free website hit counter

मन्त्रिपरिषद् विस्तार र एमसिसीले तात्याे सत्ता गठबन्धन

beemaadmin
२०७८ भाद्र २५, शुक्रबार

काठमाडौं । सरकार बनेको दुई महिनासम्म सरकार विस्तार हुन नसक्दा आलोचित बनेको सरकारले मन्त्रिपरिषदलाई पूर्णता दिन तथा अमेरिकी सरकारको मिलिनियम च्यालेन्ज कर्पोरेसन एमसिसी मा केन्द्रित छलफल गर्न सत्ता गठबन्धनको बैठक आज शुक्रबार बस्ने भएको छ।
गठबन्धनका पाँच दल नेपाली कांग्रेस, नेकपा माओवादीकेन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताको बैठक बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने कार्यक्रम तय भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयले बैठकको पुष्टि गरेको छ। सरकार गठन भएको करिब दुई महिना पुग्नै लाग्दा पनि मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेको गठबन्धनले सम्भवतः आज पूर्णता दिने जनाइएको छ।
सरकारलाई पूर्णता दिने बारेमा यसअघि गठबन्धनका नेताहरू पटक पटक छलफलमा जुटे पनि अहिलेसम्म पूर्णता दिन सकेका छैनन्। तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारले ३० असार २०७६ मा प्रतिनिधिसभा सचिवालयमा दर्ता गराएको एमसिसी पारित गर्ने या नगर्ने भन्ने विषयमा पनि सत्ता गठबन्धनका नेताले बैठकमा साझा धारणा बनाउने बालुवाटार स्रोतले जनाएको छ। दलहरूबीच सहमति हुन नसक्दा संसदबाट अनुमोदन हुन नसकेका बेला एमसिसीकी उपाध्यक्ष फतिमा सुमार नेतृत्वको टोली पनि बिहीबारदेखि काठमाडौंमा छ। कांग्रेस र जसपा एमसिसी पास गर्ने पक्षमा छन् भने माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका केही नेताहरू संशोधन हुनुपर्ने अडानमा छन्।

सम्बन्धित समाचार