नियामक निकाय बीमा समितिले विज्ञप्ति निकालेर आफ्नो लाज छोप्ने प्रयास गर्यो । मिडियामाथि आफुअनुकूल व्याख्या गरेको आरोप लगाइयो । प्रतिस्पर्धात्मक बजारमा एकाधिकारको अन्त्य गरेको पनि भनियो र मुद्रा पलायन वा विदेशी मुद्रा सञ्चित गर्न यो निर्देशिकाले सहयोग पुग्ने पनि भनियो । मुद्रा पलायन रोक्नु भनेको बीमकको सबै पुनर्बीमा हिस्सा नेपालकै पुनर्बीमा कम्पनीलाई दिनु हो । यसो गर्दा विदेशी पुनर्बीमासँग नेपाली बीमकहरुले जोखिम हस्तान्तरण गर्दा जोखिम बापतको पैसा तिर्नु पर्दथ्यो र त्यो मुद्रा विदेशिन्थ्यो । नेपालकै पुनर्बीमकसँग सम्झौता गर्दा पुनर्बीमा शुल्क देशभित्रै रहन्छ र क्षणिक आर्थिक फाइदा पुनर्बीमक र राज्यलाई हुने निश्चित छ ।
बीमा जोखिमको मूल्यांकन गरेर गरिन्छ भने पुनर्बीमकले पनि जोखिमाङ्कन गरेर नै अपवाद बाहेक स्वीकार गर्दछ । अन्तर सम्बन्धले व्यापार बीमक र पुनर्बीमकबीच भयो केही खर्च पनि कम होला किनकि नियामक निकाय र राज्यले निर्देशन दिएपछि स्वतः पुनर्बीमा हुँदा दलाल नचाहिने भयो र दलाल वा कमिशन दिन पनि परेन ।
समस्या कतिबेला हुन्छ ?
नेपाल भूकम्पीय जोखिमको सूचिमा रहेको मुलुक हो । प्राकृतिक विपत्तिको सामना पनि बेला बेला गरिरहेकै हुन्छ । बीमाको पहुँच बढ्दै जाँदा बीमाको र बीमकको दायित्व पनि बढ्दै जाने निश्चित छ । जीवन बीमामा ठूलो बीमालेख बिक्री गर धेरै बीमाशुल्क आर्जन गर्ने होडबाजी चलिरहेको छ भने निर्जीवन बीमामा प्रचलित दररेटभन्दा कम र कमिशन छूट गरेर बीमा गरिनु सामान्य जस्तै भएको छ । यस्तो अवस्थामा अन्डरराइडिङ कमसल भयो भने र दैविक प्रकोपको भवितव्इ परेमा ठूलो हानी नोक्सानी हुने निश्चित छ । यस्तो प्रकोपले जीवन र निर्जिवन बीमकलाई प्रत्यक्ष असर पु¥याउँछ र तेस्रो भागिदार पुनर्बीमक हुनु पर्दछ त्यो पनि नेपालकभित्रकै कम्पनी ।
दुई पुनर्बीमाले भवितव्य धान्न सक्ला ?
नेपालका वि.सं. १९९०, २०७२ को जस्तै विनासकारी भूकम्प आएमा वा त्यो भन्दा ठूलो भवितव्य परेमा, बाढी पहिरो, डुबान, विभिन्न कलकारखनाको नोक्सान, उत्पादनशिल कम्पनीहरुको पूर्ण क्षति, असंख्य मानवीय क्षति भएमा क्षतिको पूर्ति गर्ने बीमक र पुनर्बीमकले नै हो । यो कति सम्भव हुन्छ नियामक निकायले निर्धारण गर्न जरुरी छ ।
भुईको टिप्दा पोल्टाको खस्ला ?
थोरै बीमाशुल्क जोगाउन धेरै जोखिम लिनु हानिकारक हुन्छ । पुनर्बीमा भनेको जोखिमलाई धेरैतिर विस्तार गर्ने हो, एउटै मुलुकभित्र बीमाको सम्पूर्ण जोखिम कायम गरिनु हुन्न । यो अन्तर्राष्ट्रिय अभ्यासले प्रमाणित गरेको कुरा हो । पुनर्बीमाले थोरै शुल्क लिएर जोखिम बहन गर्दछ । तर क्षतिपूर्तिको दायित्व बढ्दा के हुन्छ ? देशको र आफ्नो कम्पनीको आर्थिक स्रोतले जोखिम बहन गर्न नसके के हुन्छ ? यस्तै नाजायज र अदुरदर्शी कारणले विगतमा कोभिड १९ को १० अबर दायित्व बीमा कम्पनी र सरकारको काँधमा बाँकी छ । यसको बदनामी जोगाउन बीमक र अभिकर्तालाई गाह्रो परिरहेको छ । महामारीको बीमा कहीं कतै हुँदैन । यसको दायित्व बढी भई बीमा शुल्कले धान्न पनि सक्दैन पुनर्बीमा पनि हुँदैन ।
२१ अर्ब बाहिरियो, २ अर्ब भित्रियो
त्यसो त पुनर्बीमा वापत अरबौं रकम विभिन्न मुलुकमा बाहिरिदा नेपालमा भने थोरै रकम मात्रै भित्रिने गरेको छ । बीमा समितिका अनुसार नेपालबाट पुनर्बीमा वापत गत आर्थिक वर्षको अन्त्यसम्ममा २१ अर्ब २ करोड रुपैयाँ बाहिरिएको छ । जीवन बीमा व्यवसायबाट ३ अर्ब ८३ करोड ४२ लाख रुपैयाँ र निर्जीवन बीमा व्यवसायबाट १७ अर्ब १९ करोड १ लाख रुपैयाँ गरी सो बराबरको रकम नेपालबाट पुनर्बीमा मार्फत विदेशिएको देखिन्छ । पुनर्बीमा वापत नेपालबाट ठूलो रकम बाहिरिदा नेपालमा पुनर्बीमा व्यवसाय सञ्चालन गरिरहेको नेपाल पुनर्बीमा कम्पनीले भने करिब २ अर्ब रुपैयाँ मात्रै अन्तराष्ट्रिय व्यवसाय भित्राएको छ । हाल नेपालमा नेपाल पुनर्बीमा कम्पनी र हिमालयन रिले व्यवसाय सञ्चालनको लागि बीमा समितिबाट अनुमति पाएका छन् । नेपाल पुनर्बीमा कम्पनी २०७१ पुस ६ गते देखि व्यवसायिक कारोबार गर्दै आईरहेको छ भने हिमालयन रिले औपचारिक रुपमा व्यवसायिक कारोबार शुरु गरेको छैन् ।
पाँच वर्षमा साढे ७२ अर्ब बाहिरियो
पछिल्लो पाँच वर्षको आँकडा हेर्दा पुनर्बीमा वापत साढे ७२ अर्ब रुपैयाँ भन्दा बढी रकम बाहिरिएको देखिन्छ । पाँच वर्षमा जीवन बीमा व्यवसायबाट ११ अर्ब ३३ करोड १७ लाख रुपैयाँ र निर्जीवन बीमा व्यवसायबाट ६१ अर्ब १९ करोड ५२ लाख रुपैयाँ बाहिरिएको बीमा समितिको तथ्यांकले देखाएको छ । समितिले पुनर्बीमा वापत ठूलो रकम बाहिरिएको भन्दै जीवन तथा निर्जीवन बीमा कम्पनीहरुलाई स्वदेशी पुनर्बीमा कम्पनीमा शत प्रतिशत पुनर्बीमा गर्न निर्देशन दिएको हो ।
यस्तो छ अन्तर्राष्ट्रिय अभ्यास
बीमा व्यवसायमा विश्वास कायम गराउन र जोखिम विकेन्द्रीकरण गर्न एउटा देशले अर्को देशलाई व्यवसाय दिने र उसबाट पनि व्यवसाय लिने अभ्यास छ । जोखिम बाँडफाँटको सिद्धान्तअनुसार पनि जोखिम केन्द्रीकरण एकै ठाउँमा हुनुहुँदैन । बीमा जोखिमलाई विविध क्षेत्रमा विकेन्द्रित गर्नुपर्छ, ता कि क्षतिपूर्ति लिन सजिलो होस् । पुनर्बीमा प्राविधिक र अन्तर्राष्ट्रिय विषय हो । यसमा जोखिमलाई बाँडफाँट हुन्छ । यसको सिद्धान्तमै बीमाको कारोबार निर्भर रहन्छ । नेपालको जोखिमलाई नेपालभित्रै केन्द्रित गर्दा भोलि कुनै ठूलो दुर्घटना भए त्यो पैसा नेपालकै कम्पनीले दिनुपर्छ । त्यस्तो स्थिति निम्तिए नेपालको पुनर्बीमा कम्पनी नै डुब्ने स्थिति नआउला भन्न सकिँदैन । छिमेकी मुलुकहरु भारत र बंगलादेशमा पनि स्वदेशी पुनर्बीमा कम्पनीलाई नै शतप्रतिशत व्यवसाय दिनुपर्ने प्रावधान छैन ।