काठमाडौं । हिम पर्वत हाइड्रोपावर लिमिटेडले मंसिर १८ गतेदेखि सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको शेयर निष्कासन तथा बाँडफाँट गरिसकेको छ।
कम्पनीले अब सर्वसाधारण लगानीकर्ताका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ३४ लाख ६४ हजार ५०० कित्ता शेयर निष्कासन गर्न लागेको हो। यसबाट कम्पनीले ३४ करोड ६४ लाख ५० हजार रुपैयाँ पुँजी संकलन गर्नेछ।
कम्पनीले आफ्नो जारी पुँजी १ अर्ब ६९ करोड रुपैयाँको ३५ प्रतिशत अर्थात् ५९ करोड १५ लाख रुपैयाँ बराबरको ५९ लाख १५ हजार कित्ता शेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो।
कुल निष्कासित शेयरमध्ये १६ लाख ९० हजार कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि र ४ लाख २२ हजार ५०० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको थियो। दुवै समूहको शेयर निष्कासन तथा बाँडफाँट भइसकेको छ।
त्यस्तै, २ लाख ११ हजार २५० कित्ता सामूहिक लगानी कोषका लागि निष्कासन गरिसकिएको छ भने १ लाख २६ हजार ७५० कित्ता कम्पनीका कर्मचारीका लागि सुरक्षित गरिएको छ।
१० हजार कित्तासम्म आवेदन दिन सकिने
कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। आईपीओमा आवेदन दिने समय छिटोमा मंसिर २३ गतेसम्म र ढिलोमा पुस ३ गतेसम्म रहनेछ।
आईपीओ निष्कासनका लागि गरिएको क्रेडिट रेटिङमा इक्रा नेपालले कम्पनीलाई ‘इक्राएनपी इस्यूअर रेटिङ डबल बी प्लस’ प्रदान गरेको छ। उक्त रेटिङले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्छ।
दुई जलविद्युत् आयोजना सञ्चालनमा
हिम पर्वत हाइड्रोपावरले २० मेगावाट क्षमताको साँगु खोला जलविद्युत् आयोजना र ५.५ मेगावाट क्षमताको साँगु खोला–१ जलविद्युत् आयोजना सञ्चालन गरिरहेको छ।
कम्पनीका अनुसार २० मेगावाट क्षमताको साँगु खोला आयोजनाको कुल लागत ३ अर्ब ६५ करोड १७ लाख ८७ हजार २५४ रुपैयाँ रहेको छ। यसको प्रतिमेगावाट लागत १८ करोड २५ लाख ८९ हजार ३६३ रुपैयाँ छ। आयोजनाको विद्युत् उत्पादन अनुमतिपत्र अवधि २८ वर्ष बाँकी रहेको छ।
यस आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ६.०९ वर्ष र डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि ९.०८ वर्ष रहेको छ। आयोजनाबाट २०८२ असोज २५ गतेदेखि विद्युत् उत्पादन भइरहेको कम्पनीले जनाएको छ।
त्यस्तै, ५.५ मेगावाट क्षमताको साँगु खोला–१ आयोजनाको कुल लागत १ अर्ब १५ करोड ४ लाख ५३ हजार ८९ रुपैयाँ रहेको छ। यसको प्रतिमेगावाट लागत २० करोड ९१ लाख ७३ हजार २८९ रुपैयाँ रहेको छ।
यस आयोजनाको विद्युत् उत्पादन अनुमतिपत्र अवधि पनि २८ वर्ष बाँकी छ। आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ६.२९ वर्ष र डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि ९.५६ वर्ष रहेको छ। कम्पनीले यस आयोजनाबाट २०८२ साउन ८ गतेदेखि विद्युत् उत्पादन गर्दै आएको छ।
कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाका तोकिएका शाखामार्फत सी–आस्बा प्रणालीबाट आवेदन दिन सक्नेछन्।
यसका साथै सीडीएस एन्ड क्लियरिङ लिमिटेडको मेरो सेयर अनलाइन प्रणाली प्रयोग गरेर पनि आईपीओमा आवेदन दिन सकिनेछ।