बीमा बजार आशालाग्दो स्थितिमा प्रवेश गरेको पक्कै हो । विकासोन्मुख हाम्रो देशमा पनि २२ प्रतिशतको हाराहारीमा बीमाको पहुँच पुग्नु धेरै राम्रो पक्ष हो । जीवन या निर्जिबन बीमा आफैंमा धेरै महत्वपूर्ण छ । जीवन बीमामा बचत र लगानीको दुइवटै उपलब्धी हुन्छ भने निर्जिबन बीमाको शुल्क भनेको थप लगानी भई बढी आर्थिक स्थिरता ल्याउँदछ । कुनै पनि व्यक्ति, कलकारखाना, उद्योग, घर, सम्पत्तिलगायतको विविध क्षेत्रको क्षतिको पूर्ति गरेर आर्थिक रूपमा निरन्तरता भई आफ्नो स्तरबाट तल झर्न नदिने एउटै उपाय हो बीमा ।
आम जनमानसको चिन्तनमा बीमा भनेको मृत्युपछिको भुक्तानी सम्झेर उक्त बीमा शुल्कलाई दैनिक खर्चसँग तुलना गर्दछन् तर यो गलत बुझाई हो । यो भ्रम जीवन बीमामा बढी प्रचलित छ । यहाँ बीमा शुल्कालई थप लगानी हो भन्ने कसरी प्रमाणित हुन्छ भने यदि व्यक्तिले जीवन बीमा गरेको र सम्झौता अवधिमा अप्रिय घटना नघटे पनि बीमाको अवधि समाप्त भएपछि दोब्बरदेखि तेब्बरसम्म प्रतिफल पाउने निश्चित हुन्छ । अझ कतिपय बीमकले त कुनै बीमा करारमा पूरक बिमालेख (बीमकको सुविधा भए) मा धेरै प्रकारका घातक रोगको उपचारको लागि बीमाङ्क रकम (बीमा गरेको सम्झौता बराबरको) उपचार खर्च उपलब्ध गराई आर्थिक रूपमा सबल बनाउँदछन् तर त्यस रकम बीमाङ्क रकमबाट काटिँदैन । यस कारण यो शुल्कलाई थप प्रतिफलपूर्ण लगानी मान्न सकिन्छ ।
अब प्रवेश गरौं निर्जिवन बीमा शुल्कतर्फ । यस बीमा व्यवसायमा कतिपय शीर्षकमा अनिवार्य छन् भने कतै स्वेच्छिक । जे होस् बीमा गर्दा शुल्क बुझाएकै हुन्छ र बीमकले जोखिम बहन गरेकै हुन्छ । यस निर्जिवन बीमा व्यवसायको पुनः लगानी भनेको रक्षावरण गर्ने पुर्नबिमक जस्तै हो । यस सन्दर्भमा पुर्नलगानी भनेको बीमा गरेको भौतिक/स्वास्थ्य वा अन्य अर्थसँग सम्बन्धित क्षेत्रको जोखिम बहन गर्न बुझाइने शुल्क हो । जसमा नगन्य मात्रामा बीमा शुल्क बुझाई ठूलो धन, सम्पत्तिको जोखिम बहन गर्ने प्रमुख लक्ष्य हुन्छ ।
उदाहरणको लागि घर बीमालाई समावेश गरौं । नेपाली जनसमुदायको सोचमा घर बनाउनु प्रमुख उद्देश्य हुन्छ । तर उक्त घरलाई कसरी सुरक्षित गर्ने भन्ने चेतना फैलाउन नसक्दा जीवनभरको लगानी असुरक्षित हुन्छ । प्रत्येक प्राविधिक क्षेत्रको नियम फरक हुन्छ र बीमकले पनि त्यसै अनुसार बीमालेखको शर्त सुविधाहरू निर्धारण गरेका हुन्छन् ।
जब आपत पर्छ अनि सम्झिइन्छ
बीमीत वा गैर बीमित जे जस्तो भए पनि आफूले गरेको वा सुनेको बीमकबाट फाइदा लिन खोज्दछन् । वा बीमा बापतको रकम कसरी पाइन्छ भन्नेमा नै व्यस्त हुन्छन् । यसअन्तर्गत बीमा शुल्क बुझाएको र बीमालेख खरिद गरेको पोलिसीमा मात्रै त्यसको क्षतिपूर्तिको निर्धारण गरिन्छ ।
अर्थबाहेक पनि लगानी हुने क्षेत्रहरु
रूपैयाँ पैसा सबैको चासो र महत्वको कुरा हो । हाम्रो देशमा लगानीमा मुद्राको नै आवश्यकता पर्दछ तर त्यो विचार मात्र सही होइन । किनकि लगानी भनेको निश्चित चेतना, अनुभव, ज्ञान, काम, सिप, अर्थ आदि सबै तरिकाले हुन्छ ।
अचम्मको लगानी
