free website hit counter

भुक्तानी ढिलाइबीच स्वास्थ्य बीमा बोर्डको आग्रह : अनावश्यक परीक्षण नगर्नुहोस्

beemaadmin
२०८३ असार १९, शुक्रबार

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थालाई अनावश्यक स्वास्थ्य परीक्षण नगर्न तथा बीमित सेवाग्राहीलाई त्यस्ता परीक्षणका लागि दबाब नदिन आग्रह गरेको छ।

शुक्रबार जारी विज्ञप्तिअनुसार बोर्डले हालसम्म २०८२ साल मंसिर मसान्तसम्मको दाबी रकम मात्रै भुक्तानी गरेको जनाएको छ। त्यसयताको रकम सरकारले आवश्यक बजेट विनियोजन गरेपछि उपलब्ध गराइने बोर्डले स्पष्ट पारेको छ।

Advertisement
Advertisement

बोर्डका अनुसार चालु आर्थिक वर्षमा विभिन्न मितिमा सेवा प्रदायक संस्थालाई २३ अर्ब ४४ करोड २ लाख ९८ हजार रुपैयाँ भुक्तानी गरिएको छ। मंसिर मसान्तसम्मका सबै दाबी बक्यौता फरफारक भइसकेको पनि बोर्डले जनाएको छ।

Advertisement
Advertisement

मंसिरपछिको दाबी भुक्तानीका लागि आवश्यक बजेट व्यवस्थापन र दिगो वित्तीय स्रोत सुनिश्चित गर्न सम्बन्धित निकायसँग समन्वय र पहल जारी रहेको बोर्डको भनाइ छ।

बोर्डले भुक्तानी ढिलाइका कारण बीमितको उपचार सेवामा कुनै अवरोध नगर्न तथा बीमा कार्यक्रमअन्तर्गत निर्धारित मापदण्डअनुसार गुणस्तरीय स्वास्थ्य सेवा निरन्तर उपलब्ध गराउन सबै सेवा प्रदायक स्वास्थ्य संस्थासँग आग्रह गरेको छ। साथै, चिकित्सक तथा स्वास्थ्यकर्मीलाई आवश्यकताभन्दा बढी परीक्षण वा उपचारका लागि दबाब नदिन पनि बोर्डले अनुरोध गरेको छ।

सम्बन्धित समाचार