free website hit counter

मातृभूमिको हितका लागि यसो गर्न सकिँदैन ?

beemaadmin
२०७७ बैशाख २८, आईतवार

विवादित क्षेत्र भनेर दुबै देशले स्वीकारेको अवस्थामा भारतले लिपुलेक क्षेत्रमा त्यो सडक वा अन्य संरचना बनाउनै हुँदैनथ्यो । अनि नेपालले पनि आफ्नो भूमि दावी गरेको क्षेत्रमा सडक वा अन्य संरचना बने नबनेकोमा रखबारी गर्नुपथ्र्यो । अब प्रधानमन्त्रीकै तहमा आजभोलि नै फोनवार्ता गरेर नेपालले समस्या समाधानको लागि तत्काल सचिवस्तरीय संयन्त्रको बैठक बोलाउन ताकेता गर्नुपर्छ । शनिबार भारतीय विदेश मन्त्रालयको विज्ञप्तिमा कोरोना महामारीको अन्त्यपछि संयन्त्रको बैठक बोलाउने व्यहोरा उल्लेख छ । त्यसभन्दा अगाडि हाललाई सडक निर्माण कार्य यथास्थितिमा राख्न लगाउनुपर्छ । विवाद समाधानतर्फ अग्रसर हुन भारतलाई आग्रह गर्नुपर्छ र समाधान नहोउञ्जेल विवादित अवस्थालाई यथास्थितिमा राख्न भन्नुपर्छ ।

भारतले बडो विश्लेषण र योजनाबद्ध ढंगले यो काम गरेको देखिन्छ । गतवर्ष नक्सा प्रकाशित गरेर सो ठाउँलाई आफ्नो भूमिमा पारेपछि धमाधम निर्माण कार्यलाई अघि बढाएको हो। हुन तः भारत सरकारले उक्त सडक स्तरोन्नतिको लागि डेढ दशकअघि नै सैद्धान्तिक योजना बनाएको थियो । पाँच वर्षअघि भारत र चीनबीच भएको सम्झौतापछि मात्र नेपाल झल्याँस्स भएको हो । मानसरोबार जाने तीर्थयात्रीको लागि खोलिएको धार्मिक मार्ग भनिएपनि उक्त सडक निर्माणभित्र भारतको रणनीतिक, सामरिक र व्यापारिक स्वार्थ लुकेको छ ।
सीमा निर्धारणको काम संयुक्त तवरले हुनुपर्छ,यो अन्तर्राष्ट्रिय मान्यता हो । सो क्षेत्रमा सीमा निर्धारण गर्न नेपालले गरेको पटक पटकको अनुरोधलाई भारतले विभिन्न बहानामा पन्छाउँदै आएको छ । तर नेपालले आन्तरिक रूपमा नाप नक्शाको काम पूरा गरी सकेको छ ।

प्राविधिक तहमा हुने अधिकांश बैठकमा उसले जहिलेपनि सीमा निर्धारणको काम प्राविधिक वा कर्मचारी तहको नभएको रटान लगाउने गरेको छ । सीमा निर्धारणको काम दुई देशका राजनीतिक नेतृत्वबाट हुनपर्छ भन्ने भारतले कहिल्यै त्यो तहबाट पहल गरेको छैन । यसअघिका धेरैवटा सीमा निर्धारणसम्बन्धी वार्तामा भारतीय पक्षले खोँचे मात्र थाप्दै आएको छ । पछिल्लो पटक सन् २००६ मा उसले त्यस्तो हर्कत देखाएको थियो । नयाँ दिल्लीमा भएको उक्त बैठक माइन्युटै नगरी भारतीय वार्ताकारहरु उठेर हिंडिदिएपछि टुंगिएको थियो ।
भारतले निकै सुझबुझपूर्ण ढंगले सन् २००५ मा सो सडक स्तरोन्नतिको लागि बजेट छुट्यायो । तरपनि, सन् २००६ मा विवाद समाधानको नाटक गर्दै बैठकको आयोजना गर्यो । त्यहि वार्ता निश्कर्षविहीन टुंगिएको हो । अब नेपाल सरकारले तत्काल वार्ताको लागि पहल गर्नुपर्छ । उच्च राजनीतिक तथा कूटनीतिक तहबाट पनि समस्या समाधानको लागि आवश्यक कदम चाल्नुपर्छ ।

नेपाली भूमिमा निर्माण गरिएको उक्त सडकको लम्बाई ८०।५९ किलोमिटर छ । भारतले ओगटेको कालापानी र लिपुलेकको क्षेत्रफल हालको भक्तपुर जिल्लाको तीनवटा भूभाग बराबर हुन आउँछ । (जनआस्था डट कमबाट)

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार