free website hit counter

माथिल्लो तामाकोशीको हकप्रद संस्थापकले पनि किन्ने

beemaadmin
२०८० असार ३, आईतवार

काठमाडौं । राष्ट्रिय गौरवको ४५६ मेगावाटको आयोजना माथिल्लो तामाकोशीले निश्काशन गर्न लागेको शत प्रतिशत हकप्रद सेयर सबै संस्थापक सेयरधनीले किन्ने प्रतिवद्धता आएको छ । माथिल्लो तामाकोशीको हकप्रद बिक्री प्रबन्धक सनराईज क्यापिटलका अनुसार निश्काशन हुने हकप्रद सेयर किन्न सबै संस्थापकहरुबाट प्रतिबद्धता पत्र प्राप्त भईसकेको हो। माथिल्लो तामाकोशी नेपाल विद्यत प्राधिकरणको ४१ प्रतिशत संस्थपक स्वामित्व छ भने नेपाल टेलिकमको ६ र नेपाल बिमा संस्थान र नागरिक लगानी कोषको २ । २ प्रतिशत हिस्सेदारी छ । मुख्य संस्थापक लगानीकर्ताहरुले हकप्रद किन्ने प्रतिबद्धता जनाईसकेको हुनाले अबको दुई साता भित्र माथिल्लो तामाकोशीको हकप्रद धितोपत्र बोर्डबाट स्वीकृत भएर बिक्रीमा आउनसक्ने संभावना बढेको छ । कम्पनीले साधारणसभाबाट हकप्रद बिक्री प्रस्ताब पारित गरी गत बर्षको फागुन १८ गते धितोपत्र बोर्डमा आबेदन दिएकोमा गत बैसाख २७ गते पहिलो प्रतिक्रिया प्राप्त गरेको छ । धितोपत्र बोर्डले मागेको थप कागजात पेश गरेपछि कम्पनीले चाँडै हकप्रद स्वीकृति पाउनसक्छ । सरकारले उच्च महत्व दिएको सबैभन्दा ठूलो आयोजना भएकाले माथिल्लो तामाकोशीको हकप्रदलाई महत्वका साथ हेरिएको छ । अपर तामाकोशी हाइड्रोपावरका प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा मोहनप्रसाद गौतम पनि हकप्रदको शेयर छिट्टै आउने बताउँछन् । माथिल्लो तामाकोशीको सेयरमा आबेदन गर्ने दोलखाबासी, कर्मचारी संचय कोष, नागरिक लगानी कोषका संचयकर्ता र कर्मचारी नेपाल विद्युत प्राधिकरण र नेपाल टेलिकमका कर्मचारीका साथै देशभरका सर्बसाधारणले सेयरको राम्रो मुल्य पाएकाले पनि साधारण सेयरको हकप्रदमा चासो देखाउने संभावना छ । प्रति कित्ता १०० रुपैयाँमा सेयर आबेदन गरेका कर्मचारी तथा सर्बसाधारणले अहिले माथिल्लो तामाकोशीको सेयर दोस्रो बजारमा ४७० रुपैयाँ माथिको मूल्यमा किनबेच गरिरहेका छन् । १० अर्ब ५९ करोड चुक्ता पूँजी रहेको कम्पनीले सोही बराबरको हकप्रद निश्काशन गर्न लागेको हो । यसबाट संकलन हुने रकमले दोलखामै २२ मेगावाटको रोल्वालिड।आयोजना बनाईनुका साथै बक्यौता ऋण तिरिने जनाईएको छ । रोल्वालिड। आयोजना निर्माणको ठेक्का प्रक्रिया पुरा भएर निर्माण कार्य अगाडि बढिरहेको छ । यसबाट माथिल्लो तामाकोशीको बित्तीय अवस्थामा सुधार आउनुका साथै जडित बिद्युत क्षमतामा बिस्तार हुने अपेक्षा गरिएको छ ।

सम्बन्धित समाचार