जीवन बीमामा ३०–३५ वर्ष उमेरको व्यक्तिलाई १५ वर्षको १० लाखको बीमा गर्दा औसत ७०–७५ हजार रुपियाँले घातक रोग, दुर्घटना (CI, ADB PTD, LI) सहितको बीमा हुन्छ । यो भनेको बीमालेख नम्बर पाइसकेपछि घातक रोग लागेमा र बीमकसँग उक्त सुविधा लिएमा बिमाङ्क रकम बराबरको उपचार खर्च, दुर्घटनाबाट पूर्ण असक्षम भएमा बीमाङ्क रकम र बीमालेखको अवधि पूरा भएको र बीमा शुल्क पनि बुझाएको स्थितिमा बीमा योजाको सुविधाअनुसार २०–३० लाखसम्म बीमकले रकम बीमित वा इच्छाइएको व्यक्तिलाई भुक्तानी गर्दछ ।
यदि बीमालेख जारी हुनासाथ बीमितको मृत्यु भएमा मृत्युको कारण, बीमकको सुविधा र बीमालेखको (कुन बीमा योजनामा समावेश) सुविधाअनुसार १०–३० लाखसम्म रकम बीमकले भुक्तान गर्दछ । ७०–७५ हजार रुपियाले ३० लाखसम्मको जोखिम बहन हुन्छ र आर्थिक रूपमा कुनै पनि व्यवसायबाट यस्तो आर्थिक भरथेग हुँदैन । त्यसैले बीमा शुल्कलाई अचम्मको लगानी भन्नै पर्दछ ।
निर्जिवन बीमा र शुल्कको उपलब्धी झन् आकर्षक छ । यस क्षेत्रले दुःख, संकट, दुर्घटनाको बेलामा साथ दिन्छ जबकि मानवीय स्वभाव भनेको जब कसैलाई दुःख, कष्ट, संकट पर्छ तब आफन्तहरू टाढिन्छन् र सहयोगको चेष्टा नै गर्दैनन् बरु के के बहाना बनाई पन्छिन खोज्छन् । किनकि उनीहरूले गरेको आर्थिक लगानी फिर्ता हुने निश्चितता नै हुँदैन र हाम्रो समाज स्वार्थी छ । यस समस्या बीमकलाई सुम्पिदिनु पर्दछ । उदाहरणका लागि आफ्नो घरको मूल्य एक करोड भएमा र त्यसको घर–सम्पत्तिको बीमा गरेमा प्रतिवर्ष ४ हजार रूपैयाँले जोखिम बहन गर्दछ ।
धेरै मेहनत र जीवनभरको कमाईले बनाएको घरको प्राकृतिक, भौतिक र नियोजित रूपमा कहिं क्षति भएमा वा बीमा गरेमा क्षतिको विवरण प्रमाणित भएको रकम बीमकले भुक्तानी गरी व्यक्तिलाई फेरि घरधनि बन्न वा आर्थिक रूपमा तल झन दिँदैन । किनकि जति क्षतिको प्रमाणित हुन्छ त्यो बीमकले पूर्ति गर्दछ र त्यो क्षति बीमालेख वा बीमाङ्कको आधारमा तय गरिन्छ ।
अर्थतन्त्र सुधार्ने बीमा शुल्क
बीमा शुल्कको निश्चित प्रतिशत निश्चित समय÷अवधिसम्म बीमा अभिकर्तालाई कमिशन दिइन्छ र उक्त शुल्कको कमिशनको १५ प्रतिशत कर कट्टि गरिन्छ यो कर जाने राज्यलाई हो । लाखौं अभिकर्ता छन्, लाखौं बीमालेख बिक्री गर्छन् र एक पैसाको पनि कर लाग्दछ शायद कुनै व्यापार व्यवसाय छैन होला सुका, मोहोर र सयमा पनि कर लाग्ने । अभिकर्ता तलबी कर्मचारी हुँदैनन् र हुन सक्दैनन् पनि । जबकि ३९ बीमक र एउटा पुनर्बिमा कम्पनी हुँदा कति बीमित र अभिकर्ता होलान् ? बीमक जति भए पनि एजेन्सी लाखौं सक्रिय भएको तथ्यांकले देखाउँछ ।
बीमा अनिवार्य हुनुपर्ने अवस्थाहरू
विभिन्न प्रकारका करहरू अनिवार्य छन् । यसलाई कानुनसम्मत मान्नैपर्छ । तेस्रो पक्ष बीमा बीमा समितिले अनिवार्य गरेजस्तै अन्य क्षेत्रको विकासमा यसको सान्दर्भिकता यथार्थ मानिन्छ । राज्यले महत्वपूर्ण क्षेत्रमा बीमाको पहुँच पु¥याई बीमाशुल्क छूट गर्न पर्दछ । जसरी राज्यले कृषि बीमा, स्वास्थ्य बीमामा अनुदान दिई प्रोत्साहन गर्न खोजेको छ त्यसैगरी व्यक्तिको अत्यावश्यक वस्तुहरूको बीमा कुनै राज्यको अँगसँग जोडेर गरिदिनु पर्दछ । बहाल कर, सम्पत्ति कर, तिरो, नक्सा पास जस्ता कार्य गर्दा केही शुल्क त्यही समावेश गरेर अनिवार्य बीमा बनाएमा चौतर्फी फाइद सबैलाई पक्कै हुन्छ । यसले राज्यलाई केही राजश्व बढ्ने मात्र होइन, कुनै पनि व्यक्ति एउटा घटनाबाट शुन्यमा झर्नु पर्दैन । उसको जोखिम सबै बीमा कम्पनीले बहन गरिदिन्छ ।
(लेखक नेपाल इस्योरेन्स कम्पनीका नायव महाप्रबन्धक हुनुहुन्छ)