एजेन्सी । सेनाको आफ्नो देश अनुसारको नियम हुन्छ । देशको स्वतन्त्रताको ३० औं वार्षिकोत्सव मनाउने क्रममा युरोलेपी देश युक्रेनले २४ अगष्टका दिन एक सैन्य परेड आयोजना गर्ने भएको छ । सोभियत संघको पतनपछि ३० वर्षअघि स्वतन्त्र भएको यो देशले आयोजना गर्न लागेको परेका कारण अहिले देशमा ठूलो विवाद भएको छ । परेडका विषयमा त्यहाँको रक्षा मन्त्रालयले गरेको एउटा निर्णयका कारण विवाद सृजना भएको हो ।
बीबीसीका अनुसार युक्रेनको रक्षा मन्त्रालयले यो परेडमा महिला सैनिकहरुलाई अन्य सैनिकहरुले जस्तो सैन्य बुट नभइ अग्लो कुर्कुच्चा अर्थात हाइ हिल भएका स्याण्डल लगाएर परेड गराउने तयारी गरेको छ । यो निर्णयमा रक्षा मन्त्रालयले लैंगिक विभेद गरेको भन्दै देशका जनताले विरोध गरिरहेका छन् । जनता मात्र नभइ जनप्रतिनिधिहरु पनि रक्षा मन्त्रालयको यो निर्णयप्रति असन्तुष्ट छन् । यो निर्णयका कारण अहिले देशमा आक्रोशको वातावरण बनेको छ ।
विपक्षी सांसद इरिना गेराश्चेन्कोले यो महिलाप्रति असमानता मात्र नभइ लैंगिक भेदभाव भएको बताइन् । तर, सेनाले भने सेनाको युनिफर्ममा हाइ हिल पनि समावेश भएको र यो युनिफर्मकै एक अंग भएको बताएको छ । यो निर्णयलाई लिएर युक्रेनमा मानिसहरुले आश्चर्य व्यक्त गरिरहेका छन् । विपक्षी सांसदहरुको एक समूहले रक्षा मन्त्री एन्ड्री तरेनलाई माफी माग्न भनेका छन् । समाजिक संजालमा भिटाली पोर्टनिकोभले लेखिन् ‘हिलमा परेडको कहानी वास्तविक अपमान हो । केही अधिकारीहरुको मध्ययुगीन मानसिकता हो ।’
अर्का नेटिजेन गोराश्चेन्कोले लेखे ‘मैले पहिले सोचेको थिएँ कि महिला सैनिकले लडाकु पाइन्ट र ब्लक हिलमा पूर्वाभ्यास गर्नु केवल एक घटना थियो । तर यो समानता होइन लैंगिकता हो र आश्चर्य छ कि मन्त्रालयले महिलाहरुको अनुरुप शरीरको कवच डिजाइन गर्नु भन्दा महत्वपूर्ण यसलाई किन सम्झियो ।’ उपसंसदीइ अध्यक्ष ओलेना कोन्डराट्युकका अनुसार १३ हजार ५ सयभन्दा धेरै महिलाले रुस समर्थित पृथकतावादीसँगको लडाइँ बलियो बनाएका छन् । ३१ हजारभन्दा धेरै महिला देशको सशस्त्र बलमा सेवा गर्छन् जहाँ ४ हजारभन्दा धेरै महिला अधिकारी छन् ।