाधिवेशनमा शेरबहादुर देउवा पक्षबाट सहमहामन्त्री निर्वाचित भएका थिए, तर पछिल्ला गतिविधिहरूमा दुवै पक्षसँग सन्तुलित दूरीमा देखिँदै आएका थिए।
आङदेम्बेले हालै सामाजिक सञ्जालमार्फत आफू सभापति गगन थापाको दृष्टिकोणअनुसार अघि बढेको बताएका थिए र आफूलाई कुनै समूहको रूपमा नहेर्न आग्रह गरेका थिए।
२०७० सालको संविधानसभा निर्वाचनमा पाँचथर–२ बाट निर्वाचित आङदेम्बे उद्योग तथा वाणिज्य तथा श्रम तथा उपभोक्ता हित संरक्षण समितिका सभापति भइसकेका छन्। उनका हजुरबुवा देउमान आङदेम्बे २०१३ सालमा टंकप्रसाद आचार्य नेतृत्वको मन्त्रिपरिषदमा अर्थ तथा मालपोत उपमन्त्री भएका थिए, जो लिम्बू समुदायबाट मन्त्री बन्ने पहिलो व्यक्ति थिए।
करिब सात दशक लामो इतिहास बोकेको कांग्रेसमा लिम्बू समुदायबाट संसदीय दलको नेता बन्ने अवसर आङदेम्बेलाई मिल्ने निश्चितजस्तै भएको नेताहरूले बताएका छन्।