बीमा उद्योगमा ६ दशक बिताइसक्नुभएका भोजराज शर्मा यस क्षेत्रमा परिचित नाम हो भने यस क्षेत्रको सुधारका लागि केही गर्न सक्ने व्यक्तित्व पनि हुनुहुन्छ । वरिष्ठ बीमा विज्ञ शर्मा यतिबेला इन्स्योरेन्स इन्ष्टिच्युट अफ नेपालको प्रमुख कार्यकारी अधिकृतको रुपमा हुनुहुन्छ । दक्ष जनशक्ति अभाव नै बीमा क्षेत्रको प्रमुख समस्या रहेको बेला शर्माले इन्स्योरेन्स इन्ष्टिच्यूट स्थापना गरेर यस क्षेत्रको समस्यामाथि सम्बोधन गर्नुभएकै हो । कोभिड महामारीले विश्व अर्थतन्त्र धरासायी भएका बेला पनि दक्ष जनशक्ति उत्पादनमा उनको यात्रा अनवरत थियो । विज्ञ शर्मासँग अर्थबीमाले गरेको छोटो कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।
० कोरोना महामारी पछि इन्स्योरेन्स इन्ष्टिच्यूट नेपालको गतिविधि कस्तो छ ?
कोभिडभन्दा पहिले यस संस्थामा तालिमको गतिविधि राम्रै चलेको थियो । इन्स्यारेन्स इन्ष्टिच्यूट अफ इन्डियाले अफलाइन तालिम दिँदै आएकोमा कोभिडकै कारण हाल त्यो तालिम स्थगित भएको छ । त्यसपछि हामीले आफ्नै पहलमा अनलाइन तालिम दिने व्यवस्था मिलायौं । यसको प्रत्यक्ष फाइदा भनेको जताततैबाट इच्छुक व्यक्तिहरु सहभागी हुन पाए । त्यही बेला पुर्नबिमा कम्पनीका व्यक्तिहरुलाई १५ दिन अनलाइन, १५ दिन अफलाइन तालिम दिइएको थियो । जसमा व्यवसायिक रुपले विभिन्न विभागका व्यक्तिहरुलाई बीमा क्षेत्रको सुशासनका बारेमा तालिम दिइयो । यसैबीचमा धनगढी लगायत उपत्यका बाहिरका विभिन्न क्षेत्रमा गई अभिकर्ताहरुलाई पनि रिफ्रेसमेन्ट (पुनर्ताजगी) तालिम दिइयो । अब हामी सातै प्रदेशमा तालिम दिने व्यवस्था मिलाउँदैछौं । उक्त तालिम बजार व्यवस्थापन, मानव संशाधन, जोखिमाङ्कन लगायतका विविध विषय समेटिने छन् ।
० आगामी योजना के छ ?
निकट भविष्यमा हामी विश्वविद्यालयसँग सम्बन्धन लिएर बीमासम्बन्धी स्नातक र स्नातकोत्तरसम्मको पढाई शुरु गर्दैछौ भने पेशागत उपाधिमूलक कोर्ष योजना ल्याउनेका साथ काम अघि बढिसकेको छ । त्यसका लागि विविध क्षेत्रहरुको अध्ययन गर्ने काम पनि भइरहेको छ ।
० संस्थाको आर्थिक उपलब्धी कस्तो छ ?
यस संस्थाको उद्देश्य नाफा कमाउने भन्दा पनि दक्ष जनशक्ति उत्पादन गर्ने हो । त्यसो त विविध खर्च खटाएर हामी फाइदामै छौं ।
० बीमा अभिकर्ताको इजाजत लिन तालिमपछि पनि परीक्षामा पास हुनुपर्ने व्यवस्था बीमा समितिले गर्दैछ, यसलाई कसरी लिनु भएको त ?
अभिकर्ता भनेको दक्ष, परिपक्व र उत्पादनको ज्ञान भएको हुनुपर्दछ । बीमक र बीमा व्यवसायसम्बन्धी प्राय सबै ज्ञान जरुरी हुन्छ । त्यसैले तालिमपछि परीक्षामा ६० प्रतिशत अंश ल्याई उत्तीर्ण हुनेलाई मात्रै अभिकर्ताको इजाजत दिन खोजिएको हो । सो समितिमा म आफैं पनि छु । ड्राफ्ट बीमा समितिलाई बुझाइएको छ, सम्भवतः महिनादिनभित्र त्यो नियम लागू हुन्छ ।
० भएका कम्पनीलाई मर्जरमा पठाएर माइक्रो इन्स्योरेन्सको लाइन्स खोलिएको छ, यसलाई तपाईंले कसरी लिनुभएको छ ?
माइक्रो इन्स्योरेनस र अन्य बीमकहरुको क्षेत्र नै फरक छ । माइक्रो भनेको ग्रामीण र न्यून आय भएका ग्राहकमुखी हुन्छन् भने बीमकहरु व्यापारिक हुन्छन् । त्यसैले बीमक थपिएको भन्न मिल्दैन । किनकि माइक्रोको बीमाङ्क रकम र दर रेट नै थोरै हुन्छ भने आम्दानी पनि कम नै हुन्छ । करिब करिब माइक्रो फाइनान्ससँग मिल्दोजुल्दो हो ।
० माइक्रो इन्स्योरेन्सको दायरा के छ ?
यो पछि निर्देशिकाले नै तोकिदिन्छ ।
० जोखिमाङ्कनको प्रमुख पक्ष के हो ?
जब बीमा प्रस्ताव आउँछन् ती सबै बीमा योग्य नहुन सक्छन् । र, दररेट, अवधि पनि फरक हुन सक्छ । ‘जोखिमाङ्कन भनेको बीमा गर्नका लागि आएको प्रस्ताव बीमा गर्ने वा नगर्ने, गर्ने भए कुन दररेट र शर्तमा गर्ने भन्ने प्रक्रियालाई भनिन्छ ।’ यसको प्रमुख पक्ष भनेको जीवन बीमामा व्यक्तिगत स्वास्थ्य, पारिवारिक इतिहास, आर्थिक पक्ष, आयश्रोत र पेशाको आधार मूख्य हुन्छ ।
० अन्त्यमा केही भन्नु छ ?
अझै बीमा चेतनाको कमी हाम्रो समाजमा छ । बीमा हरेक व्यक्तिलाई आवश्यक छ । सर्वसाधारणले पनि आफ्नो क्षमता अनुुसारको जीवन र भौतिक सम्पत्तिको बीमा गरी आर्थिक सुनिश्चितता कायम गर्नुपर्छ ।