काठमाडौं । मेटलाइफ नेपालले ललितपुरको पुल्चोकस्थित सिग्नेचर प्लेटिनम टावरमा नयाँ प्रधान कार्यालय (हेड अफिस) उद्घाटन गरेको छ । नेपाली परिवारलाई वित्तीय सुरक्षा र संरक्षण प्रदान गर्दै आएको २४ वर्षको यात्रामा कम्पनीले यसलाई महत्वपूर्ण उपलब्धिका रूपमा लिएको छ । कम्पनीका अनुसार नयाँ हेड अफिसले मेटलाइफ नेपालको आधुनिक, चुस्त तथा भविष्यतर्फ उन्मुख संस्थाको रूपमा भएको विकासलाई प्रतिबिम्बित गर्दछ । आधुनिक पूर्वाधार, एकीकृत प्रविधि प्रणाली तथा सहकार्यलाई प्रोत्साहन गर्ने कार्यस्थल संरचनासहित तयार गरिएको कार्यालयले कार्य सञ्चालनलाई थप प्रभावकारी बनाउने तथा ग्राहकलाई छिटो, सहज र उत्कृष्ट सेवा अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ । यो विस्तार केवल भौतिक पूर्वाधार वृद्धि मात्र नभई ग्राहकसँगको सम्बन्धमा विश्वास, पारदर्शिता र द्रुत सेवाप्रतिको संस्थागत प्रतिबद्धताको अभिव्यक्ति भएको कम्पनीले जनाएको छ। मेटलाइफ नेपालले नयाँ कार्यालयको वास्तविक मूल्य सेवाको गुणस्तरमार्फत स्थापित हुने विश्वास व्यक्त गर्दै नवप्रवर्तन, पारदर्शिता र ग्राहक–केन्द्रित सेवामार्फत देशभर वित्तीय आत्मविश्वास सुदृढ बनाउने लक्ष्य लिएको छ। उद्घाटन समारोहमा नियामक निकाय, क्षेत्रीय नेतृत्व, साझेदार तथा कर्मचारीहरूको सहभागिता रहेको थियो । कार्यक्रममा संयुक्त राज्य अमेरिकाको दूतावासका चार्जे द’अफेयर्स स्कट अर्बोम, नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदी तथा मेटलाइफका एशिया क्षेत्रीय अध्यक्ष लिन्डन ओलिभर र वरिष्ठ उपाध्यक्ष एलेना बुटारोभालगायत विशिष्ट अतिथिहरू सहभागी भएका थिए । कार्यक्रममा बोल्दै एशिया क्षेत्रीय अध्यक्ष लिन्डन ओलिभरले नयाँ प्रधान कार्यालयले नेपालप्रतिको मेटलाइफको दीर्घकालीन प्रतिबद्धता झल्काउने उल्लेख गर्दै आधुनिक क्षमतासहित ग्राहक अनुभवलाई अझ सुदृढ बनाउने दिशामा यो महत्वपूर्ण कदम भएको बताए । उद्घाटन समारोहमा नेपाल बीमा प्राधिकरण, संयुक्त राज्य अमेरिकी दूतावास, एमच्याम नेपाल, साझेदार बैंक, लघुवित्त संस्था, मेटलाइफ व्यवस्थापन टोली तथा एजेन्सी प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।