free website hit counter

मन्त्रीमा भाग्य खुलेका तीन अनुहार

beemaadmin
२०७७ आश्विन १९, सोमबार

काठमाडौंं । भोलि दिउँसो ४ बजे नेकपा सचिवालयको बैठक बोलाइएको छ । भोलि नै क्याबिनेट हेरफेर भन्दा पनि रिक्त तीन मन्त्रालयमा नयाँ मन्त्री थप्ने बालुवाटारको प्रस्तावलाई मूर्त रूप दिइने भएको छ । सचिवालयमा प्रस्ताव नै नल्याई दुई जना अध्यक्षको सहमतिमा तीन जना मन्त्री थपिने सम्भावना बढेको हो । उच्च स्रोतका अनुसार भोलि साँझसम्म नयाँ मन्त्री बन्ने सूचीमा पूर्व एमालेतर्फबाट महासचिव विष्णु पौडेल,र सुरेन्द्र पाण्डेको नाम चर्चामा छ । सम्भवतः अर्थ मन्त्रीमा पौडेल, सहरी विकास मन्त्रीमा पाण्डे र सञ्चार मन्त्रीमा जनार्दन शर्माको नाम पक्कापक्की देखिएको छ । सञ्चारप्रति सँधै अरुचि देखाएका शर्माले पार्टीभित्र उत्पन्न पछिल्लो असहज अवस्थामा सँगै खटिएका पौडेललाई अर्थ मन्त्रालय दिँदा आफूलाई कम्तिमा गृह हुनुपर्ने भन्दै चर्को लबिङ्ग शुरु गरेको बताइन्छ ।

शहरी विकास मन्त्रीमा प्रस्तावित नेकपा नेता सुरेन्द्र पाण्डेले भने आफ्नो रुचिबेगरको मन्त्रालय नस्वीकार्ने जानकारी अध्यक्षद्वयलाई दिनुभएको छ । यसले गर्दा अर्थमा बिष्णु र अर्को कुनै मन्त्रालयमा जनार्दनको नियुक्ति हुने सम्भावना प्रवल छ । पार्टी एकीकरणदेखि दुई नेतावीच अनेक सम्झौताका साक्षी रुरु ९रुपन्देही र रुकुमे० बिष्णु र जनार्दनले भोलि थपिने क्याबिनेटमा पूर्व एमाले र माओवादीको प्रतिनिधित्व गर्नेछन् । बिष्णुको अर्थमन्त्रीमा नियुक्तिले पाँच नम्बर प्रदेशको राजधानी बुटवलबाट दाङ्ग सरेकोमा उत्पन्न आक्रोशलाई केही मत्थर पार्ने नेताहरुको हिसाबकिताब रहेको श्रोत बताउँछ ।

पूर्व उपप्रधानमन्त्री तथा स्थायी समिति सदस्य भीम रावलको नाम चर्चामा ल्याइए पनि उनी वर्तमान अवस्थामा उपप्रधानसहितको मन्त्री बन्नसक्ने सम्भावना देखिँदैन ।

यसबीच अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भएका श्रृंखलाबद्ध भेटमा प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व माओवादी पक्षबाट हुनसक्ने मन्त्रीहरूको सम्भावित नाम समेत आफैँले प्रस्ताव गर्नुभएको बताइन्छ । वहाँले पटकपटक प्रचण्डसँग ‘टोपबहादुर रायमाझीलाई बनाउनुपर्यो । लेखराज भट्ट र रामबहादुर थापा ‘बादल’ लाई कायम राख्नुपर्यो । अनि प्रभु साहलाई पनि बनाउनु पर्यो । बरु, अरु नभए हरिबोल गजुरेललाई भएनि बनाम्’ भनेर धेरैपटक प्रस्ताव गरे पनि दाहालले कुनै प्रतिक्रिया नजनाउनु भएको स्रोतले दाबी गरेको छ ।

प्रधानमन्त्रीले नै माओवादीको तर्फबाट बनाउने भनिएका मन्त्रीहरूको नाम समेत उल्लेख गर्न थालेपछि फालिने र राखिने मन्त्रीहरूको अनुमान गर्न थालिएको छ । प्रधानमन्त्री शिक्षामन्त्री गिरिराज मणि पोखरेललाई कुनैपनि हालतमा निरन्तरता नदिने पक्षमा देखिनु भएको बताइन्छ । पाठ्यक्रम र उपकुलपति नियुक्तिको विषयमा पोखरेल विवादमा तानिएका थिए ।

तर, उपकुलपति नियुक्तिमा सबै प्रधानमन्त्रीले चाहेबमोजिम गरिएको बताइन्छ । उपकुलपति नियुक्तिमा पोखरेलले गरेको सिफारिशलाई बालुवाटारले कुनै भाउ नदिएको स्रोतको दाबी छ । त्यसैगरी वनमन्त्री शक्ति बस्नेत पनि फालिने सूचीमा परेका छन् ।

यहि क्रममा वर्षमानलाई कुलमानको विषयमा डाम्ने र फाल्ने शंका गरिए पनि उनलाई कायम राख्नेमा प्रधानमन्त्री फेरि सकारात्मक हुनुभएको स्रोत बताउँछ । यसबीच पुनले प्रधानमन्त्रीसँग कम्तिमा पनि चार पटक भेट गरेर बिग्रेको कुरो मिलाइसकेको स्रोतको दाबी रहेको जनआस्थाले जनाएको छ ।

तर, पूर्व एमालेतर्फबाट नियुक्त कृषि मन्त्री घनश्याम भुसालको बारेमा भने प्रधानमन्त्री कहिल्यै सकारात्मक देखिनुभएको छैन । आफू निकट भएपनि सहकारी मन्त्री पद्यमा अर्याललाई बिदा गर्ने मुडमा प्रधानमन्त्री देखिनुभएको छ । त्यसैगरी खेलकुद मन्त्री जगत विश्वकर्माले पनि बिदा पाउने निश्चित झैँ देखिन्छ ।

 

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार