काठमाडौं । चुक्ता पुँजी वृद्धिको निर्णयसँगै बीका कम्पनीहरु एक आपसमा गाभिनेक्रम बढेको छ । अन्य विकल्पका ढोकाहरु बन्द भएपछि चुक्ता पुँजी वृद्धिका लागि मर्जरको विकल्प रहेको छैन । बीमा समितिले २०७८ चैत १० गते जीवन तथा निर्जीवन बीमा कम्पनीहरुलाई पूँजी बढाउन निर्देशन दिएको थियो । बीमा समितिको निर्देशन अनुसार २०७९ चैत मसान्तसम्ममा जीवन बीमा कम्पनीहरुले न्युनतम ५ अर्ब रुपैयाँ चुक्ता पूँजी पुर्याउनु पर्नेछ । बीमा समितिले पूँजी बढाउन निर्देशन दिएपछि ९ जीवन बीमा कम्पनीहरुले मर्जरमा जाने सम्झौता गरेका छन् ।
प्राइम लाइफ, गुराँस लाइफ र युनियन लाइफ इन्स्यारेन्सबीच एक आपसमा मर्जरमा जाने सम्झौता गरेका छन् । यस्तै सूर्या लाइफ र ज्योति लाइफ इन्स्योरेन्स, सानिमा लाइफ र रिलायन्स लाइफ, प्रभु लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्सबीच पनि मर्जरमा जाने सम्झौता भएका छन् । गत आर्थिक वर्षको असार मसान्तसम्ममा जीवन बीमा कम्पनीहरुले एक खर्ब ३९ अर्ब ८ करोड ८९ लाख रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेका छन् । त्यसमध्ये २५.४२ प्रतिशत अर्थात ३५ अर्ब ३५ करोड रुपैयाँ नेपाल लाइफले मात्रै बीमाशुल्क आर्जन गरेको छ ।
यस्तै, मर्जरमा जाने सम्झौता गरेका प्राइम लाइफले असार मसान्तसम्ममा ४ अर्ब ८७ करोड रुपैयाँ, गुराँस लाइफले ३ अर्ब ८ करोड रुपैयाँ र युनियन लाइफले ८ अर्ब ९ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् । मर्जरमा जाने सम्झौता गरेका प्राइम, गुराँस र युनियनले कुल १६ अर्ब ४ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् । यो जीवन बीमा कम्पनीहरुले आर्जन गरेको कुल बीमाशुल्क १ खर्ब ३९ अर्ब ८ करोड रुपैयाँको ११.५३ प्रतिशत हुन आउँछ ।
यि तीन वटा जीवन बीमा कम्पनी मर्जरमा जाने सम्झौता गरेपनि नेपाल लाइफको बजार हिसा भने भेट्न भने कठिन देखिन्छ । यसैगरी, सूर्या लाइफ र ज्योति लाइफ इन्स्योरेन्सबीच पनि मर्जरमा जाने सम्झौता गरेका छन् । चालु आर्थिक वर्षको असारसम्ममा सूर्या लाइफको ३.५९ प्रतिशत र ज्योति लाइफको २.७४ प्रतिशत बजार हिस्सा रहेको छ । मर्जर पश्चात बन्ने कम्पनीको बजार हिस्सा ६.३३ प्रतिशत पुग्नेछ । सानिमा लाइफको १।६५ प्रतिशत र रिलायन्स लाइफको २.२५ प्रतिशत रहेको छ । मर्जर पश्चात बन्ने कम्पनीको बजार हिस्सा ३.९० प्रतिशत पुनेछ । यस्तै प्रभु लाइफको १।७२ प्रतिशत र महालक्ष्मी लाइफको १।१५ प्रतिशत रहेको छ । त्यस अनुसार मर्जर पश्चात बन्ने कम्पनीको बजार हिस्सा २।८७ प्रतिशत कायम हुनेछ ।