काठमाडौं । नेपाल भारत सम्बन्धलाई सुमधुर बनाउँदै जनस्तरबाट हुने गतिविधिमा सक्रियता बढाउन २०११ सालमा राष्ट्रकवि माधवप्रसाद घिमिरे संस्थापक अध्यक्ष रहँदै स्थापित नेपाल भारत मैत्री संघले आफ्नो सक्रियता देखाउँदै आएको छ । प्राकृतिक विपत्तिका बेला राहतका कार्यक्रमदेखि विभिन्न खालका बहस चलाउँदै आएको मैत्री संघले हालै प्राकृतिक विपत्तिको मारमा परेका नागरिकलाई राहतका कार्यक्रम पनि वितरण गरेको छ । संघले शुक्रबार आयोजित एक कार्यक्रममा तीन जनालाई मनोनयन गरेको छ । केन्द्रीय अध्यक्ष माननीय ओमप्रकाश सरावगीको उपस्थितिमा समाजसेवी चक्रमान श्रेष्ठलाई संरक्षक, केशवप्रसाद अधिकारीलाई प्रमुख सल्लाहकार र राजकुमार अग्रवाल कोषाध्यक्षको जिम्मेवारी दिइएको उपाध्यक्ष ईश्वर श्रेष्ठले बताउनुभएको छ । कार्यक्रममा वरिष्ठ उपाध्यक्ष शैलेन्द्रमोहन झा, महासचिव बोधकृष्ण सुवेदीलगायतका व्यक्तित्वहरुको उपथिति रहेको थियो ।