काठमाडौं । आधुनिक चिकित्सा पद्दतिको विकासले ओझेलमा परेको प्राकृतिक चिकित्साप्रति आम जनसमुदायको आकर्षण बढिरहेको बेला काठमाडौंको बसुन्धरामा खोलिएको काठमाडौं नेचुरोपेथी अस्पतालको आज औपचारिक उद्घाटन भएको छ । सुलभ मूल्यमा गुणस्तरीय सेवा दिने उद्देश्यले खोलिएको सो अस्पतालको उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले अस्पतालको उद्घाटन गरेका छन् । उद्घाटन गर्दै उपप्रधानमन्त्री पोखरेलले प्राकृतिक चिकित्सा पद्दतीको अस्पतालको कामले निरन्तरता पाउनुपर्ने बताए ।
आफू प्रतिनिधि चुनिएको क्षेत्रमा खुलेको अस्पतालले सेवामूलक भएर जनताकै सेवा गर्न लागेकोमा खुशी व्यक्त गर्दै पोखरेलले भने, यहाँ जे जस्तो सेवा सुविधाको कुरा उल्लेख छन् ति जनतासँग गरिएको कमिटमेन्ट हो, अस्पतालको टिमले गरेको कमिटमेन्टमा कुनै कमजोरी हुन नहुने विश्वास मैले लिएको छु । कार्यव्यस्तताका बीच उद्घाटनको कार्यक्रममा आउने या नआउने दोधारमा रहेको सुनाउँदै आफू यहाँ नआएको भए गल्ती हुने रहेछ । स्वास्थ्यका हिसाबमा जान्नुपर्ने धेरै चिज रहेछन्, उपप्रम पोखरेलले भने ।
अस्पतालका अध्यक्ष गणेश पाण्डेले यो अस्पतालले सेवा दिने र निरन्तरतामा कुनै सम्झौता नगर्ने प्रतिबद्धता व्यक्त गरे । अस्पताल सञ्चालन गर्नु कतिपयका लागि रोजगारीको अवसर समेत भएको र प्राकृतिक चिकित्सा पद्दतीको प्रबद्र्धन पनि रहेको पाण्डेले बताए । कार्यक्रममा नेपाल प्रहरीका महानिरिक्षक सर्वेन्द्र खनाल, सशस्त्र प्रहरीका महानिरिक्षक शैलेन्द्र खनाल, नेपाली सेनाका उपत्यका पृतनापतिलगायतको उपस्थिति रहेको थियो ।
उद्घाटन कार्यक्रममा विभिन्न बैंकका सिईओ, डेपुटी सिईओ, इन्स्योरेन्स कम्पनीका सिईओ, स्थानीय सरकारका अधिकारी र युवा व्यापारी करण चौधरी, वरिष्ठ योग तथा प्राकृतिक चिकित्सक डा. हरिप्रसाद पोखरेल, कर्मचारी युनियनका केन्द्रय उपाध्यक्ष भोलानाथ पोखरेललगायतको बाक्लो उपस्थिति रहेको थियो ।
अस्पतालमा प्राकृतिक चिकित्सा, फिजियो थेरापी, मसाज थेरापी, शिरोधारा, योगथेरापी, अकुपञ्चर, अकुपे्रेसरलगायतका सेवाहरु रहेको अस्पतालले बताएको छ । कम्मर, गर्दन, घुँडा र मांशपेशीको दुखाई, बाथ तथा अड्डीसम्बन्धी समस्या, नशा च्यापिएको समस्या, प्यारालाइसिस, तनाव, डिप्रेश र मानसिक समस्या, उच्च रक्तचाप, कब्जियत, पायल्स, मोटोपना, महिनावारी गड्बढी, पिनास, माइग्रेसन, दमलगायतका रोगको दक्ष चिकित्सकबाट प्राकृतिक उपचार गरिने अध्यक्ष पाण्डेले बताए ।