free website hit counter

यस्तो गाउँपालिका जसले राहत वितरणका लागि कानुन नै बनायो

beemaadmin
२०७६ चैत्र २६, बुधबार

अर्घाखाँची । कोरोना विरुद्धको लडाईमा सफलता हालिस गर्नका लागि नेपाल सरकारले लकडाउनलाई एक मात्र विवल्पको रुपमा प्रयोग गर्दैै अघि बढिहरेको बेला धेरै नेपालीहरुले रोजीरोजी गुमाउन बाध्य भएका छन् । त्यसमा पनि दैनिक ज्यालादारी गरी जीवन गुजारा गरिरहेका असंगठित क्षेत्रका मजदुर तथा श्रमिकहरुको दैनिक जीवन यापन कठिन बन्दै गएको छ । यस कुरालाई मध्यनजर गर्दै कतिपय स्थानीय सरकारहरुले राहत वितरणका कार्य अघि बढाएका छन् । यसमा पनि कानुनै बनाएर अर्घाखाँजीमा रहेको छत्रदेव गाउँपालिकाले असंगठित क्षेत्रका मजदुर र श्रमिकहरुलाई राहत वितरणको कार्यलाई अघि बढाएको छ । गाउँपालिकाको कार्यपालिकास्तरको विशेष बैठक बसी चैत २३ गते असंगठित क्षेत्रका श्रमक तथा मजदुरहरुलाई उपलब्ध गराइने राहतसम्बन्धी मापदण्ड २०७६ जारी गरेको हो । सो मापदण्ड जारी भएपछि गाउँपालिकाले मापदण्डअनुसार राहत प्राप्त गर्ने नागरिकहरुको अभिलेख संकलन कार्यलाई प्रत्येक वडामार्फत् अघि बढाइएको गाउँपालिकाका प्रमुख प्रसासकीय अधिकृत खिमानन्द भुसालले बताउनुभयो ।

अन्य पालिकाहरुले कानुन बिना नै राहत वितरणको कार्यलाई अघि बढाइरहेको बेला छत्रदेवले कानुन नै बनाएर प्रक्रिया अघि बढाउने कार्यलाई सुशासनको द्योतकका रुपमा लिन सकिन्छ । मापदण्ड जारी भएलगत्तै लाभग्राहीहरुको अभिलेख संकलन कार्य अघि बढाउनुका साथै सार्वजनिक रुपमै सूचना जारी गरेर राहत सामग्रीको दररेट स्थानीय व्यापारीहरुबाट उपलब्ध गराउन तीन दिने सूचना समेत जारी गरेको थियो । वडा नं. ६ का अध्यक्ष कमलराज पौडेलकाअनुसार, अहिले अनुमानित मापदण्डअनुसार आठ वटा वडाबाट करिब ८ सय परिवारले पालिकाबाट राहत पाउने छन् । पालिकाले वितरण गर्ने राहतलाई सबैभन्दा कम दररेट पेश गर्ने व्यापारीले पालिकाबाट उपलब्ध गराइएको सूचिअनुसार सम्बन्धित स्थानमै पुगेर राहत सामग्री उपलब्ध गराउने छ । सानो परिणाममा राहत उपलब्ध गराएर फोटो खिचेर सामाजिक सञ्जालमा राख्न हतार गर्ने अन्य स्थानीय जनप्रतिनिधि र संघ संस्थाहरुलाई छत्रदेवको यो कार्यले गतिलो शिक्षा दिने छ । ‘हामी आज भोलिनै राहत विवतरण शुरु गर्नेछौं, राहत वितरण पालिकाले छानेको व्यापारीमार्फत् हुने र त्यसको अनुगमन मात्रै गाउँपालिकाले गर्नेछौं’, प्रमुख प्रशासकीय अधिकृत भुसालले बताए । छत्रदेव गाउँपालिकाका ८ वडामध्ये ६ स्थानमा ३८ बेडको क्वारेन्टाइन स्थापना गरेको गाउँपालिकाले ती क्वारेन्टाइनमा बस्ने नागरिकहरुलाई खानादेखि अन्य अत्यावश्यक सुविधाहरु निःशुल्क उपलब्ध गराउने योजनाअन्तर्गत हालसम्म १० जनाले सो सुविधा लिइसकेको बताएको छ ।

ती १० जनाको स्वास्थ्य रिपोर्टमा कोरोना नदेखिएपछि उनीहरु आ–आफ्नो घर गइसकेका छन् । अहिले गाउँपालिकाले सबै नागरिकलाई होम क्वारेन्टाइनमा बस्न विभिन्न माध्यमबाट अपिल गरिरहेको छ । सबै क्वारेन्टाइनमा चिकित्सकसहितको टोली खटाएको बताइएको छ । गाउँपालिकाका अध्यक्षबाट १५ हजार, उपाध्यक्षबाट १२ हजार ५ सय प्रत्येक वडाध्यक्षबाट १०÷१० हजार र कर्मचारीहरुबाट पनि १० दिनको तलब कट्टा गरी कोष स्थापना गरेको राहत कोषमा स्थानीय लगायत अन्य संघसंस्था र व्यक्तिहरुबाट हालसम्म ५ लाखभन्दा बढी रकम संकलन भइसकेको छ । रकम जम्मा गर्ने कार्य जारी रहेको र जम्मा भएको रकमबाट राहत कार्यमा खर्च गरिने र नपुग रकम मात्रै गाउँपालिकाबाट व्यहोर्ने प्रमुख प्रशासकीय अधिकृत भुसालले बताए ।

राहत कोषमा रकम जम्मा गर्ने नागरिक तथा संघ संस्थामा उत्साह थपिएको हुँदा सोचेभन्दा बढी रकम जम्मा हुनसक्ने भुसालले बताए । देशैभर मास्कको संकट भइरहेको बेला छत्रदेवले पहिलो लकडाउनकै समयमा स्थानीय स्तरमै मास्क उत्पादन गरी वितरण गरेको थियो । कोरोना रोकमथ, नियन्त्रण र राहत वितरण लगायतका कार्यका लागि छत्रदेवले चालेको कदम प्रसंशनीय रहेको छ ।

सम्बन्धित समाचार