free website hit counter

यति धेरै स्वास्थ्यकर्मीले किन लगाएनन् कोरोना भ्याक्सिन ?

beemaadmin
२०७७ माघ २५, आईतवार

भक्तपुर । कोरोनाले विश्व आक्रान्त भएको बेला कोरोनाको भ्याक्सिनको पर्खाइमा सारा विश्व रहेको छ । विकसित मुलुकले मात्रै कोरोनाको खोप लगाउन थालेका बेला नेपाललाई भारतले अनुदानस्वरुप दिएको कोरोना भ्याक्सिन अहिले अग्र पंक्तिमा खट्निे स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सफाई कर्मचारीलाई लगाइएको छ । तर अग्र पंक्तिमै खटिने सबैले भने यो खोप नलगाएको पाइएको छ ।

भक्तपुरका ५८ प्रतिशत चिकित्सक तथा स्वास्थ्यकर्मीले नै कोरोना भाइरस संक्रमण विरुद्धको खोप लगाएनन् । सरकारले प्राथमिकतामा राखेर चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई पहिलो चरणमा खोप दिने व्यवस्था गरेको थियो । तर भक्तपुरमा जम्मा ४२ प्रतिशतमात्रै चिकित्सक तथा स्वास्थ्यकर्मीले कोरोनाको खोप लगाएका छन् ।

स्वास्थ्य कार्यालय भक्तपुरका अनुसार ३ हजार ३ सय ७९ जना चिकित्सक तथा स्वास्थ्यकर्मीले खोपको लागि नाम लेखाएका थिए तर जम्मा ४२ प्रतिशत अर्थात् एक हजार ४ सय ७ जनाले मात्रै खोप लगाएको प्रमुख मिजारले जानकारी दिए । एकहजार नौ सय ७२ जना चिकित्सक तथा स्वास्थ्यकर्मीले खोप नै लगाएनन् । त्यस्तै आधाभन्दा बढी महिला स्वास्थ्य स्वयंसेविकाले पनि कोभिड १९ विरुद्धको खोप लगाएनन् । यहाँका २ सय ७९ जनाले खोपको लागि आफ्नो नाम दर्ता गरेका थिए ।

जसमध्ये एकसय ३८ जनाले मात्रै खोप लगाएको स्वास्थ्य कार्यालय प्रमुख मिजारले जानकारी दिए । भक्तपुरका एकसय ४१ महिला स्वास्थ्य स्वयंसेविकाहरुले खोप लगाएनन्’, उनले भने, ‘त्यस्तै ३४ प्रतिशत अर्थात ७३ जना एम्बुलेन्स तथा शव बाहन चालक तथा सहचालकहरुले पनि खोप लगाएनन् ।’
प्रमुख मिजारका अनुसार ६ सय ४१ जना अस्पताल तथा स्वास्थ्य संस्थामा कार्यरत अन्य कर्मचारीहरुले भने खोप लगाएका छन् ।
समग्रमा भक्तपुरका ६३ प्रतिशतले मात्रै कोभिड १९ विरुद्धको खोप लगाएका छन् । कोभिड १९ विरुद्धको खोप लगाउन भक्तपुरमा ३ हजार ९ सय १६ जनाले आफ्नो नाम लेखाएका थिए । जसमध्ये शनिबार अन्तिम दिनसम्म जम्मा २ हजार ४ सय ७२ जनाले मात्रै खोप लगाएको स्वास्थ्य कार्यालय प्रमुख मिजारले जानकारी दिए ।

उनले डरकै कारण खोप लगाउनेहरुको संख्यामा कमी आएको हुन सक्ने अनुमान लगाए । ‘खोप नलगाउनुको ठ्याक्कै यहीं कारण भन्ने छैन’, प्रमुख मिजारले भने, ‘तर धेरैजसोले डरकै कारण खोप नलगाएको देखिन्छ ।’ रोग तथा उपचारमा सचेत मानिने स्वास्थ्यकर्मीहरुले नै खोप नलगाएपछि सर्वसाधारणमा खोपप्रति अविश्वास झन् बढ्ने देखिएको छ ।

खोप नलगाएका स्वास्थ्यकर्मीले खोप लिएका हप्तादिनसम्म बिरामी भएको देखेर नलगाएको स्वीकार गरेका छन् । त्यसमाथि खोप विश्वसनीय नभएकाले पनि नलगाएको एक चिकित्सक बताउँछन् । ‘भारतले सहयोग गरेको यो खोप विश्व स्वास्थ्य संगठनबाट मान्यता प्राप्त नगरेको भन्ने नि सुनियो’, उनले थपे, ‘त्यस्तै नेपालमा प्रयोगको लागि खोप दिएको अर्को हल्लाले गर्दा पनि मलाई खोप लगाइहालौं भन्ने आकर्षण भएन ।’ उनका अनुसार यो खोपमा अरु खोपमा जस्तो भ्याक्सिन भाइल मनिटर (भीभीएम) संकेतसमेत थिएन ।

जुन भीभीएम संकेतले खोपको अवस्था कस्तो छ, बाहिरी वातावरण तथा तापक्रमले खोपलाई केही असर गरेको छ कि छैन भनी त्यहीं भीभीएम संकेतले थाहा हुने उनी बताउँछन् । ‘टिटानसमा खोपमा समेत भीभीएम संकेत हुन्छ’, उनले भने, ‘तर यो खोपमा त्यो पनि देखिनँ । जसले गर्दा खोप सुरक्षित छ भन्ने मलाई लागेन ।’ भक्तपुरमा कोभिड १९ विरुद्धको खोप लगाउन भक्तपुर अस्पताल र नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा खोप केन्द्र तोकिएको थियो । यी दुई केन्द्रमा माघ १४ गतेदेखि खोप दिन सुरु गरिएको थियो ।

भक्तपुरमा ३ दिनभित्र नाम दर्ता गरेका सबैलाई खोप दिइसक्ने लक्ष्य राखिएको थियो तर शनिबार एघारौं दिनसम्म खोप दिँदा पनि जम्मा ६३ प्रतिशतले मात्रै खोप लिएका हुन् ।

सम्बन्धित समाचार