काठमाडौं । एटिम मेसिनबाट नक्कली एटीएम कार्ड बनाई पैसा झिकिएका समाचार आइरहेका बेला एउटा ठूलो गिरोह नै पक्राउ परेको छ । त्यो पनि रातमै करोडौं कुम्ल्याउन सफल । चिनियाँ नागरिकले प्रणालीनै ह्याक गरेर पैसा लुट्न ९ वटा बैंक प्रयोग गरेको पाइएको छ । नौवटा बैंकको एटिएम बुथ प्रयोग भएको छ भने बाँकी ६ बैंकको कार्ड मात्र प्रयोग भएको पाइएको छ। राजधानीका व्यस्त ठाउँलाई नै निशाना बनाएका उनीहरुले जय नेपाल हलनजिकै रहेको माया मनोर बुटिक होटेलका तीनवटा कोठा बुक गराएर शुक्रवारदेखि त्यहीँ डेरा जमाएको पनि प्रहरीले बताएको छ ।
नेपाल प्रहरीले पत्रकार सम्मेलन गरेर यो गिरोह सार्वजनिक गरेको अहो । प्रहरीका अनुसार, नेपालबाहेक भुटान र भारतबाट पनि कार्डको प्रयोग भएको आशंका छ। शुक्रबार नेपाल आएका चिनियाँहरुले शनिबार ११ बजेदेखि बैंकहरुको कार्ड प्रयोग गरेर पैसा झिकेका थिए। उनीहरुले चार बजेसम्म पैसा झिकेका थिए भने साढे चार बजे पक्राउ परेका थिए।
नेपाल राष्ट्र बैंकले १ करोड ६८ लाख ५४ हजार रुपैयाँ झिकिएको जनाएको छ। प्रहरीले भने १ करोड २६ लाख रुपैयाँ बरामद गरेको छ। नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम्स (नेप्स) ले भने साढे तीन करोड हाराहारी पैसा झिकिएको दाबी गरेको छ । लुटिएको रकमको दाबी र बरामद भएको रकम नमिल्दा कति रकम लुटिएको भन्ने यकिन तथ्याङ् आइसकेको छैन ।
पैसा झिक्नका लागि नबिल, नेपाल एसबिआइ र नेपाल इन्भेष्टमेन्ट बैंकको एटिएम बुथ प्रयोग भएको छ। कार्ड भने प्रभु, एनआइसी एसिया, जनता, ग्लोबल आइएमइ, सनराइज बैंक बैंकको प्रयोग भएको छ।
चिनियाँ लुटेराहरुले पाँच घण्टामा १५ सय पटकसम्म कार्ड छिराएका थिए । प्रारम्भिक अनुसन्धानमा नबिल कार्ड प्रोसेस गर्ने नेप्सलाई पनि खबर गरिदिएको थियो। नबिलमा भिसाको प्रोसेसर चल्छ। चिनियाँहरुले घोटेको कार्ड भिसा प्रोसेसरमा जान्छ।
भिसाले नेप्सलाई सम्पर्क गर्छ। नेप्सले धमाधम भुक्तानीको स्वीकृति दिएको देखिन्छ। तर नेप्स आँफैलाई भने आफूले स्वीकृत गरेको थाहा हुँदैन। भिसा र नेप्सको बिचमा बसेर चिनियाँहरुले चलाखी गरेको प्रहरीले बताएको छ ।
पक्राउ पर्नेहरुमा चिनियाँ नागरिकहरु लिन जियानमेङ, लुओ जियालेइ, झु लियानग्याङ, क्वी युनकिङ र चेन बिन बिन रहेका छन्। प्रहरीले उनीहरुको साथबाट १ करोड २६ लाख २९ हजार ४५ नेपाली रुपैयाँ र ९ हजार १ सय ८ अमेरिकी डलर बरामद गरेको बताएको छ।