काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित रसुवासहित पाँच जिल्लाका १५ स्थानीय तहलाई सरकारले १३ करोड ५० लाख रुपैयाँ उपलब्ध गराएको छ।
बाढीपछि उद्धार, राहत तथा विपद् व्यवस्थापनका लागि सरकारले दुई चरणमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत उक्त रकम निकासा गरेको हो।
सरकारले बाढीपछि तत्काल रसुवा र नुवाकोटलाई १–१ करोड तथा धादिङलाई ५० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको थियो। त्यसपछि भदौ १२ गते पहिलो चरणमा ६ करोड ५० लाख र भदौ १६ गते दोस्रो चरणमा थप ६ करोड ५० लाख रुपैयाँ निकासा गरिएको हो।
निकासा भएको रकममध्ये रसुवाका चार स्थानीय तहले ४ करोड ५० लाख रुपैयाँ पाएका छन्। उत्तरगया गाउँपालिकालाई १ करोड ५० लाख, गोसाइँकुण्ड गाउँपालिकालाई २ करोड, कालिका गाउँपालिकालाई ६० लाख र आमाछोदिङ्मो गाउँपालिकालाई ४० लाख रुपैयाँ उपलब्ध गराइएको छ।
त्यस्तै, नुवाकोटका चार स्थानीय तहलाई ६ करोड २५ लाख रुपैयाँ निकासा गरिएको छ। विदुर नगरपालिकाले ३ करोड, बेलकोटगढी नगरपालिकाले १ करोड ७५ लाख, किस्पाङ गाउँपालिकाले ५० लाख र तारकेश्वर गाउँपालिकाले १ करोड रुपैयाँ पाएका छन्।
धादिङका चार स्थानीय तहलाई १ करोड ८० लाख रुपैयाँ उपलब्ध गराइएको छ। गल्छी गाउँपालिकाले ६० लाख, सिद्धलेक गाउँपालिकाले ४० लाख, गजुरी गाउँपालिकाले ४० लाख तथा बेनीघाट रोराङ गाउँपालिकाले ४० लाख रुपैयाँ पाएका छन्।
गोरखाको गण्डकी गाउँपालिकाका लागि ४० लाख तथा तनहुँका देवघाट गाउँपालिका र आँबुखैरेनी गाउँपालिकालाई ४०–४० लाख रुपैयाँ निकासा गरिएको छ।
यसैबीच, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष तथा प्रधानमन्त्री राहत कोषमा हालसम्म ७ अर्ब ८८ लाख ५७ हजार २१७ रुपैयाँ जम्मा भएको छ।
उक्त रकममध्ये भदौ १६ गते राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई १ करोड रुपैयाँ उपलब्ध गराइएको थियो। उक्त रकम निकासा गरेपछि कोषमा ६ अर्ब ८८ लाख ५७ हजार २१७ रुपैयाँ मौज्दात रहेको जनाइएको छ।
यसका अतिरिक्त प्रधानमन्त्री राहत कोषमा ६१ लाख ४१ हजार ७०२ अमेरिकी डलरसमेत जम्मा भएको बताइएको छ।
सरकारले बाढी प्रभावित क्षेत्रमा तत्कालीन उद्धार तथा राहतसँगै स्थानीय तहको विपद् व्यवस्थापनका लागि आवश्यक स्रोत उपलब्ध गराउँदै आएको जनाएको छ।